त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा
दमौली । गत असोज ११ र १२ गतेको अविरल वर्षापछि त्रिशूली नदीमा आएको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ । त्रिशूली नदीमा आएको बाढीले तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने घुमाउनेको झोलुङ्गे पुल जोखिममा परेको हो ।
बाढीले पुल जोखिममा परेपछि आवतजावतमा समस्या भएको आँबुखैरेनी–५ का वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । घुमाउनेमा निर्माणाधीन पक्की पुल विगत १० वर्षदेखि अलपत्र हुँदा यस भेगका सर्वसाधारणलाई आवतजावतका लागि यो पुलमात्रै विकल्प हो । पुल पनि बाढीले जोखिममा परेपछि हिँडडुलमा समस्या भएको वडाध्यक्ष गुरुङको भनाइ छ । उनले भने, “घुमाउनेका सर्वसाधारण यही पुल प्रयोग गरी मुग्लिन–नारायणगढ खण्डमा निस्किएर यात्रा गर्छन्, पुल खतरामा परेको छ ।”
दसैँ सुरु भएसँगै सर्वसाधारणको आवतजावत बढेको र पुलको जोखिमका कारण समय मिलाएर पुल वारपार गर्ने व्यवस्था मिलाइएको गुरुङले बताए । बाढीले गर्दा पुल नै कोल्टिएको छ । यसैबिच गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री हरिबहादुर चुमान र आँबुखैरेनीका अध्यक्ष शुक्र चुमानले शुक्रबार उक्त पुलको अवलोकन गरेका छन् ।
झोलुङ्गे पुल जोखिममा पर्दा यस भेगका जनतालाई आवतजावतमा असुविधा भएकाले उक्त पुलको गाउँपालिकाले मर्मत गर्ने अध्यक्ष चुमानले बताए । उनले भने, “प्राविधिकसहितको टोलीले पुलको अवलोकन गरेको छ, दसैँका बेला सर्वसाधारणलाई सहज रुपमा आवतजावत मिलाउन तत्कालै यो पुलको मर्मत गर्छौं ।”
बुद्धसिंह मार्गअन्तर्गत पर्ने यो पुल हुँदै चितवन निस्कन मिल्छ । सदरमुकाम दमौलीबाट बुद्धसिंह मार्ग प्रयोग गर्दै मोटरसाइकलमा यहाँबाट यात्रा गर्न सकिन्छ । सोही पुल नजिकै पक्की पुल निर्माण सुरु भएको १० वर्ष भए पनि पुलको प्रगति जम्मा ४० प्रतिशत मात्रै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा २ किलो ७९३ ग्राम लागुऔषधसहित एक जना पक्राउ
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण