सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

देशकै कानुन फेर्ने त्यो एउटा हत्या

सोमबार, १४ जेठ २०८१, ११ : ००
सोमबार, १४ जेठ २०८१

अस्ताना । काजकस्तानमा गएको वर्ष भएको हाई–प्रोफाइल हत्याले त्यहाँको समाजमा व्याप्त घरेलु हिंसा छताछुल्ल पार्‍यो । हालै एक ऐतिहासिक फैसलामा अदालतले शक्तिशाली राजनीतिज्ञ र पूर्वमन्त्रीलाई पत्नीको हत्यामा दोषी ठहर गर्दै सजाय दिएको छ । सो घटनाले सरकारलाई घरेलु हिंसा रोक्न कानुन ल्याउन बाध्य पारेको छ । तर यहाँ फेरि पनि प्रश्न उठ्छ घरेलु हिंसाका अन्य पीडितले पनि न्याय पाउलान् त ?

सो घटना पूर्व मन्त्रीसँग जोडिएको थियो । ती मन्त्रीले आफ्नै पत्नीको हत्या गरेका थिए । अदालतमा पेस गरिएको तथ्यहरू निकै डरलाग्दो थियो । पूर्व वित्तमन्त्री कुआन्डिक बिशिम्बायेवले पत्नी नुकेनोवालाई पिटीपिटी मारेका थिए । यो घटनाका केही दृश्यहरू सीसीटीभी क्यामरामा पनि कैद भएको  थियो ।

 राजधानी अस्तानास्थित एक जना आफन्तको रेस्टुराँमा  बिशिम्बायेवले नुकेनोवालाई हात र लात दुवैले पिटेको अनि कपालमा समातेर घिसारेको देखिएको छ । 

यो घटनापछिको १२ घण्टासम्म के के भयो स्पष्ट छैन । यति बेलाका केही फुटेज मोबाइलमा पनि भेटिएको थियो । यी फुटेजलाई अदालतमा पेस गरिएको भए पनि सार्वजनिक भने गरिएको छैन । अडियोमा बिशिम्बायेव अर्का पुरुषको नाम लिएर नुकेनोवालाई अपमानित गरेको र केही सोधिरहेको सुनिन्छन् ।

  यसबिचमा बिशिम्बायेवले बारम्बार एक जना ज्योतिषलाई फोन पनि गरेका थिए । मारपिट भएको कयौँ घण्टापछि एम्बुलेन्स बोलाइयो । त्यतिबेलासम्म नुकेनोवाको मृत्यु भइसकेको थियो ।

  पोष्टमार्टम अनुसार उनको मृत्यु ६ देखि ८ घण्टा अघि नै भइसकेको थियो । अदालतमा पेस गरिएको रिपोर्टका अनुसार नुकेनोवाको मृत्यु टाउकोमा गहिरो चोट लागेर भएको थियो । तर उनको घाँटीमा थिचेको चिह्न पनि भेटिएको बताइएको छ ।

२४ वर्षको जेल सजाय

जुन रेस्टुराँमा यो घटना भएको थियो त्यो बिशिम्बायेवका आफन्तको थियो । यो अपराध लुकाउन खोजेको आरोपमा ती आफन्तलाई पनि ४ वर्षको जेल सजाय सुनाइएको छ । बिशिम्बायेवले आफूलाई सीसीटीभीको फुटेज डिलिट गर्न भनेको आफन्तले अदालतमा बताएका थिए । मे १३ मा अस्तानास्थित सर्वोच्च अदालतले बिशिम्बायेवललाई ३१ वर्षिया पत्नीको क्रुरतापूर्वक हत्या गरेको मामिलामा २४ वर्षको जेल सजाय सुनाएको छ । काजकस्तान घरेलु हिंसा दर उच्च छ । बर्सेनि सयौँ महिलाहरू घरेलु हिंसाका क्रममा मारिने गरेका छन् । त्यहाँ घरेलु हिंसाका चार मध्ये एक मामिला मात्रै अदालतसम्म पुग्ने गरेको संयुक्त राष्ट्र संघको अनुमान छ ।

कसरी भयो बिशिम्बायेव र नुकेनोवाको भेट ?

सन् २०१७ मा घुसखोरीको मामिलामा बिशिम्बायेवलाई पक्राउ गरिएको थियो । उनलाई १० वर्षको जेल सजाय सुनाइएको थियो । तर तीन वर्ष जेलमा बसेपछि उनी रिहा भए । त्यतिबेला नुकेनोवा ज्योतिषीको रुपमा काम गर्थिन् । बिशिम्बायेवले कतैबाट नुकेनोवाबारे थाहा पाए । उनलाई भेट्न खोजिरहेका थिए । तर नुकेनोवाले मानिनन् । उनले कतैबाट नुकेनोवाको नम्बर भेटे । आफूबारे पत्रपत्रिकामा छापिएका कुरामा विश्वास नगर्न भन्दै उनले नुकेनोवालाई कयौँ म्यासेज पनि पठाएका थिए । नुकेनोभाले बिशिम्बायेवको कुरा पत्याइन् । अनि दुबैबिच भेटघाट भयो ।

पहिलो पटक भेट भएको केही महिनामै दुवैले बिहे गरे । तर बिहे लगत्तै सम्बन्धमा समस्या देखिन थाल्यो । नुकेनोभाले ज्योतिषी पेसा छाडोस् भन्ने चाहना बिशिम्बायेवको थियो । नमानेपछि बिशिम्बायेवले नुकेनोभालाई पिट्न थाले । उनले मुहारभरि चोटै चोट लागेका कयौँ तस्बिर नुकेनोभाले आफ्नो भाइलाई पठाएकी थिइन् । ज्योतिषी पेसा पनि छाडेर बसिन् । आफूले श्रीमतीलाई पिट्ने गरेको तर जानी जानी नमारेको बिशिम्बायेवले अदालतमा भनेका थिए ।

यूएनका अनुसार बर्सेनि करिब ४०० काजक महिलाको मृत्युको कारण घरेलु हिंसा हो । काजक गृह मन्त्रालयका अनुसार सन् २०१८ देखि सन् २०२२ को बीचमा यस्ता घटना १४१ दशमलव ८ प्रतिशतले बढेका छन् । तर अझै पनि घरेलु हिंसाबारे मुख नखोल्ने र सहनेको सङ्ख्या धेरै छ । नुकेनोवासँग घटेको घटनाका फुटेजहरू अदालतले प्रसारण गरेपछि सामाजिक सञ्जालमा घरेलु हिंसा नियन्त्रण गर्ने कानुनमा सुधार ल्याउनु पर्ने बहस छेडियो । डेढ लाख जनाले कठोर कानुन ल्याउनु पर्ने मागसहित याचिकामा हस्ताक्षर गरेर सरकारलाई बुझाए । 

सरकार पनि घरेलु हिंसालाई अपराध घोषित गर्न बाध्य भयो । अब यस्ता मामिलामा पीडितको ऊजुरी बिना पनि मुद्दा चल्ने व्यवस्था गरिएको छ । यो कानुन पनि घरेलु हिंसा रोक्न पर्याप्त छैन । तर यस्ता घटनाहरू रोक्नतर्फ शुरुआती कदम चालिएको छ । पूर्व मन्त्री जस्तो व्यक्तिलाई त सजाय हुने रहेछ भन्ने सन्देश सर्व साधारणमा गएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप