भुटानी शरणार्थी प्रकरणमा बेचन झाको ‘इन्कारी बयान’
काठमाडौँ । अनौपचारिक कुरा गर्दा अनुसन्धान अधिकृतहरूसँग दुई करोडको चेक ‘च्यातिदिएँ’ भनेका बेचन झाले औपचारिक बयानमा भने नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूले चेक लिएको कुरा सिधै ‘इन्कार’ गरेका छन् । अनुसन्धान अधिकृत र सरकारी वकिलसँग उनले चेक लिएको पनि अस्वीकार गरेका हुन् ।
काठमाडौँ महानगरपालिका–१० बानेश्वर बस्ने झा नक्कली भुटानी शरणार्थी प्रकरणमा असार १४ मा पक्राउ परेका थिए । वीरगन्ज उपमहानगरपालिका–७ का स्थानीय उनको बुधवार उनको बयान पूरा भएको छ ।
बयानका क्रममा उनले नेपाली भुटानी नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउन खोजेको प्रकरणमा आफ्नो संलग्नताबारे उनले ‘इन्कार’ गरेका हुन् ।
‘मन्त्रिपरिषद्बाट निर्णय गराउँछु’ भनेर उनले टोखा नगरपालिका–६ स्थित धापासी घर भएका रामशरण केसीसँग दुई करोडको चेक लिएको प्रहरी अनुसन्धानले देखाउँछ । शरणार्थी प्रकरणमा संलग्न सानु भण्डारी र रामशरण केसीले यसअघि नै सरकारलाई मिलाउन भन्दै झालाई दुई करोडको चेक दिएको बयान दिएका थिए । उनलाई चेक दिन सानु भण्डारीले गिरोहका सदस्य रामशरण केसीलाई भनेका थिए । तर, झाले चेक बुझेपनि कुनै निर्णय गराउन सकेनन् ।
बयानमा बेचनले चेकबारे भनेका छन्, ‘चेकमा कसैले मेरो नाम भरिदियो होला ।’ तर रामशरणले नयाँ बानेश्वरस्थित ह्वाइट हाउस क्याम्पस नजिक भेटेर चेक दिएको दाबी गरेका थिए । भेट्नुअघि रामशरण र झाको बिचमा कुराकानीको भएको भनिएको अडियो पनि प्रहरीले आफूसँग रहेको बताउँदै आएको छ । तर, बेचनले रामशरणसँग भेटेको कुरा समेत अस्वीकार गरेका छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार बेचनले बयानमा भनेका छन्, ‘मैले रामशरणलाई भेटेको छैन, अडियोमा बोल्ने मानिस म होइन, मेरो आवाज नै होइन ।’
अनुसन्धान अधिकृतहरूले उनलाई अडियो सुनाएर त्यसबारे प्रश्न गरेका थिए । शरणार्थी प्रकरण सञ्चार माध्यमबाट थाहा भएको उल्लेख गर्दै बेचनले बयानमा भनेका छन्। ‘अरू विषयमा म जानकार छैन ।’
भुटानी शरणार्थी प्रकरणको योजनाकारमध्येका सानु भण्डारीले भनेअनुसार आफ्नो नाममा रहेको हिमालयन बैंकको दुई करोडको चेक झालाई दिएको रामशरणले बयानमा खुलाएका थिए । अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार बैंकमा पेस गर्दा हस्ताक्षर नमिलेपछि झाले चेक साट्न सकेनन् । तर प्रहरीले चेक बरामद गर्न सकेको छैन ।
यसअघि पक्राउ परेका रामशरण केसीले बयानमा भनेका थिए, ‘२०७८ मङ्सिर १३ मा बसेको मन्त्रिपरिषद्बाट भुटानी शरणार्थी सम्बन्धी निर्णय गराउन बेचन झाले रकम मागेको भनेर सानु भण्डारीले भनेपछि हिमालयन बैंकमा रहेको खाताबाट बेचन झाको नाममा २ करोडको चेक काटेर दिएको हुँ ।’
रामशरणले उनलाई बुझाएको चेकको फोटो खिचेर उनका साथी प्रेमराज पन्थीलाई पठाएको बताएका छन् । बयानमा उनले भनेका छन्, ‘चेक दिएको भिडियो पनि बनाएको थिएँ ।’
बेचनले राजधानीको थापागाउँमा ‘विभांशु ब्रदर्श’ नामको कन्स्ट्रक्सन कम्पनी सञ्चालन गरेका छन् । सो कम्पनीमार्फत उनले विद्युतको ठेक्का लिने गरेका थिए । २०५१ देखि उनी ठेक्कापट्टा गर्थे ।
आफू समाजसेवी भएको जिकिर गर्दै उनले प्रहरी अधिकृतहरूसँग नेपालका राजनीतिक दलका नेताहरूसँग चिनजान र सम्पर्क भने रहेको स्विकारेका छन् । अधिकृतहरूसँग उनले भनेका छन्, ‘नेताहरूसँग मेरो चिनजान छ तर, यस्तो काम भन्दिनँ।’
शरणार्थी प्रकरणमा बालकृष्ण खाँण सहितका उच्च अधिकारीहरू पक्राउ परेपछि उनी फरार भएका थिए । झा लामो समय भारतमा लुकेर बसेका थिए । उनकी छोरी भारतमा बस्छिन् ।
उनीविरुद्ध सङ्गठित रूपमा ठगेको कसुरमा म्याद लिएर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । झाको दुई वटा मोबाइल प्रहरीले बरामद गरेको छ । मोबाइलको फरेन्सिक जाँच गरेपछि थप तथ्य खुल्ने अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए ।