बिहीबार, ०३ असोज २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

माओवादी मन्त्रीलाई मुख्यमन्त्री कार्कीले भने, ‘प्रेसर नबढाउनुस्’

बिहीबार, १० साउन २०८१, ०८ : ५६
बिहीबार, १० साउन २०८१

विराटनगर । केन्द्रीय सत्ता समीकरण परिवर्तन भएसँगै कोशी प्रदेशमा पनि माओवादी मन्त्रीहरूको राजीनामा कहिले आउला र कांग्रेस सरकारमा कहिले सहभागी होला भन्ने चासो बढिरहेको छ । यही चासो बढिरहँदा बुधबार कोशी प्रदेश सरकार मन्त्रीपरिषद्को बैठकमा माओवादी मन्त्रीहरू पनि सहभागी भएका छन् । 

उक्त बैठकले विभिन्न ३ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद् बैठकको औपचारिक निर्णयपछि माओवादीका मन्त्रीहरूले सरकारमा सहभागिताको विषयमा चासो राखे पनि मुख्यमन्त्री हिक्मत कार्कीले त्यसलाई रोकेको बताइएको छ । माओवादीबाट सरकारमा नेतृत्व गरिरहेका भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेती (सुशील)ले मुख्यमन्त्रीलाई आफूहरूले सरकारमा रहने नरहने बारे चासो राखेका थिए । 

‘हामीले बैठक सकिएपछि राजीनामा दिने कि नदिने ? कहिले दिने ? तपाईँको कुरा के हो भनेर मुख्यमन्त्रीलाई सोध्यौँ,’ उप्रेतीले भने, ‘मुख्यमन्त्रीज्यूले तपाईँहरूको दलको नेतासँग सल्लाह गरेर भन्छु तपाईँहरू आ–आफ्नो काम गर्नु भन्नुभयो ।’ ‘तपाईँहरूले हतार गर्नुपर्ने, आत्तिनु पर्ने, राजीनामाको कुरा गर्नुपर्ने कुनै कारण छैन भन्नुभयो,’ मुख्यमन्त्रीले भनेको कुरा उद्धृत गर्दै उप्रेतीले भने, ‘हामीले राजीनामाको प्रेसर बढेको छ भनेको उहाँले प्रेसरको औषधि खानुहोस् भन्नुभयो ।’

मुख्यमन्त्री कार्कीले केही दिन अगाडि केन्द्रकै समीकरणको आधारमा कोशी प्रदेश सरकार अगाडि बढ्ने बताएका थिए । ‘सहमतीय रूप दिन सकिन्छ कि भन्ने कुरा पनि आएको छ । भागबन्डा मिलाउने सन्दर्भमा चाहिँ माथिको समीकरण मात्रै प्रयोग गर्ने हो कि भन्ने पनि देखिएको छ,’ मुख्यमन्त्री कार्कीले भने । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि ‘केही दिन’ सरकारमै रहने बताइरहेका छन् ।

मुख्यमन्त्री कार्कीले कांग्रेसलाई चार मन्त्रालय दिने तयारी गरेका छन् । यद्यपि कुरा नमिलेको कारण कांग्रेसको सत्ता यात्रामा ढिलाइ भएको सोही पार्टीका नेताहरू बताउँछन् । ‘हामी भित्रै नमिलेको कारण सरकारमा जान ढिलाइ भएको हो,’ कांग्रेस संसदीय दलका नेता उद्धव थापाले भने, ‘हामीले मन्त्रीको नाम दिने बित्तिकै सरकारमा कांग्रेसको इन्ट्री हुन्छ ।’

कांग्रेस भित्रै भने कसले सरकारको नेतृत्व गरेर जाने भन्ने विषयमा सहमति हुन नसकेको बताइएको छ । कांग्रेसमा दर्जन बढी मन्त्रीका आकाङ्क्षी रहेका छन् । ‘मन्त्रीमा दाबी धेरैले गर्नुभएको छ । महिला सांसदहरुले पनि दाबी गर्नुभएको छ,’ नेपाली काँग्रेसका प्रमुख सचेतक गोपाल तामाङले भने, ‘केन्द्रीय नेताले नै यो विषयमा टुङ्गो लगाउनु होला ।’

कोशी प्रदेशमा मुख्यमन्त्री कार्यालय र ८ मन्त्रालय गरेर ९ जना मन्त्री रहने व्यवस्था छ । हाल माओवादी केन्द्रबाट गणेश उप्रेतीले भौतिक पूर्वाधार विकास मन्त्रालय, नारायण बुर्जा मगरले पर्यटन, वन तथा वातावरण मन्त्रालय, राजेन्द्रकुमार कार्कीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिएका छन् । यस्तै पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा बन्दना झाँगर रहेकी छिन् । 

माओवादीले जिम्मेवारी सम्हालेका उक्त तीन मन्त्रालय र मुख्यमन्त्री कै जिम्मेवारीमा रहेको उद्योग, कृषि तथा सहकारी मन्त्रालय कांग्रेसलाई दिने मुख्यमन्त्रीको तयारी छ । एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालयमा क्रमशः रामबहादुर मगर, एकराज कार्की, लिलाबल्लभ अधिकारी र पाँच कर्ण राईलाई मन्त्री बनाएको छ । राज्यमन्त्रीमा सिर्जना राई छिन् । उनलाई अहिलेसम्म कुनै मन्त्रालयको जिम्मेवारी दिइएको छैन । सरकार पुनःगठन हुँदा पनि एमालेले अहिलेकै मन्त्रीहरूलाई निरन्तरता दिने भएको छ । 

तर, कांग्रेस भित्रै भने कसले सरकारको नेतृत्व गरेर जाने भन्ने विषयमा सहमति हुन नसकेको बताइएको छ । कांग्रेसमा दर्जन बढी मन्त्रीका आकाङ्क्षी रहेका छन् । ‘मन्त्रीमा दाबी धेरैले गर्नुभएको छ । महिला सांसदहरुले पनि दाबी गर्नुभएको छ,’ नेपाली काँग्रेसका प्रमुख सचेतक गोपाल तामाङले भने, ‘केन्द्रीय नेताले नै यो विषयमा टुङ्गो लगाउनु होला ।’

संविधानको धारा १६८ (५) लाई दोस्रो पटक प्रयोग गर्दै कोशी प्रदेशसभाबाट मुख्यमन्त्री कार्की तेस्रो पटक वैशाख २७ गते मुख्यमन्त्री बनेका हुन् । गत असार १७ गते नयाँ गठबन्धन (एमाले र कांग्रेस) बनेसँगै असार ३० गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भइसकेका छन् । सोही अनुसार सबै प्रदेशका सरकारहरू परिवर्तनको चरणमा छन् । कोशी प्रदेशमा भने मुख्यमन्त्री एमालेकै भागमा परेको कारण सरकार परिवर्तन नहुने तर मन्त्रीमण्डल पुनःगठन हुने भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप