सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय
प्रदेश समाचार

पाँचथरको हेवाखोलामा पुल भाँचिदा ज्यान गुमाउनेहरु बाराका, घटनापछि गाउँमा शोक

आइतबार, ०१ असार २०८२, १९ : २६
आइतबार, ०१ असार २०८२

समाचार सारांश

  • बारा, फत्तेपुरका राजन रायको पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाँचिदा मृत्यु भएको छ। उनी पुल बनाउने कामको लागि गएका थिए।
  • दुर्घटनामा राजन रायसहित बारा फत्तेपुरका ३ जनाको मृत्यु भएको छ, अन्य ३ जना गम्भीर घाइते छन्।
  • हेवाखोलामा निर्माणाधीन ७० मिटर लामो बेलिब्रिज निर्माणको क्रममा दुर्घटना भएको हो। भौतिक पूर्वाधार मन्त्रालयले छानबिन समिति गठन गरेको छ।

बारा । बारा फत्तेपुरका राजन राय पुल बनाउने काममा गत महिना पाँचथर गएका थिए । ठेकेदार मनोज चौधरीले पुल निर्माणको काम छ भनेर रायलाई सँगै लगेका थिए । 

परिवारका एक्ला छोरा उनै रायको पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा शनिवार मृत्यु भएको छ । 

राजन रायकी बहिनी राधा रायले शनिबार दिनभर कुराकानी भइरहेको दाइको साँझ एकाएक पुल भाँचिएर मृत्यु भएको खबरले साह्रै पिडा भएको बताइन् । 

रायसँगै पुल बनाउने काममा गएका बारा फत्तेपुरकै थप २ जनाको पनि मृत्यु भएको छ । मृत्यु भएका सबै एकै गाउँका हुन् । 

रायसँगै  सोही गाँउका  रुपलाल चौधरी, राकेश चौधरीको मृत्यु भएको हो भने सोही गाँउका अन्य ३ जना गम्भीर घाइते भएका छन् । 

मेची राजमार्गमा पर्ने पाँचथरको हिलिहाङ र पाँचथर नगरपालिका जोड्ने हेवाखोलामा निर्माणाधीन बेलिब्रिज निर्माण गर्ने क्रममा शनिबार साँझ भाँचिएर खसेको थियो ।

करिब ७० मिटर लामो मोडुलार पुल भाँचिएको थियो । पुल निर्माणमा ६ जना कामदार बाराको फत्तेपुरबाट गएको खुलेको छ । 

‘दाइले नै काम गरेर घरमा सबै खर्च धान्दै आउनु भएको थियो’, राजनकी बहिनी राधा रायले भनिन् ‘भाउजु पनि ढाडको बिरामी हुनुहुन्छ, उठ्नै सक्नु हुँदैन । बच्चाहरु पनि साना साना छन् ।’ 

जीतपुर सिमरा १२ का निर्वतमान वडाध्यक्ष लालबाबु चौधरीले घटनापछि गाउँनै शोकमग्न रहेको बताए । 

पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बेलिब्रिजको पुलको काम अन्तिम चरणमा पुगेको र काम गर्दागर्दै पुल भाँचिएर दुर्घटना भएको बताए । 

उनका अनुसार घटनामा घाइते भएकाहरुको बिराटनगर स्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ।  यस्तै मृतक तीन जनाको पोष्टमार्टम लगायत अन्य कागजपत्र बनाउने काम भइरहेको उनले बताए । 

यस्तै हेवा खोलाको निर्माणाधीन बेलिब्रिज भाँचिएको विषयमा भौतिक पूर्वाधार मन्त्रालयले एक छानविन समिति गठन गरेको समेत पोखरेलले बताए । 

उनका अनुसार ७० मिटर लामो बेलिब्रिज (मोडुलर ब्रिज) नेपालमा निर्माण भएका हालसम्मकै सबैभन्दा लामो भएको पोखरेलले बताए । 

३ करोड ४९ लाख लगानीमा निर्माण भइरहेको पुलको दोभान सुपर सौगात लाइट बिल्डर्स जेभी कम्पनीले ठेक्का पाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप