ओली सरकारविरुद्ध शुक्रबार माइतीघर मण्डलामा जम्मा हुन रास्वपाको आह्वान
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केपी ओली नेतृत्व सरकारविरुद्ध शुक्रबार काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । माइतीघर मण्डलामा दिउँसो १ बजे राजनीतिक प्रतिशोधविरुद्ध ऐक्यबद्धता जनाउन अपिल गरेको हो ।
प्रदर्शन पार्टीको नेतृत्वमा भए पनि आम रूपमा सहभागी हुन अपिल गरेको रास्वपाका केन्द्रीय सदस्य पुकार बमले जानकारी दिए ।
‘दुई तिहाइ सरकारको दम्भ र प्रतिशोधपूर्ण कदमविरुद्ध उत्रिन सार्वजनिक रूपमा अपिल गरेका छौँ । अब पोखरा वा कुनै व्यक्ति वा पार्टी विशेषमा आन्दोलन रोकिँदैन । अब अभियानकै रूपमा अगाडि बढिसकेको छ । ओली सरकारविरुद्ध देशैभर भण्डाफोर अभियान चलाउँछौँ’, रातोपाटीसँग बमले भने, ‘मुद्दा पार्टीले उठाएपनि जिल्ला, प्रदेशले नेतृत्व गर्छ । सहकारी ठगी, भ्रष्टाचारका अन्य मुद्दाका लागि सार्वजनिक रूपमा अपिल गरेका छौँ । सबैको ऐक्यबद्धता हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । पार्टीको झन्डा केही हुँदैन । स्वतःस्फूर्त रूपमा खुला कार्यक्रम गर्न लागिएको हो ।’
आन्दोलनको तयारीका लागि अहिले जिल्ला, प्रदेश र केन्द्रमा उपलब्ध भएका केन्द्रीय नेताहरूको बैठक बसेको उनले जानकारी दिए । बैठकमा आन्दोलनलाई शान्तिपूर्ण बनाउने, व्यवस्थित गर्ने लगायत विषयमा छलफल भइरहेको बताए ।
सहकारी ठगीको आरोपमा पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेलाई प्रहरीले गत शुक्रबार काठमाडौँबाट पक्राउ गरी पोखरा लगेको थियो । लामिछानेलाई झुट्टा मुद्दामा सरकारले फसाउन खोजेको आरोप लगाउँदै शनिबारदेखि लगातार रास्वपाका नेता तथा कार्यकर्ताहरु विरोधमा उभिएका छन् । बिहीबार लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण