बुधबार, ०५ असार २०८१
ताजा लोकप्रिय
संसद् बैठक

सभामुख र कांग्रेस सांसदबिच प्रतिनिधिसभामा रोचक जुहारी, प्रतिपक्षीलाई बोल्न दिइएन

शुक्रबार, ११ जेठ २०८१, १६ : ०५
शुक्रबार, ११ जेठ २०८१

काठमाडौँ । सहकारी ठगीमा संसदीय छानबिन समिति गठनको माग गर्दै आएको प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्न निकै जोडबल गरे ।

तर, सभामुख देवराज घिमिरेले उनीहरूलाई बोल्न दिएनन्, बरु दोहोरीमा उत्रिए । प्रतिपक्षीले बोल्न पाउँ भनिरहने र सभामुखले बोल्न नदिने दृश्य दोहोरिइरहेको थियो ।  अन्त्यमा प्रतिपक्षीले सहयोग नगरेको भन्दै सभामुखले कार्यसूचीबाट कार्यक्रम हटाएर बैठक जेठ १३ गतेसम्मका लागि स्थगित गरे ।

सभामुखले बैठक सुरु गर्नासाथ कांग्रेस सांसदहरू बसेको ठाउँबाट उठेका थिए। अवरोध जारी रहेकै बेला घिमिरेले शून्य, विषय र आकस्मिक समय केही पनि नराख्ने निर्णय भएको सुनाए ।

घिमिरेले प्रतिपक्षी कांग्रेसले सहकारीसम्बन्धी विषय उठान गर्दै आएको र कार्यदलमा त्यसबारे छलफल जारी रहेकोले सदन बैठक पनि सँगसँगै अघि बढाउन आग्रह गरेका थिए । तर, प्रतिपक्षीले बोल्न पाउनु पर्छ भन्ने कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र महामन्त्री विश्व प्रकाश शर्माको निरन्तरको अडानपछि सभामुखले बैठक नै स्थगित गरिदिए ।

यसरी चल्यो सभामुख र कांग्रेस सांसदहरूको जुहारी

सभामुख घिमिरे– माननीय सदस्यहरू हामी नियमावली अन्तर्गत नै कार्यक्रमलाई अघि बढाउन गइरहेका छौँ । त्यसले गर्दा हाम्रो कार्य व्यवस्था समितिमा पनि परिस्थितिलाई सहज बनाउनका लागि अगाडि लैजाने र यो बिचमा बसेरै छलफलहरू टुङ्ग्याउनका लागि सहयोग पुर्‍याउने कुराहरू भएको पनि जानकारी गराउन चाहन्छु । 

रमेश लेखक– सभामुख महोदय, बसेर छलफल गर्ने कुरा छँदै छ । हाउसमा त बोल्न पाउनुपर्‍यो नि प्रतिपक्षले ।

विश्वप्रकाश शर्मा– सभामुख महोदय, प्रतिपक्ष बोल्नु भनेको परिस्थितिलाई असहज बनाउने भन्ने कोणबाट बुझ्नुहुँदैन । 

सभामुख घिमिरे– माननीय सदस्यहरू आसन ग्रहण गरौँ । म नियमित कारबाहीलाई अघि लानको लागि सहयोग गरिदिनुहुन अनुरोध गर्दछु । 

बोल्न पाउनुपर्‍यो भन्दै सांसदहरूको होहल्लासँगै शर्मा– प्रतिपक्षले जनताको कुरा राख्न चाहँदा बोल्न नदिएर कस्तो नजिर बसाउन चाहँदै हुनुहुन्छ सभामुख महोदय ? हामी समय चाहन्छौँ । 

सभामुख घिमिरे– विषयवस्तुलाई अगाडि लैजान सहयोग गरिदिनुस् ।

लेखक– प्रतिपक्षलाई सदनमा बोल्न नदिने यो लोकतान्त्रिक अभ्यास होइन सभामुख महोदय । मेरो आग्रह छ, सदनमा बोल्न पाएन भने प्रतिपक्षले बोल्ने कहाँ हो ? 

सभामुख घिमिरे– झर्कँदै, माननीय सदस्यहरू सभा नियमअन्तर्गत नै चलाउने हाम्रो कर्तव्य हो । माननीय सदस्यहरूको बोल्न पाउनपर्छ भन्ने मागलाई सभामुखले बोल्न दिएन भनेर प्रचार गर्ने कुरा होइन । बोल्ने वातावरण कसरी अगाडि लैजाने भन्ने कुरामा सत्तापक्ष पनि प्रतिपक्ष पनि त्यतिकै जबाफदेही छ । त्यतिकै जिम्मेवार छ । त्यो जिम्मेवारीका साथ लैजानका लागि म माननीयजीहरूलाई आसन ग्रहणका लागि अनुरोध गर्छु । आसन ग्रहण गरेर वातावरण बनाइदिनुस् । सभा विधिसंगत ढङ्गबाट बोल्ने छलफल गर्ने निष्कर्ष निकाल्ने हो भन्ने कुरा म अवगत गराउन चाहन्छु । 

लेखक– बोल्न पाएन भने बोल्न दिएन भन्नै पर्ला नि सभामुख महोदय । प्रतिपक्षले सदनमा बोल्नै पाएन भन्न नपाइने हो अब ? 

सभामुख घिमिरे–  माननीय सदस्यहरू हामीले यो भन्दा अगाडि यही सत्रमा पटक–पटक बोल्नका लागि आग्रह गरेको कुरालाई पनि म स्मरण गराउन चाहन्छु । तलबाट बोल्दा खेरी नपुग्दा माथि आएर बोल्नुस् भनेको कुरा पनि आग्रह गर्न चाहन्छु । कार्यसूची सम्भावित वितरण गरेको, त्यसपछि आज फाइनल कार्यसूची वितरणमा गरेकोमा आज नीति तथा कार्यक्रममाथि छलफल गर्नका लागि नाम टिपाउनका लागि आह्वान गरिएकोदेखि लिएर संशोधन हाल्नसम्मका लागि गरिएको छ । यी सबै कुरामा माननीयजीहरूको साथ सहयोगका साथ नै यो सांसदलाई बहस गर्ने, छलफल गर्ने र निष्कर्षमा पुर्‍याउनका लागि नै नीति तथा कार्यक्रममा छलफल हुने भएकाले अहिले आसन ग्रहण गरेर माननीयजीहरूले समय सदुपयोग गर्ने काममा साथ गर्नुहुनेछ । आसन ग्रहण गरिदिनुहुन अनुरोध गर्दछु । 

लेखक– सम्माननीय सभामुख महोदय विपक्षी दलले नबोल्दा अनि संसदीय अभ्यास ठिक तरिकाले अघि बढ्छ कि बढ्दैन । यस कारणले विपक्षीले सदनमा आफ्नो कुरा राख्न पाउनुपर्छ । 

सभामुख घिमिरे– माननीय सदस्यहरू यहाँहरूले सभा सञ्चालन गर्न सहयोग गर्नुहुनेछ । समस्या समाधानका लागि कार्यदललाई सहयोग पुर्‍याउनुहुने छ र हामीले अब पूरा गर्नुपर्ने खास गरी यो सत्रमा गर्नैपर्ने महत्त्वपूर्ण जिम्मेवारीमा भूमिका निर्वाह गर्नुहुनेछ भन्ने आशा राखेको छु । विधिसंगत ढङ्गबाट सांसदलाई छलफलको केन्द्र बनाऔँ ।  

र पनि कांग्रेसका सांसदहरूको बोल्न पाउँ भन्ने आवाज निकालिरहे । सभामुखले बोल्न दिएनन् । बरु प्रतिपक्षीको सहयोग नरहेको भन्दै कार्यसूचीबाट कार्यक्रम हटाएर बैठक जेठ १३ गतेसम्मका लागि स्थगित भएको घोषणा गरिदिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप