०६४ सालमा जनताले गरेको विश्वास र भरोसालाई कायम राख्न नसकिएकै हो : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा समाजवादको भ्रूण रोपिसकिएको उल्लेख गर्दै अब यसलाई अघि बढाउँदै लैजानुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको १८ औँ स्थापना दिवसको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उनले समाजवादीको भ्रूण रोपिएकाले यसलाई बढाउँदै लैजाने अबको दायित्व भएको बताएका हुन् ।
विगतको गम्भीर समीक्षा गर्दै पार्टी र आन्दोलनलाई नयाँ शिराबाट अघि बढाउन प्रण गरेको उल्लेख गर्दै उनले सबैलाई यसमा सहयोग गर्न पनि आग्रह गरे । अध्यक्ष प्रचण्डले आफ्नो तेस्रो प्रधानमन्त्रीत्व कालमा सुरु गरेका सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका एजेन्डाबाट नै समृद्धिको भ्रूण रोप्ने काम गरिएको उनले स्पष्ट पारे ।
उनले भने– ‘विगतका सबै अनुभवबाट शिक्षा लिँदै मेरा आफ्नै पनि कहाँनेर कमजोरी रहे भन्ने आत्मसमीक्षा गर्दै तेस्रोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा, विभेदका विरुद्ध र सामाजिक न्यायका पक्षमा, आर्थिक सङ्कटको अन्त्य गर्दै समृद्धिको पक्षमा लिएको अठोटसँगै समाजवादको भ्रूण रोप्ने काम गरिएको छ ।’
२०६४ सालमा जनताले गरेको विश्वास र भरोसा कायम राख्न नसकेको उल्लेख गर्दै उनले पार्टीलाई एकताबद्ध गरेर जनभावनाको उच्च सम्मान गर्दै विकास र समृद्धिमा अगाडि जान नसक्दा आन्दोलन पछि परेको बताए । ‘विगतमा राम्रो गर्न खोज्दा खोज्दै पनि केही ठाउँमा आत्मसमीक्षा गर्ने ठाउँमा पुगेकै छौँ’– अध्यक्ष प्रचण्डले भने– ‘हामीले हाम्रा एजेन्डालाई जसरी दृढतापूर्वक अगाडि बढाउनुपर्ने थियो, त्यसमा कमजोरी भयो । हाम्रो वर्ग र समुदायप्रतिको निष्ठा र लगाव कमजोर हुँदै गयो । यसको गहिरो आत्मसमीक्षा गर्ने ठाउँमा हामी आइपुगेका छौँ ।’
आफूहरूले गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्दा केही मध्यपहाडी लोकमार्गलगायतका केही पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण थालनी र गरिब किसानको पक्षमा ऋण मोचनजस्ता काम गरे पनि पार्टी एकतालाई अक्षुण्ण राख्न नसक्दा ती उपलब्धि जनताको बीचमा लैजान नसकेको उनले बताए ।
अध्यक्ष प्रचण्डले थपे– ‘दोस्रो पटक सरकारको नेतृत्व गर्दा हामीले राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयन गर्न सक्यौँ भने नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानको नेतृत्व पनि गर्यौँ । तर पार्टी एकताबद्ध नहुँदा र आम कार्यकर्ता र जनताको पङ्क्तिमा विश्वास डगमगाउँदै जाँदा हामीले गरेका राम्रा काम जनतामा स्थापित गर्न सकिएन ।’
यो सबै परिस्थितिमा पार्टी पुनर्गठन र पुनर्निर्माणको सवालमा बैठकहरू हुने छलफल हुने तर उल्लेख्य प्रगति नहुने बरु दिनप्रतिदिन पार्टी र आन्दोलन कमजोर हुँदै जाने अवस्थाबाट पाठ सिकेर नै आफूले तेस्रो कार्यकाललाई नयाँ ढङ्गले बढाउँदा पार्टी र आन्दोलनमा नै पुनर्जागरण सुरु भएको उनले स्पष्ट पारे ।
आफ्नो नेतृत्वको सरकारले विभिन्न क्षेत्रमा सुधारको थालनी गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले विश्वविद्यालयमा योग्यताका आधारमा जिम्मेवारी दिने मेरिटोक्रेसीको थालनी, कर्मचारीतन्त्रमा हाम्रो होइन राम्रो मान्छेलाई जिम्मेवारी दिने र बेथिति गर्नेमाथि दण्डित गर्ने प्रक्रियाको सुरुवात, वर्षौदेखि रोकिएका शिक्षा ऐन, निजामति ऐन जस्ता कानुन निर्माणलाई अगाडि बढाउने लगायतका महत्त्वपूर्ण काम अघि बढाइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
युक्रेन युद्धमा हताहतको संख्या २० लाख नाघ्यो
-
विमानस्थलबाट अमेरिका तस्करी हुन लागेको गहना सक्कली सुनचाँदीकै रहेको पुष्टि
-
सर्लाहीमा धारिलो हतियार प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ
-
पेटमा क्यान्सर हुनुभन्दा अघि देखिन्छ यी ५ लक्षण
-
२५ करोड प्रकरण : केन्द्रीय कारागारबाट भागेका कुसाङ लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण