मङ्गलबार, ०८ साउन २०८१
ताजा लोकप्रिय

उमुसमुकुस गर्मीमा काम गर्न बाध्य छन् मजदुर, दिनभर कमाइ भयो ७८ रुपैयाँ

बिहीबार, ३१ जेठ २०८१, १६ : १४
बिहीबार, ३१ जेठ २०८१

बाँके । रामारोशन तेली बुधबार चर्को घाममा छातामुनि ग्राहकको पर्खाइमा थिए । बाँकेस्थित नेपाल टेलिकम कार्यालय परिसरको पेटीमा उनले मोची (जुत्ता सिलाउने काम) विगत १५ वर्षदेखि गर्दै आएका छन् । 

करिब ४६ वर्षीय तेली जुत्ता सिलाउन बिहान टेलिकम परिसरमा घामपानीको मतलब नगरी सधैँझैँ बुधबार पनि भेटिए। चर्को घाममा छाताको छहारीभित्र अनुहारभरि बगेको पसिना पुछ्दै तेलीले दिनभरि जम्मा रु ७८ मात्रै कमाएको बताए । 

नेपालगञ्जमा एक्कासी बढेको चर्को गर्मीका कारण यात्रुहरूको चाप बजारमा कम भएपछि उनले जुत्ता सिलाउने ग्राहक पाएका छैन । झण्डै ४२ डिग्रीको गर्मीमा पुरानो छातामुनि आफ्नो काठको बाकस राखेर जुत्ता सिलाउँदै आएका तेलीले यस वर्षको गर्मीका कारण कमाइमा ह्रास भएको पहिलो अनुभव सुनाए । 

“यस्तो त पहिला कहिल्यै भएको थिएन, पहिला–पहिला दिनको केही नभए पनि रु एक हजारभन्दा बढी नै कमाइ हुन्थ्यो”, तेलीले भने, “हिजोआज त के भएको हो कुन्नी ? दिनको कमाइ कहिले रु ५० हुन्छ त कहिले रु ७०–८० हुन्छ, रु सय पनि कमाइ नभएको धेरै भयो ।” 

नेपालगञ्ज उपमहानगरपालिका–२२ मसानघाट टोलका तेली बिहान ७ बजे नै जुत्ता सिलाउन सोही ठाउँमा आइपुग्छन् । सोचेजस्तो कमाइ नभए पनि उनी दिनभरि ग्राहकको पर्खाइमा बसेर साँझ ७ बजे घर फर्किन्छन् । तेलीका पाँच छोराछोरीसहितको परिवार जुत्ता सिलाउने पेसाले नै धानिएको छ । 

पेसा फरक भए पनि तेलीको जस्तै पीडा लङ्गड लोहारको पनि छ । नेपालगञ्ज–१० गोसाइगाउँका लङ्गड विगत ३१ वर्षदेखि फलाम पिट्ने काम गर्दै आइरहेका छन् । नेपालगञ्जको धम्बोझी चोकस्थित नेपाल वायु सेवा निगम अगाडि घाम, पानी, जाडो केही कुराले उनलाई छेक्दैन । “फलामलाई विभिन्न आकार दिएर सामान बनाउने पेसा भएपछि मौसमको के कुरा गर्नु र ?”, उनले भने, “यसैबाट जीवनको गुजारा चल्दै आएको छ, घामपानी भनेर घरमै बस्ने त कुरै भएन ।”

परिवारको पेट पाल्न ४२ डिग्रीको चर्को घाममा पनि जलेको कोइलाको रापमा लङ्गडलाई नबसी सुखै छैन । दिनको रु चार÷पाँच सयदेखि रु हजारसम्म कमाइ हुने उनले बताए । उनको सातजनाको परिवार यही काममा निर्भर छ । गर्मीमा भन्दा जाडोमा कोइलामा बस्न सहज हुने उनले बताए । 

गर्मीसँगै कोइलाको रापको अनुभव सुनाउँदै उनले भने, “एकातिर गर्मीको ताप, अर्कोतिर आगोमा जलेको कोइलाको तातो रापले शरीर भतभती पोल्छ, के गर्नु न गरी सुख नै छैन, जानेकै यही काम हो, दिनभरि कामले आराम गर्न पाउँदिन, रातभरि जिउ दुखेर सुत्न सक्दिनँ ।”

जानकी गाउँपालिका–२ भैयापुरका सोमपाल यादव चर्को गर्मीमा पसिना पुछ्दै रिक्सा चलाउने गर्छन् । उनले चलाउने रिक्सा विद्युतीय रिक्सा नभइ पाइडल हो । दैनिक नेपाल–भारतस्थित जमुनाह नाकामा यात्रुलाई गन्तव्यसम उनले लैजाने र ल्याउने गर्छन् ।

पाइडल रिक्सा भएको हुनाले उनले चलाउने रिक्सामा घाम छेक्नका लागि कुनै ओत छैन । आफूसँगै यात्रु पनि चर्को घाममा सवार हुनुपर्ने हुनाले आफ्नो रिक्सामा कमै यात्रु चढ्ने गरेको उनले बताए । 

“मसँग विद्युतीय रिक्सा किन्ने पैसा छैन, साहुको रिक्सा भाडामा चलाउन सकिन्थ्यो, तर विद्यतीय रिक्सा चलाउन जान्दिनँ”, उनले भने, “मेरो रिक्सामा यात्रुहरु कमै बस्छन्, पहिलादेखि नै चलाउने बानी भएको हुनाले घरमा बस्नुभन्दा केही पैसा भए पनि कमाइ हुन्छ भन्ने आशले रिक्सा चलाउने गर्दछु ।” 

पाइडल रिक्सा चलाएर सोमपालले दैनिक रु दुई सय ५० देखि रु तीन सयको हाराहारीमा कमाइ गर्छन्। सोमपालले विगत १४ वर्षदेखि पाइडल रिक्सा चलाउँदै आएको बताए । सबैभन्दा बढी गर्मी हुने सहरका रूपमा परिचित नेपालगञ्जमा केही दिनयता यस वर्ष बढी गर्मीले जनजीवन प्रभावित भएको छ । अत्यधिक गर्मीका कारण बाँकेमा मजदुर, रिक्साचालक र खुला ठाउँमा काम गर्नेहरू सबैभन्दा बढी प्रभावित भएका छन् । 

चिकित्सकले गर्मीबाट जोगिन बढीभन्दा बढी पानी खान र अतिआवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेका छन् । गर्मीका कारण दिउँसो सडकमा आवतजावत पातलिएको देखिन्छ । केही सङ्घसंस्थाले चर्को गर्मीमा प्रत्यक्ष रूपमा मर्कामा परेको भन्दै यस्ता मजदुरलाई बिहान र साँझ भेली पानी, विभिन्न फलफूलका जुस, सर्बतलगायतका तरल पदार्थ बनाएर सार्वजनिक ठाउँहरूमा बाँड्दै आएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप