पुष्प २ लाई सेन्सर बोर्डले दियो हरियो झण्डा : फिल्मले पायो यू/ए प्रमाणपत्र
मुम्बई । बहुप्रतिक्षित चलचित्र ‘पुष्पा २’ आगामी डिसेम्बर ५ गतेबाट हलमा रिलिज हुँदैछ । चलचित्रले सेन्सर बोर्ड (सीबीएफसी)बाट यू/ए प्रमाणपत्र प्राप्त गरेको मुख्य अभिनेता अल्लु अर्जुनले पोस्टमार्फत जानकारी दिएका छन् ।
योसँगै सीबीएफसीले फिल्मका तीन संवाद र केही दृश्यमा परिवर्तन गर्न निर्देशन दिएको छ । तीनवटा अपमानजनक शब्दहरू म्युट गर्न पनि सुझाव दिइएको छ। यी परिवर्तन गरेपछि मात्र चलचित्र निर्धारित मितिमा रिलिज हुनसक्छ ।
सेन्सर सर्टिफिकेटले फिल्मको रनटाइम ३ घण्टा २० मिनेट र ३८ सेकेन्ड रहेको बताएको छ। जबकि पुष्पा फिल्मको पहिलो भागको रनटाइम २ घण्टा ५९ मिनेट थियो । एक वर्षअघि रिलिज भएको फिल्म एनिमलको रन टाइम २०३ मिनेट थियो । रणवीर कपूर अभिनित यो फिल्म ब्लकबस्टर थियो । अब पुष्पा २ ले यी फिल्मको कीर्तिमान तोड्न सक्छ कि सक्दैन, त्यो हेर्न बाँकी छ ।
अल्लु अर्जुनले सन् २०१९ मा पुष्प: द राइज (पहिलो भाग) को छायाङ्कन सुरु गरेका थिए। यसै समयमा निर्देशक सुकुमारले यो फिल्मलाई दुई भागमा रिलिज गर्ने घोषणा गरेका थिए । उनी पहिलो भाग २०२१ र दोस्रो भाग २०२२ मा रिलिज गर्न चाहन्थे। तर, यो हुन सकेन ।
अब २ वर्षको लामो प्रतीक्षापछि चलचित्र पुष्प २ डिसेम्बर ५ मा रिलिजको तयारीमा छ । यो फिल्म यसअघि १५ अगस्टमा रिलिज हुने तय भएको थियो । रिपोर्टहरु विश्वास गर्ने हो भने अल्लु अर्जुन र निर्देशक सुकुमारबिचको रचनात्मक मतभेदका कारण सुटिङ रोकिनुपरेको थियो । छायाङ्कन पूरा हुन नसकेपछि चलचित्र स्थगित भएको हो ।
५ सय करोडको मेगा बजेटमा बनेको चलचित्र पुष्पा २ को निर्माताले विभिन्न क्लाइमेक्स सुटिङ गरेका छन् । ताकि फिल्मसँग सम्बन्धित कुनै स्पोइलर लिक नहोस्। सबै क्लाइमेक्स सुटहरू मध्ये, निर्माताहरूले कुनलाई फाइनल गर्नेछन् भन्ने सेटमा कसैलाई थाहा छैन ।
फिल्म पुष्प २ तमिल, तेलुगु, हिन्दी, कन्नड, बंगाली र मलयालम भाषाहरूमा रिलिज हुनेछ। यो पहिलो पान इन्डिया फिल्म हो, जुन बंगालीमा पनि रिलिज हुनेछ। फिल्म स्ट्यान्डर्ड, थ्रीडी, आइम्याक्स, फोरडीएक्स, डी–बक्स ढाँचामा रिलिज हुनेछ ।