बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

चीनले अनावरण गर्‍यो २० अर्ब डलरको विश्वको सबैभन्दा लामो समुद्री पुल : हङ्कङ र मकाओलाई मूलभूमिसँग जोड्ने

सोमबार, २४ वैशाख २०७५, ११ : ०८
सोमबार, २४ वैशाख २०७५

हामी रिपोर्टरहरूले डरलाग्दो गरी उजाड हङ्कङ–झुहाई–मकाउ पुलमा गाडी चलाइरहँदा पर्ल रिभर डेल्टाको पानी आँखाले भ्याएसम्म टाढासम्म फैलिएको देख्यौँ । दृश्यमा जमिन कतै देखिँदैन थियो ।

५५ किमि लामो यो पुल समुद्रमाथि बनेको विश्वको सबैभन्दा लामो पुल हो । हङ्कङ–झुहाई–मकाउ पुलको सहयाक निर्देशक र वरिष्ठ इन्जिनियर गुओ जिङलिनले हामीलाई आधा बाटोमा भेटे । हामीले बलियो बतासको धक्का महसुस गरिरहँदा निर्माणका क्रममा श्रमिकहरूले भोगेको कठिनाइ सम्झियौं । 

जिङलिन आफ्नो देशको यो ऐतिहासिक उपलब्धिमा स्पष्ट रूपमै गौरवान्वित देखिन्थे ।

सर्वसाधरणका लागि यो पुल गृष्मबाट खुल्नेछ । यस पुलले चीन मूलभूमिमा रहेको तुलनात्मक कम परिचित सानो सहर झिहाईलाई चीनको विशेष प्रशासित क्षेत्र मकाउ र हङ्कङसँग जोड्नेछ ।

कङ्क्रिट र स्टिलको यो विशाल विस्तार चीनको रेकर्ड तोड्ने ठूला संरचना बनाउने सामथ्र्यको अर्को प्रमाण हो । साथै यो चीनको बढ्दो भूराजनीतिक सबलताको बलियो प्रतीक हो ।

विश्वस्तरको विशाल खाडी क्षेत्र विकासको सहायक हुने

हङ्कङ–झुहाई–मकाउ पुल चीनको आफ्नै विशाल खाडी क्षेत्र (ग्रेटर बे एरिया) विकास गर्ने योजनाको मुख्य हिस्साअन्तर्गत पर्छ । यो खाडी क्षेत्र  विश्वको अन्य खाडी क्षेत्रहरू सान फ्रान्सिस्को, टोकियो र न्युयोर्कको प्राविधिक सिर्जनशीलता र आर्थिक सफलतालाई प्रतिस्पर्धा दिने सोचमा चीनले निर्माण गर्दै छ ।

चीनको दक्षिण केन्द्रमा रहेको यो क्षेत्रमा ६ करोड ८० लाख मानिसहरूको बसोबास रहेको छ भने यसले ५६,५५० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ (तुलनाका लागि काठमाडाँै, ललितपुर र भक्तपुर जिल्लाको संयुक्त क्षेत्रफल ६४२ वर्ग किमि छ) ।

यो क्षेत्रमा हङ्कङ, मकाउ र चीनको गुआनदोङ प्रदेशको नौ सहरहरू पर्छन् । यस प्रस्तावित खाडी क्षेत्रमा चीनको १% भूभाग, ५% जनसङ्ख्या पर्छ भने समग्र चीनको १२% कुल ग्राहस्थ उत्पादन यहाँबाट आउँछ । देशहरूसँग तुलना गर्ने हो भने अहिल्यै नै यो विश्वको ११औं ठूलो अर्थतन्त्र हुनआउँछ ।

विशाल खाडी क्षेत्रको अवधारण पहिलो पटक सन् २००९ मा उठाइएको थियो तर सहरहरूबीच रहेको विभिन्न अवरोधहरूले त्यसको विकासमा असर गरिरहेको छ । यो क्षेत्रले तीन अलग राष्ट्र जस्तो गुण भएको सहरहरू : हङकङ–चीन, मकाउ–चीन, र हङ्कङ–मकाउलाई समेट्छ । यी स्थानहरूमा तीन अलग कानुनी व्यवस्था छ साथै त्यहाँ तीन फरक मुद्रा लागू छन् । यसको अतिरिक्त त्यहाँका बासिन्दाले तीन फरक पासपोर्ट बोक्नुपर्छ । अर्को कठिनाइ भाषाले पु¥याउने देखिन्छ । यो क्षेत्रमा चिनियाँ भाषाकै अलग अलग हाङ्गो म्यान्डारिन र क्यान्टोनिज बोलिन्छ ।

“विश्वको अन्य खाडी क्षेत्रसँग प्रतिस्पर्धा गर्नको लागि चिनियाँ सरकारले यी अवरोधहरू कम गर्नुपर्छ वा हटाउनुपर्छ र सहरूबीचको समायोजनलाई प्रोत्साहन गर्नुपर्छ ।” घरबार कारोबार गर्ने कन्सल्ट्यान्सी सीबीआरईका अनुसन्धान प्रमुख रहेको मार्कोस च्यानले बताए ।

यो पुलको उपयोगिता यहीँनिर आउँछ । यसले तीन सहरहरूबीच यातायात समय तीन घण्टाबाट ३० मिनेटमा झारिदिनेछ । जसले तीनै सहर एक घण्टाको दूरीमा आइपुग्नेछन् ।

पुलले पर्ल रिभर डेल्टामा पर्यटन वृद्धि गराउनेछ

यो पुल पर्यटन बढाउने उद्देश्य राखेर पनि बनाइएको हो । “वर्तमानमा चीनको मूल भूमिबाट हङ्कङ जाने भ्रमणकर्ताहरू एक वा दुई दिनको बसाई गर्ने हिसाबले हवाइमार्गबाट आउने गर्दछन् । उनीहरू विशेष किनमेलको लागि हङकङ आउँछन् र पर्ल रिभर डेल्टाको अन्य क्षेत्रमा जादैनन् ।” च्यानले भने । पुलको प्रयोग हुन थाले पछि चीन र अन्य राष्ट्रबाट आएका पर्यटकहरू हङ्कङ एअरपोर्टबाट मकाउ र मूलभूमि चीनमा ४५ मिनेटभित्रै पुग्न सक्छन् ।

विगतमा पोर्चुगलको उपनिवेश रहेको मकाउको मुख्य आकर्षण भनेको क्यासिनो हो । “यो विश्वको सबैभन्दा ठूलो जुवा खेलिने सहर हो । साथै विशाल चिनियाँ भूभागमा जुवाका लागि कानुनी अनुमति भएको एक मात्र सहर यही हो ।” च्यानले भने । 

आरामदायी मौसम र समृद्ध वनस्पतीका कारण ‘चीनको फ्लोरिडा’ भनिने यो ठाउँ परिवार–मैत्री पनि छ । अहिले यो क्षेत्रमा भविष्यमा बढ्ने पर्यटकलाई ध्यानमा राखेर विभिन्न रिसोर्ट, पार्क र गल्फ खेलमैदानहरूको निर्माण भइरहेको छ ।

पुलको अतिरिक्त यो क्षेत्रमा हङ्कङलाई चीनसँग तीव्र गतिको रेल सञ्जालमार्फत जोड्ने ‘ग्याङ्झाउ–सेन्झेन–हङ्कङ एक्सेप्रेस रेल सम्पर्क’ र ‘लियान्टाङ–हिउङ यउिन वाई सिमाना नियन्त्रण विन्दु’ पनि निर्माण भइरहेको छ । यी दुवै पनि यो वर्षको अन्त्यमा प्रयोगमा आउनेछन् ।

सेतो हात्ती ?

तर सबैले यसलाई फाइदाको रूपमा हेरिरहेका छैनन् । “पुल पैसाको नास मात्र हो,” हङ्कङमा अझ बढी लोकतन्त्रको माग गरिरहेका एक स्वतन्त्र हङकङ्गेली सांसद क्याउडियो मोले भनिन् । “अहिले नै मूलभूमिसँग हङ्कङलाई जोड्नको लागि हामीसँग हवाई, समुद्र्री र जमिन सम्पर्कहरू छन् । थप परियोजना किन चाहिएको थियो ?”

अन्य आलोचकहरू जस्तै यो पुल निर्माणलाई राजनीतिक कदम मान्छिन् । सन् २०१४ मा प्रजातन्त्र पक्षधरहरूले सुरु गरेको ‘अकुपाई हङ्कङ’ ले बेइजिङलाई झस्कायो । त्यसपछि बेइजिङले यो सहरमा नियन्त्रण बढाएको छ । विरोधीहरूले यो पुल यही नियन्त्रण कायम राख्ने माध्यमका रूपमा हेरिरहेका छन् ।

“यसले हङ्कङलाई चीनसँग लगभग पाठेघरमा रहेका बच्चालाई सालनालले आमासँग जोडे जसरी जोड्छ । यसलाई हेरेपछि मातृभूमिसँग जोडिएको जस्तो महसुस होला ।” मोले भने ।

मोको अर्को पनि चिन्ता छ । उनी हङ्कङको विद्यमान सडक सञ्जालले पुलको कारणले थपिने गाडीहरूलाई धान्न सक्नेमा चिन्ता गर्छिन् । यसका साथै उनी हङ्कङलाई थप पर्यटकहरूको खाँचो नभएको विचार राख्छिन् । “हङ्कङ भिडभाडयुक्त भएको छ । अहिले नै हाम्रो सहरमा सम्पूर्ण संयुक्त अधिराज्यमा भन्दा धेरै पर्यटक आउँछन् ।” सन् २०१६ मा हङ्कङले ५ करोड ६७ लाख पर्यटकलाई भित्र्याउँदा संयुक्त अधिराज्यभरी ३ करोड ७६ पर्यटक आएका थिए ।

पुलमा भएको लगानीको खर्च भार

मोको आलोचनाको अर्को पक्ष भनेको यो पुलमा हङ्कङलाई आफ्नो हिस्सामा पर्नेभन्दा बढी अनुपातमा खर्च भार पारियो भन्ने छ । तीन क्षेत्रीय सरकारले यो परियोजनामा सहकार्य गरेका थिए । तिनले आफ्नो भूभागमा पर्ने संरचनाको हिस्साको आर्थिक भार उठाएका थिए । 

हङ्कङ–झुहाई–मकाउ पुल निकायले प्रदान गरेको सूचनामा मुख्य पुलमा भएको खर्च रकम ७.५६ अर्ब डलर भनेको छ । यसमध्य ४.३२ अर्ब डलर बैङ्क ऋणबाट पूर्ति गरिएको थियो । बाँकी ३.२४ अर्ब अमेरिकी डलरमध्ये १.३८ अर्ब अमेरिकी डलर हङ्कङले बेहोरेको थियो ।

हङ्कङ यातायात तथा बसोवास ब्युरोकी प्रवक्ताले यस परियोजनामा हङ्कङले थप ४.५७ अर्ब डलर सिमाना ‘क्रसिङ’मा र अर्को ३.१९ अर्ब डलर मुख्य पुलबाट सिमाना ‘क्रसिङ’ जोड्न सम्पर्क सडक निर्माण गर्न

खर्च भएको थियो । यसरी हङ्कङको कुल खर्च ९ अर्ब डलर हुन आएको छ ।

“हङ्कङले पुलका लागि निक्कै बढी लगानी ग¥यो” मोले भनिन्– “तर यहाँ यसको फाइदा देखिरहेका छैनौं ।”

पुलको विशेषता

पुलको खास आवश्यकताबारेमा विवाद रहिरहँदा यो पुल इजिनियरिङको असाधारण सफलता हो भन्ने चाहिँ सर्वसम्मत देखिन्छ ।

यो पुललाई आठ रेक्टर म्याग्निच्युडसम्मको भूकम्प थेग्ने गरी बनाएको छ । साथै समुद्र्र क्षेत्रमा रहने भएकाले सुपर समुद्री तुफान र ठूलो आकारको कार्गो जहाजको धक्का सहने हिसाबले यो पुल बनाइएको छ । 

यो पुल निर्माणमा ४ लाख टन स्टिल मात्रै प्रयोग भएको छ । जिङ्लिनका अनुसार प्राविधिक रूपमा यो परियोजनाको सबैभन्दा जटिल पक्ष भनेको ६.७ किमि समुद्रमुनि रहने टनेल निर्माण थियो । 

यो टनेल बनाउनै पर्ने थियो, किनकि पर्ल रिभर डेल्टा विश्वको सबैभन्दा व्यस्त जहाज आवतजावत गर्ने क्षेत्र हो । हङ्कङ–झुहाई–मकाउ पुल अधिकारीहरूको अनुसार प्रत्येक दिन यो बाटो हँुदै ४ हजार जहाजहरू आवत जावत गर्छन् ।

जिङ्लिनकाअनुसार यो टनेल ३३ ‘तत्व’बाट बनेको छ । प्रत्येक तत्व १८० मिटर लामो, ३८ मिटर चौडाइ र ११.४ मिटर उच्च छन् । यो ८० हजार टन तौलको रहेको छ । 

फेरि टनेल दुई मानव निर्मित टापुबीचमा बनाइएको हो । प्रत्येक टापु एक लाख वर्ग मिटरको छ । टापु  कम गहिराई भएको समुद्री क्षेत्रमा बनाइएको छ । तर टापु निर्माणको कार्य सजिलो थिएन । 

त्यसका अतिरिक्त पुल निर्माणका क्रममा वातावरणीय असरलाई महत्व नदिइएको यस परियोजनामा काम गर्ने कामदारहरूको सुरक्षामा प्रर्याप्त सावधानी नअपनाइएको भनेर परियोजनाको आलोचना भएको थियो । 

परियोजनाको हङ्कङ सिमाना क्रसिङ र सम्पर्क सडक निर्माणको क्रममा ७ कामदारहरू मरेको र २७५ जना कामदारहरू घाइते भएको राजमार्ग विभागले बतायो । 

विभिन्न अवरोधहरू झेलेर पुल निर्माण सकिएको छ । हाल अधिकारीहरू पुल सञ्चालनमा ल्याउनु अघिको अन्तिम तयारी गरिरहेका छन् । उनीहरू भन्सार र चेकपोइन्ट निर्माण, आकस्मिक दुर्घटनाको बेलामा बचाउ गर्ने व्यवस्था गर्ने र ‘टोल’ मूल्य निर्धारण आदिमा जुटेका छन् ।

यो पुलमा गाडीहरूको गति १०० किमी प्रतिघण्टा राखिएको छ ।

अबको केही महिनामा हाल खालि रहेको यो समुद्री राजमार्ग कार, बस, ट्रक र लोरीहरूले भरिनेछ ।  सिएनएन 
    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप