बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेशसभामा विनियोजन विधेयक पेस

बुधबार, १७ असार २०८३, २० : ११
बुधबार, १७ असार २०८३

मकवानपुर । बागमती प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयक प्रस्तुत गरिएको छ । बुधबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘प्रदेश विनियोजन विधेयक २०८३’ प्रस्तुत गरेका हुन् ।

मन्त्री तामाङले प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न विधेयक पेस गरेका हुन् । बैठकमा उक्त विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरूले बजेट कार्यान्वयनको प्रक्रिया र रकमान्तरको व्यवस्थामाथि प्रश्न गरेका थिए ।

छलफलका क्रममा सांसद रत्नप्रसाद ढकालले विनियोजन भएको बजेटको चार गुणा बढीसम्म रकमान्तर गर्न पाउने व्यवस्थाले बजेटको अनुशासन उल्लङ्घन हुन सक्ने बताए । उनले मन्त्रालयहरूले कार्यक्रम संशोधन गर्दा आर्थिक मामिला मन्त्रालयमा फाइल अड्किने परिपाटी अन्त्य हुनुपर्नेमा बताए ।

सांसद युवराज चौलागाईंले बजेट कार्यान्वयनको निश्चित ‘टाइमलाइन’ तोकिनुपर्ने र ‘असारे विकास’को प्रवृत्ति रोकिनुपर्ने बताए । उनले सामान्य प्राविधिक त्रुटि सच्याउन मन्त्रालयहरूलाई नै अधिकार दिनुपर्ने सुझाव दिए । सांसद उद्धव थापाले बजेट पारित भएलगत्तै साउन १ गतेदेखि नै कार्यान्वयनमा लैजानुपर्ने र कार्यविधि निर्माणमा ढिलाइ गर्न नहुने बताए ।

सांसदहरूका प्रश्नको जवाफ दिँदै मन्त्री तामाङले प्राकृतिक विपद् वा आकस्मिक अवस्थामा बजेट व्यवस्थापन गर्न रकमान्तरको सुविधा आवश्यक पर्ने बताए । उनले संशोधन प्रक्रियालाई सहज बनाउन मन्त्रालय सकारात्मक रहेको समेत बताए ।

बैठकले ‘प्रदेश विनियोजन विधेयक २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईले विधेयकमाथि खर्च कटौतीको प्रस्ताव पेस गर्न चाहने सदस्यहरूलाई असार १८ गते दिउँसो १ बजेसम्मको समय उपलब्ध गराएकी छिन् ।

प्रदेशसभाको अर्को बैठक आगामी असार १८ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ । उक्त बैठकमा विभिन्न मन्त्रालयगत शीर्षकहरूमाथि छलफल हुने र सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप