नेपालको सान्त्वना जित, अफगानिस्तानलाई एक विकेटले हरायो
काठमाडौँ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले सान्त्वना जित हासिल गरेको छ । नेपाली टोलीले मंगलबार खेलिएको आफ्नो तेस्रो खेलमा अफगानिस्तानमाथि एक विकेटको रोमाञ्चक जित हासिल गर्यो ।
प्रतियोगिता संयुक्त अरब इमिरेट्स (यूएई) मा भइरहेको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको अफगानिस्तानले निर्धारित ५० मध्ये ३५.४ ओभरमै अलआउट हुनुअघि एक सय २३ रनमात्र बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ४१.३ ओभरमा नौ विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको हो ।
नेपालको जितमा नरेन साउदले २६ रनको योगदान गरे । कप्तान हेमन्त धामीले पनि अविजित २२ रन बनाए । अर्जुन कुमालले २१ रनको योगदान गरे । अविषेक तिवारीले टोलीको खातामा १३ रन थपे ।
त्यसअघि अफगानिस्तानका लागि फैसल खानले ५२ रन बनाएका थिए । अफगानिस्तानलाई सस्तोमा समेटन नेपाली बलर युनिस ठकुरीले तीन विकेट लिए । उनले १० ओभरमा तीन मेडन राख्दै केवल २४ रन खर्चिएका थिए । सन्तोष यादवले पनि तीन विकेट हात पारे । उनले ४.४ ओभरमा २२ रन खर्चिए । हेमन्त धामी र अविषेक तिवारीले पनि दुई–दुई विकेट लिए ।
नेपाली टोली यसअघि नै उपाधि होडबाट भने बाहिरिइसकेको छ । यो नेपालको अन्तिम खेल हो । यसअघि खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली श्रीलंकासँग र दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो ।