सेवा विस्तार गर्दै दमौली अस्पताल
तनहुँ । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा विभिन्न सेवा विस्तार गरिएको छ । अस्पतालले शल्यक्रियामार्फत प्रसूति सेवा, सर्जरी सेवा, एमडिजिपी सेवा र पाठेघर फाल्ने शल्यक्रिया सेवा विस्तार गरेको हो ।
त्यसमध्ये शल्यक्रियामार्फत प्रसूति सेवा १८ महिनापछि पुनःसञ्चालन भएको हो भने अन्य दुई सेवा नयाँ रहेको अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिए । जनशक्ति अभावमा लामो समयदेखि रोकिएको शल्यक्रियामार्फत प्रसूति सेवा जनशक्तिको व्यवस्था भएसँगै सञ्चालनमा ल्याइएको बरालले बताउनुभयो । सर्जरी सेवा र एमडिजिपी सेवा आर्थिक वर्ष २०८०-८१ मा र पाठेघर फाल्ने शल्यक्रिया सेवा चालु आर्थिक वर्ष २०८१-८२ मा सुरु गरिएको बरालको भनाइ छ ।
शल्यक्रियाको व्यवस्था नहुँदा प्रसूति सेवाका गर्भवती पोखरा, चितवन वा अन्यत्रै जानुपर्ने बाध्यता थियो । एनेस्थेसिया सहायक र स्त्रीरोग विशेषज्ञका लागि व्यास नगरपालिकाले भत्ता र गण्डकी प्रदेश सरकारले मसिक तलब दिने व्यवस्था गरेपछि शल्यक्रियामार्फत प्रसूति सेवा सञ्चालन गरिएको बरालले बताए ।
बरालका अनुसार गत वैशाखदेखि पुनः सुरु भएको शल्यक्रियामार्फत प्रसूति सेवाबाट १९ जना लाभान्वित भएका छन् । दुई सय ९८ जनालाई भने सामान्य प्रसूति सेवा दिइएको बरालको भनाइ छ । अस्पतालमा हर्निया, हाइड्रोसिलको सर्जरी सेवा सञ्चालन गरिएको छ । अस्पताल प्रमुख डा बरालले सो सेवा दिइरहेका छन् ।
त्यस्तै अस्पतालले गत साउन १४ गतेदेखि पहिलोपटक पाठेघर फाल्ने शल्यक्रिया सेवा सुरु गरिसकेको छ । अस्पतालका प्रसूति विशेषज्ञ डा कुमार विष्टको समूहले एकजना महिलाको पाठेघर फाल्ने शल्यक्रिया सेवा सञ्चालन गरिसकेका छन् । दमौली अस्पतालमा यो सेवा सुरु भएसँगै दमौली तथा यस आसपासका भेगका महिलालाई सहज हुने बरालको भनाइ छ । उनले भने, “यसअघि यस सेवाका लागि पोखरा, चितवन वा अन्यत्रै जानुपथ्र्यो, अब यहीँ यो सेवा नियमित रूपमा सञ्चालन हुनेछ ।”
अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा हाल ५७ जना मिर्गौलापीडितले डायलाइसिस सेवा लिइरहेका छन् । मिर्गौलापीडितले डायलासिसका लागि पालो कुर्नपर्ने अवस्थाको अन्त्य भएको छ । पन्ध्र शय्यामा स्वीकृत अस्पतालले हाल ५४ शय्याबाट सेवा दिइरहेको छ । बढ्दो बिरामीको चापसँगै अस्पतालको क्षमता विस्तार गर्नुपर्ने आवश्यकता रहेको बरालले बताए ।
विसं २०३४ मा स्वास्थ्यचौकीको रुपमा स्थापना र २०५५ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्तरोन्नति भएका यो अस्पताल २०५९ सालमा अस्पतालका रुपमा स्तरोन्नति भएको थियो । अस्पतालले दमौली मात्र नभई छिमेकी जिल्लाका बासिन्दालाई सेवा दिइरहेको छ ।
अस्पतालमा फोहरपानी, फोहरमैला व्यवस्थापनका लागि अटोक्लेप्ससहितको भवन निर्माण, आँखा विशेषज्ञसहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, यनेस्थेसिया सेवा, भेन्टिलेटरसहित आइसीयु कक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्सरे, निःशुल्क औषधिकक्ष लगायत सेवा विस्तार भइसकेको छ । साथै शव राख्नका लागि दुई तह भएका दुईवटा मर्चरी चेम्बरको पनि व्यवस्था गरिएको छ । अस्पतालले आकस्मिक सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलाइसिस सेवा प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण