सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

पोखराका सहकारी पीडित भन्छन् : प्रधानमन्त्रीको पनि छानबिन हुनुपर्छ

शनिबार, १२ जेठ २०८१, १४ : ५०
शनिबार, १२ जेठ २०८१

पोखरा । पोखराका सहकारी पीडितहरूले तत्कालै छानबिन समिति गठन गर्न माग गरेका छन् । बचत फिर्ताको माग गर्दै उनीहरुले बचत पीडित सङ्घर्ष समिति गठन गरेका हुन् । पोखराका मुख्य ७ सहकारीका पीडितहरूले संयुक्त समिति बनाएका छन् । 

समितिले आइतबार छानबिन समितिको माग गर्दै प्रदर्शन गर्ने भएका छन् । १२ बजे सृजनाचोक देखि पृथ्वीचोकसम्म प्रदर्शन गर्ने संयोजक किरण श्रेष्ठले जानकारी दिए । सूर्यदर्शन सहकारी, इमेज, शिव शिखर, मित्रमिलन, प्राइम, बलिदानी र  विन्ध्यवासिनी सहकारीका पीडितहरू एकजुट भएका हुन् । 

उनीहरुले छानबिन समिति गठन नगरेको, बचतकर्ताको बचत सुरक्षा गर्न पहल नगरेको, पीडकहरू पक्राउ नगरेको, कारबाहीको स्पष्ट नीति निर्माण नगरेको लगायतका गुनासो गरेका छन् ।  पोखराका सात सहकारीका करिब सात अर्ब रकम हिनामिना भएको छ भने झन्डै ४० हजार बचतकर्ता पीडित बनेका छन् । केही सहकारी समस्याग्रस्त अवस्थामा छन् ।

‘भित्री रूपमा दर्जनौँ सहकारीले बचत फिर्ता नगरी कार्यालय बन्द गरेका छन् । पीडितहरूले ठुला सहकारीको विषयमा राज्यले लिने नीति हेरिरहेका छन्,’ सङ्घर्ष समितिले भनेको छ,‘देवकुमार नेपाली, जीवी राई कुरिरहेका छन् । उनीहरू पक्राउ परेर बचत फिर्ता भएपछि अरू पीडितहरू खुल्छन् ।’ 

समितिले तत्कालै निष्पक्ष छानबिन समिति बनाउनुपर्नेमा जोड दिएको छ । त्यसमा गृहमन्त्री वा कुनै नेताले रोकछेक गर्न नमिल्ने भन्दै छानबिनमा कोही जोडिए तुरुन्त राजीनामा दिन समेत सङ्घर्ष समितिले आग्रह गरेको छ । गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको सूर्यदर्शन सहकारीको पूरक अनुसन्धान जेठ १५ सम्म थप अनुसन्धान गरेर प्रहरीले सरकारी वकिललाई हस्तान्तरण गर्ने तयारी गरेको छ ।

सहकारी ठगीका नाममा लामिछानेको समेत नाम राखेर कास्की प्रहरीमा जाहेरी दिएको तर कतै जाहेरी नपरेको चर्चा आएको श्रेष्ठले बताए । ‘जाहेरी कतै छैन भनेर हल्ला भइरहेको छ । हामीले प्रहरीलाई बुझाएकै हो,’ उनले भने, ‘ताम्रपत्रमा लेखेर दिनुपर्ने हो र ? कागजमै लेखेर दिएका हौं त ।’ पीडकहरूलाई पनि फरक नजरले हेर्ने गरेको गुनासो पीडितहरूको छ । ‘एउटै मुद्दामा एक जना पक्राउ पर्ने, अर्को नपर्ने भयो । यता पनि उस्तै छ,’ उनीहरुले थपे । 

छानबिनका क्रममा राज्यका सबै निकाय दबाब र प्रभावमा परेको पीडितहरूको आरोप छ । ‘सबै ठाउँमा प्रभाव परेको छ । प्रहरीमै प्रभाव परेको छ, प्रशासन, न्यायालय पनि प्रभावमा छ,’ संयोजक श्रेष्ठले अघि भने, ‘रकम डुब्नु एकातिर छ, सरकारको तर्फबाट झन् पीडित बनेका छौँ । पीडितहरू दिन प्रतिदिन मरेका छन् । सरकार चुपचाप छ ।’

उनले सहकारी ठगीमा गृहमन्त्रीसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि छानबिन हुनुपर्ने बताए । ‘आगो नबली धुवाँ कसरी निस्किन्छ ? हावा नचली पात हल्लिँदैन होला नि । उहाँको पनि नाम आइरहेको छ । छानबिन गर्नै नहुने हो र ?,’ उनले भने, ‘छानबिन त प्रचण्डमाथि पनि हुनुपर्छ । सामाजिक सञ्जालमा प्रचण्डले पनि जीवी राईसँग पैसा पैसा खाएको भन्ने हल्ला आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप