पाँच जिल्लाका सात सय उद्योगको अनुगमन, नौ लाखका सामाग्री नष्ट
तनहुँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले पाँच जिल्लामा अनुगमन गर्दै आएको छ । दमौलीमा रहेको कार्यालयले तनहुँसहित, लमजुङ, गोरखा, नवलपुर र मनाङमा नियमित रूपमा अनुगमन गर्दै आएको हो ।
उक्त कार्यालयले एक वर्षको अवधिमा पाँचवटा जिल्लाका सात सय ६६ उद्योग, पसल तथा होटलको अनुगमन गरेको छ । पाँच जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले गत आर्थिक वर्षमा खाद्य तथा दाना उद्योग, होटल रेष्टुरेण्ट, व्यापारिक पसललगायतमा अनुगमन गरेको हो ।
कार्यालय प्रमुख ज्योति आचार्यका अनुसार उक्त अवधिमा तीन सय ५५ खाद्य तथा दाना उद्योग, एक सय ८८ खाद्य उद्योग, एक सय ८५ होटल रेष्टुरेण्ट, ३८ वटा पानी, तेल, जुस, डेरी उद्योगमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा म्याद नाघेका, सडेगलेका गरी नौ लाख बराबरको सामग्री नष्ट गरिएको छ ।
उक्त आर्थिक वर्षमा ऐन, नियमबमोजिम सङ्कलित एक सय नमूनाको हालसम्म प्राप्त विश्लेषण प्रतिवेदनमा नौवटामा कैफियत पाइएको प्रमुख आचार्यले जानकारी दिइन् । त्यसमध्ये एउटा दूषित, तीनवटा न्यूनस्तर, एउटा ढाटी, झुक्याइ र चारवटा लेबलमा कैफियत रहेको प्रमाणित भएको उनले बताइन् ।
उनका अनुसार उक्त अवधिमा २१ उजुरी गुनासो सम्बोधन गरिएको छ । कार्यालयले जिल्ला प्रशासन कार्यालय तनहुँबाट दुई लाख, जिल्ला प्रशासन कार्यालय लमजुङबाट पानी उद्योगलाई ५० हजार जरिवाना र विभिन्न तीन होटल, रेष्टुरेण्टलाई १० हजारका दरले ३० हजार जरिवाना गरिएको छ । आचार्यका अनुसार नवलपुरको गैँडाकोट नगरपालिकाबाट एउटा होटललाई पाँच हजार जरिवाना गरिएको छ ।
कार्यालयले खाद्य ऐन, नियमविरुद्ध गुणस्तरहीन खाद्य पदार्थ उत्पादन गर्ने सात उद्योगविरुद्ध मुद्दा दर्ता गरेको छभने विभाग मातहतका अन्य कार्यालयमा ३१ वटा मुद्दा प्रेषित गरिएको आचार्यले बताइन् । कार्यालयले तनहुँ जिल्ला अदालतमा दूषित खाद्य पदार्थ उत्पादनसम्बन्धी एक, नवलपुर जिल्ला अदालतमा न्यूनस्तर खाद्य पदार्थ उत्पादनसम्बन्धी तीन र जिल्ला प्रशासन कार्यालय लमजुङमा लेबलमा कैफियत तथा खाद्य ऐन, नियम उल्लङ्घन कसुरमा तीनवटा मुद्दा दर्ता गरिएको प्रमुख आचार्यले बताइन् ।
व्यास नगरपालिका–३ शान्तिनगरस्थित भाडाको घरमा कार्यालय सञ्चालनमा छ । पाँच जिल्ला कार्यक्षेत्र भएको कार्यालयमा कर्मचारी सङ्ख्या न्यून हुँदा सेवा प्रवाहमा समस्या भइरहेको उनको भनाइ छ ।
कर्मचारी अभावकै बीचमा पनि कार्यालयले बजार अनुगमनलाई निरन्तरता दिइरहेको भन्दै उनले कर्मचारी अभावले बजार अनुगमनमा असर पुगिरहेको बताइन् ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयमातहतको कार्यालयले खाद्य ऐन तथा दाना ऐन कार्यान्वयनमार्फत खाद्य शृङ्खलामा खाद्य स्वच्छता कायम गरी सर्वसाधारण जनताको सुख सुविधा कायम गर्ने उद्देश्य राखिएको छ । विसं २०७५ कात्तिक १५ गते जिल्लामा डिभिजन कार्यालय स्थापना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यूक्यासलविरुद्ध ब्रेन्टफोर्डको आक्रामक प्रदर्शन
-
शिविरले देखायो संसार : ११ वर्षपछि आँखा देख्न पाए दिदी-भाइले
-
ओल्ड ट्राफोर्डमा ३० वर्षपछि नटिङघमको पहिलो जित, म्यान्चेस्टर युनाइटेड स्तब्ध
-
फेरि हारबाट जोगियो म्यान्सिटी
-
इस्लामिक विद्रोहीहरु दमास्कस घुस्दै, आफु राजधानी छोडेर नभागेको राष्ट्रपति असदको प्रतिक्रिया
-
कञ्चनजङ्घा ‘सेसेलुङ’ गोल्डकपको उपाधि धरानलाई