शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सकियो आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ को आठौँ शृङ्खला

एक रनको रोमाञ्चक जितसँगै तालिकामा ओमानको फड्को, नेपालसँग आठ अंकको अग्रता

मङ्गलबार, २७ कात्तिक २०८१, ११ : १२
मङ्गलबार, २७ कात्तिक २०८१

काठमाडौँ । नेदरल्यान्ड्समाथि ओमानले घरेलु मैदानमा एक रनको रोमाञ्चक जित हासिल गरेसँगै आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको आठौँ शृङ्खला पनि सकिएको छ । यो शृङ्खला ओमानका लागि निकै फलदायी रह्यो ।

घरेलु मैदानमा खेलिएको यो शृङ्खलामा ओमानले आफूले खेलेको चारवटै खेलमा जित हात पार्‍यो । लिग–२ अन्तर्गतको आठौँ शृङ्खला सुरु हुनुअघि ओमान ६ अंकसहित तालिकाका छैटौँ स्थानमा आसीन थियो । तर, यो शृङ्खलाबाट आठ अंक बटुल्दै कुल १४ अंकसहित ओमान तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।

लिग–२ अन्तर्गतको आठौँ शृङ्खलाको समाप्तिपछि १२ खेल खेलेको अमेरिका आठ जित र चार हारबाट १६ अंक बटुल्दै तालिकाको पहिलो स्थानमा छ । समान खेल खेलेको क्यानडा पनि आठ जित र चार हारबाट १६ अंक जोड्दै दोस्रो स्थानमा छ ।

समान १२ खेल खेलेको नेदरल्यान्ड्स सात जित र पाँच हारबाट १४ अंक जोड्दै तेस्रो स्थानमा छ । स्कटल्यान्ड भने ११ खेलबाट १४ अंक हात पार्दै चौथो स्थानमा आसीन छ । स्कटल्यान्डले ६ जित र तीन हारको नतिजा निकालेको छ । स्कटल्यान्डको दुई खेल भने अनिर्णीत रूपमा सकिएको छ ।

यसैगरी, १२ खेल खेलेको ओमान १४ अंकसहित पाँचौँ स्थानमा छ । ओमानले ६ जित र चार हारको नतिजा निकालेको छ । ओमानको दुई खेल भने अनिर्णीत रूपमा सकिएको छ । १२ खेल सकेको नामिबिया पाँच जित र सात हारबाट १० अंक जोड्दै छैटौँ स्थानमा छ ।

यसैगरी, हालसम्म १२ खेल खेलेको नेपाल केवल ६ अंक बटुल्दै तालिकाको सातौँ स्थानमा छ । नेपालले केवल दुई जित र आठ हारको नतिजा निकालेको छ । नेपालको दुई खेल अनिर्णीत रूपमा सकिएको छ । तालिकाको अन्तिम स्थानमा आसीन संयुक्त अरब इमिरेट्स (यूएई) ले ११ खेलबाट चार अंक बटुलेको छ । यूएई दुई खेलमा विजयी र नौ खेलमा पराजित भएको छ ।

लिग–२ अन्तर्गतको नवौँ शृङ्खला सन् २०२५ को जनवरीमा ओमानमा खेलिने छ । त्यो शृङ्खलामा ओमानका अतिरिक्त नामिबिया र अमेरिकाको सहभागिता रहनेछ । १०औँ शृङ्खला सन् २०२५ को मार्चमा नामिबियामा खेलिने छ । त्यो शृङ्खलामा नामिबियाका अतिरिक्त नेदरल्यान्ड्स र क्यानडा सहभागी हुनेछन् ।

यसैगरी, ११औँ शृङ्खला सन् २०२५ को मेमा नेदरल्यान्ड्समा खेलिने छ । त्यो शृङ्खलामा नेदरल्यान्ड्सका अतिरिक्त स्कटल्यान्ड र यूएईको सहभागिता रहने छ । लिग–२ अन्तर्गतको १२औँ शृङ्खला पनि आगामी मे महिनामै स्कटल्यान्डमा खेलिने छ । त्यो शृङ्खलामा नेदरल्यान्ड्स र नेपालको सहभागिता रहने छ ।

लिग–२ प्रतियोगिताको यो दोस्रो संस्करण हो । दोस्रो संस्करणमा सहभागी आठ वटै टोलीले कुल ३६–३६ खेल खेल्नेछन् । प्रत्येक टोलीले घरेलु मैदानमा तीन र अन्य राष्ट्रको मैदानमा नौवटा शृङ्खला खेल्नेछन् । प्रत्येक शृङ्खलामा तीनवटा टोलीको सहभागिता रहने छ ।

प्रत्येक शृङ्खलामा सहभागी तीनवटै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् । यस आधारमा हरेक शृङ्खलामा प्रत्येक टोलीले चार–चार खेल खेल्नेछन् । सहभागी टोलीहरूका लागि आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगिता निकै महत्त्वपूर्ण छ ।

यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रूपमा पनि रहेको छ । सन् २०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा संयुक्त रूपमा आयोजना हुँदैछ ।

लिग–२ प्रतियोगिताको समाप्तिपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र सिधै सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् । लिग–२ तालिकाको अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरको प्ले–अफ चरण खेल्नु पर्नेछ ।

लिग–२ प्रतियोगिताको पहिलो संस्करण सन् २०१९ देखि सन् २०२३ सम्म आयोजना भएको थियो । त्यो प्रतियोगितामा तेस्रो भएको नेपालले सिधै सन् २०२३ को एकदिवसीय विश्वकपको छनोट चरण खेल्ने अवसर पाएको थियो ।

लिग–२ को पहिलो संस्करणमा ३६ खेलबाट ५० अंक बटुल्दै स्कटल्यान्ड पहिलो, समान खेलबाट ४४ अंक जोड्दै ओमान दोस्रो र समान खेलबाट ४० अंक बटुल्दै नेपाल तेस्रो भएका थिए । तीनवटै टोली सिधै विश्वकपको छनोट चरणमा पुगेका थिए ।

लिग–२ को पहिलो संस्करणमा पनि नेपाली टोलीसँग एउटा रमाइलो संयोग पनि जोडिएको थियो । शृङ्खलाका सुरुआती चरणका खेलमा नेपालको प्रदर्शन निकै निराशाजनक थियो । तर, नेपाली टोली पछिल्ला तीन शृङ्खलामा खेलिएका कुल १२ मध्ये ११ खेलमा जित हात पार्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको थियो ।

बाँकी चार राष्ट्र नामिबिया, अमेरिका, यूएई र पपुवा न्यु गिनीले भने विश्वकप क्वालिफायरको प्ले–अफ खेल्नु परेको थियो । प्ले–अफ चरण पार गर्दै पछि यूएई र अमेरिका विश्वकप छनोट प्रतियोगितामा सहभागी भएका थिए ।

सन् २०२३ को एकदिवसीय विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगिता जिम्बाबेमा आयोजना भएको थियो । त्यो प्रतियोगिताबाट श्रीलङ्का र नेदरल्यान्ड्स सन् २०२३ को एकदिवसीय विश्वकपमा छनोट भएका थिए ।

यसका अतिरिक्त, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट प्राप्त एकदिवसीय मान्यता जोगाउन पनि लिग–२ प्रतियोगिताको महत्त्वपूर्ण भूमिका रहन्छ । हाल आईसीसीबाट अस्थायी रूपमा एकदिवसीय मान्यता पाएका नेपालसहितका एसोसिएट्स सदस्य राष्ट्रको उक्त मान्यता सन् २०२६ को विश्वकप छनोटसम्म कायम रहने छ ।

यो सूचिमा स्कटल्यान्ड, यूएई, नेदरल्यान्ड्स, नामिबिया, ओमान, अमेरिका र क्यानडा पनि रहेका छन् । त्यसैले यसपटक पनि लिग–२ प्रतियोगिता निकै महत्त्वपूर्ण रहेको छ । यसपटक लिग–२ तालिकाको माथिल्लो चारभित्र पर्न सके नेपाल सिधै विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछ । अन्यथा नेपालले छनोट चरणमा प्रवेश गर्न प्ले–अफ खेल्नु पर्नेछ ।

लिग–२ अन्तर्गतको आठौँ शृङ्खलाको अन्तिम खेलमा ओमानले नेदरल्यान्ड्समाथि एक रनको रोमाञ्चक जित हासिल गर्‍यो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको ओमानले ४४.२ ओभरमा अलआउट हुनुअघि एक सय ५५ रन बनाएको थियो । जवाफमा नेदरल्यान्ड्सले भने ४५.३ ओभरमा अलआउट हुनुअघि एक सय ५४ रनमात्र बनाउन सक्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप