बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

‘काठमाडौँ स्कुल अफ ल’ र भाषा आयोगबिच भाषा संरक्षणका पक्षमा सम्झौता

बिहीबार, ३१ जेठ २०८१, १८ : ४४
बिहीबार, ३१ जेठ २०८१

भक्तपुर । भाषा आयोग र ‘काठमाडौँ स्कुल अफ ल’बिच नेपालको लोपोन्मुख एवं मातृभाषाको विकास, अध्ययन अनुसन्धान र संरक्षणका पक्षमा द्विपक्षीय सम्झौता भएको छ ।‘काठमाडौँ स्कुल अफ ल’ मा आज आयोजित एक कार्यक्रमबिच भाषा आयोगका पदाधिकारी, प्राध्यापक तथा विद्यार्थीसहितको उपस्थितिमा द्विपक्षीय सम्झौता भएको हो । 

लोपोन्मुख भाषाको अनुसन्धान, संरक्षण र विकासका पक्षमा सहकार्य गर्ने उद्देश्यले  आयोगका कामु सचिव डा लोकबहादुर लोप्चन र कलेजका कार्यकारी निर्देशक प्रा डा युवराज सङ्ग्रौलाले सम्झौतापत्रमा हस्ताक्षर गरे। शैक्षिक स्रोत, अनुसन्धानका निष्कर्ष, विज्ञता, पूर्वाधारमा साझेदारी तथा शैक्षिक अनुसन्धान प्रयोजनका लागि आवश्यक सुविधा आदानप्रदान गर्ने; एकअर्काबिचको सीप, ज्ञान प्राज्ञिक तथा व्यावसायिक अनुभव साझेदारी गरेर भाषा संरक्षणमा सहकार्य गर्ने द्विपक्षीय सम्झौता उल्लेख गरिएको छ ।  

मातृभाषाका साथै विशेष गरी लोप हुन लागेका भाषाको विकास र संरक्षणमा संयुक्त प्रयास गर्ने; भाषाविज्ञान, भाषा नीति र कानुनसम्बन्धी अनुसन्धान एवं नीति निर्माणमा सहकार्य गर्ने; परस्पर रूपमा पहिचान गरिएका आपसी चासोका क्षेत्रमा अध्ययन अनुसन्धान, प्रशिक्षण, कार्यशाला र सम्मेलन संयुक्त रूपमा गर्ने तयारी गरिएको ‘काठमाडौँ स्कुल अफ ल’ का  कार्यकारी निर्देशक प्रा डा सङ्ग्रौलाले बताए ।

आयोगका अध्यक्ष डा गोपाल ठाकुरले सबै मातृभाषाको समान विकास गर्न अवरोध पुर्‍याउने ऐन कानुन संशोधन गरी सबै भाषालाई समानताको अधिकार प्रदान गर्नुपर्ने धारणा व्यक्त गरे । ‘काठमाडौँ स्कुल अफ ल’का कार्यकारी अध्यक्ष डा गोविन्दप्रसाद कुसुमले नेपाली भाषा संस्कृतिमाथि विभिन्न कोणबाट भइरहेको अतिक्रमण र हस्तक्षेप नियन्त्रणका लागि सरोकार भएका पक्षबिच सहकार्य हुनुपर्नेमा जोड दिए ।

भाषा आयोगका कामु सचिव डा लोप्चनले भाषाको संरक्षणका लागि मातृभाषा, नेपाली भाषा र अन्य भाषाको स्तरीकरण गर्नु आवश्यक रहेको उल्लेख गर्दै यसका लागि प्राज्ञिक अनुसन्धानमार्फत भाषा समृद्धिको राष्ट्रिय संरचना बनाउन आवश्यक रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप