मङ्गलबार, ०४ असार २०८१
ताजा लोकप्रिय
केन्द्रीय समिति बैठक

सांसद गीता बस्नेतलाई अदालतमा उपस्थित हुन राप्रपाको निर्देशन

सोमबार, १४ जेठ २०८१, १७ : ११
सोमबार, १४ जेठ २०८१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सांसद गीता बस्नेतलाई अदालतमा उपस्थित भएर कानुनको पालना गर्न निर्देशन दिएको छ । सोमबार सम्पन्न सो पार्टीको केन्द्रीय समिति बैठकको निर्णयअनुसार सांसद बस्नेतलाई यस्तो निर्देशन दिएको अध्यक्ष राजेन्द्र लिङ्देनले बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

साथै बैठकले अन्य सहकारी घोटाला प्रकरणको पनि छानबिन गर्न सरकारसँग माग गरेको छ ।  ‘माननीय गीता बस्नेतमाथि नवलपरासीस्थित छिपछिपे सहकारीबाट उहाँसमेत सञ्चालक रहेको कृष्णसार रिसोर्टमा रकम गएको सन्दर्भमा उहाँमाथि प्रहरीले मुद्दा चलाएको सन्दर्भमा हाम्रो ध्यानाकर्षण भएको छ’, अध्यक्ष लिङ्देनले भने, ‘र पार्टीले यसअघिको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पनि गीता बस्नेतलाई छानबिनमा सहयोग गर्न निर्देशन दिइसकेको छ ।

बैठकले पुन अदालतमा उपस्थित भएर कानुन बमोजिम सफाइ लिन निर्देशन दिएको छ ।’  बैठकले अध्यक्षबाट प्रस्तुत राजनीतिक कार्यपत्र, महासचिव र कोषाध्यक्षको प्रतिवेदन सुझावसहित पारित गरेको छ । 

राप्रपाले सरकारलाई बुझाएका विभिन्न ४० बुँदे माग पत्र सम्बोधन नगरेको भन्दै पुन ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ । त्यस्तै  सुशासन र दीर्घकालीन माग र मुद्दामा सहकार्य गर्न सरकारको ध्यानाकर्षण गराउँदै आफ्ना माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने पनि राप्रपाले जनाएको छ ।  

‘भ्रष्टाचार र जनजीविकाका सवालमा पार्टीले दबाबमूलक कार्यक्रम सञ्चालन गर्नेछ’, राप्रपाले भनेको छ । बैठकले आगामी ०८२ वैशाखभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय पनि गरेको छ । सहकारी छानबिननबारे प्रतिपक्षको माग बेवास्ता गर्दै संसद् चलाएकोमा संसदीय मूल्य मान्यता विपरीत भएको ठहर पनि राप्रपाले गरेको छ । 

गत पाँच वर्षमा कृषि अनुदानका नाममा तीन तहको सरकारले एक खर्ब रुपैयाँ वितरण गरेको भन्दै त्यो ककसलाई वितरण गरेको हो भनेर त्यसको श्वेतपत्र माग गर्न राप्रपाले माग पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप