नदै गुफा प्रवर्द्धन गरिँदै
जुम्ला । जुम्लाको तिला गाउँपालिका–९ स्थित ऐतिहासिक धार्मिक पर्यटकीयस्थल नदै गुफालाई पर्यटन प्रवर्द्धन गरिने भएको छ । वडाध्यक्ष धनबहादुर रावतले गुफालाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक संरचना निर्माणका लागि पालिकाले रु ८१ लाख २६ हजारको बोलपत्र आह्वान गरेको जानकारी दिए ।
गुफा परिसरमा मन्दिर पुनः निर्माण तथा संरक्षणका लागि सङ्घीय सरकारबाट प्राप्त सशर्त अनुदानमार्फत सो बजेट विनियोजन भएको उनले बताए । सङ्घीय सरकारबाट प्राप्त बजेटबाट धर्मशाला, सडकबत्ति, रेलिङ र गुफाको फोटोलगायत भौतिक संरचना निर्माण गरिनेछ ।
वडाध्यक्ष रावतका अनुसार गुफासम्म सडक सञ्जाल जोड्नका लागिसमेत सङ्घीय सरकारबाट बजेट व्यवस्थापन भएको छ । “अलपत्रमा रहेको नदै गुफालाई संरक्षण गरी पूर्वाधार निर्माण गरेमा यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्नेछ । यहाँ दुई सय मिटर लामो धार्मिक गुफा छ । परम्परागत रूपमा गाईको दूधको थुनजस्तो आकार भएको उक्त गुफाबाट पानी निरन्तर बग्ने गरेका देख्न सकिन्छ”,उनले भने, “यसको संरक्षण र प्रवर्द्धन गर्न सके स्थानीयको आयस्तरमा सुधार हुँदै जानेछ । साथै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ ।”
गुफा ऐतिहासिक रूपमा महत्त्वपूर्ण मानिए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानीयवासीको गुनासो रहेको छ । उक्त गुफासम्म पुग्नका लागि मोटर बाटो सहज छैन । प्राकृतिक गुफाको प्रचारप्रसार र प्रवर्द्धन गर्न सके बाह्य तथा आन्तरिक पर्यटक आवागमन बढ्ने र त्यसबाट स्थानीय नागरिक प्रत्यक्ष लाभान्वित हुने स्थानीयवासी समीर बोहोराको भनाइ छ ।
तिला– ९ का हेमराज रावतले गुफाको विकासमा स्थानीय सरकारले ध्यान नदिँदा त्यस क्षेत्रमा आउने आन्तरिक पर्यटकको सङ्ख्यासमेत बढ्न सकेको छैन । यसको विकासमा ध्यान दिन सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने र त्यसले गाउँको मुहार फेरिने उनको विश्वास छ ।
वडाध्यक्ष रावत भने स्वदेश तथा विदेशसम्म गुफाको प्रचारप्रसार गर्ने उद्देश्यले यसै वर्ष सम्मेलनसमेत गर्ने तयारी भएको जानकारी दिए । “पूर्वाधार निर्माणका साथै प्रचारप्रसारका लागि सम्मेलन गर्ने योजना छ । त्यसले स्थानीयको चिन्ता सम्बोधन र हाम्रो चाहना पूरा गर्न सघाउ पुग्नेछ”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण