निभा शाहका तीन कविता
१) जीवन र मृत्यु
मलाई जीवन पनि मन पर्छ
मलाई मृत्यु पनि मन पर्छ
मृत्यु छ र त जीवन छ
जीवन छ र त मृत्यु छ
तर म दुवैका विरुद्ध लड्छु
जीवन सुन्दर बनाउन
मृत्युसँग लड्छु
मृत्यु सुन्दर बनाउन
जीवनसँग लड्छु
म दुवैका विरूद्ध लड्छु
र अविराम युद्ध लड्छु ।
००
२) मनसरा
पसिना बगेर
दुनियाँ बदलिने भए
भरियाको दुनियाँ
उहिल्यै बदलिसक्थ्यो मनसरा
रगत बगेर
दुनियाँ बदलिने भए
जनताको दुनियाँ
उहिल्यै बदलिसक्थ्यो मनसरा
जब कि मनसरा
रगत–पसिनाले नै दुनियाँ बदलिने हो
रगत–पसिनाले नै नबदलिएको दुनियाँ
किन बदलिएन
कहिल्यै आगो भरभराएको सुन्यौ मनसरा ?
आगो बोलिरहेछ मनसरा ।
आफूले चिरेका दाउरा
अरूले नै बालेपछि
आगो आफ्नो हुँदैन मनसरा
आगो आफ्नो नहुनेको
उज्यालो आफ्नो हुँदैन मनसरा
उज्यालो आफ्नो नहुनेको
दुनियाँ आफ्नो हुँदैन मनसरा
आगो भरभराएको सुन्यौ मनसरा ?
आगो बोलिरहेछ मनसरा ।
आफूले खोरिया खनेको खेत
अरूकै नाममा दर्ता भएपछि
माटो आफ्नो हुँदैन मनसरा
माटो आफ्नो नहुनेको
पेटभरि अन्न हुँदैन मनसरा
पेटभरि अन्न नहुनेको
दुनियाँ बदलिँदैन मनसरा
आगो भरभराएको सुन्यौ ?
आगो बोलिरहेछ मनसरा ।
आफूले बोकेको बन्दुक
अरूले नै शासन गरेपछि
सत्ता आफ्नो हुँदैन मनसरा
सत्ता आफ्नो नहुनेको
दुनियाँ बदलिँदैन मनसरा
आगो भरभराएको सुन्यौ ?
आगो बोलिरहेछ मनसरा
आगोको आवाज सुन मनसरा !
००
३) बुधनी
अचेल ! अचेल !
जङ्गलबाट सहर पसेका
महलमा बसेका
लाल ख्वामितहरू भनिरहेछन्—
बुधनी, तिमी बुद्ध जन्माऊ
बुधनी रानी हो र ?
बुद्ध जन्माउँछे ।
बुधनी दास हो, दास !
दासहरू स्पार्टाकस जन्माउँछन्
स्पार्टाकसहरू जन्माइरहन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण