बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

विमानस्थलबाट अमेरिका तस्करी हुन लागेको गहना सक्कली सुनचाँदीकै रहेको पुष्टि

बिहीबार, १८ असार २०८३, १८ : ०९
बिहीबार, १८ असार २०८३

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाई-छिपाई अमेरिका पठाउन लागिएको गहनाहरू सक्कली सुन र चाँदी नै भएको पुष्टि भएको छ। 

गत मंगलबार जुत्ता, पाइन्ट र सारी जस्ता गार्मेन्टका सामानभित्र राखेर कुरियरमार्फत तस्करी गर्न खोजिएको अवस्थामा बरामद गरिएका ती गहनाहरूलाई परीक्षण गर्दा सक्कली भएको प्रमाणित भएको हो।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार बरामद गरिएका धातुका गहनाहरूलाई परीक्षणका लागि आज सुनचाँदी व्यवसायी सङ्घ, क्षेत्रपाटी पठाइएको थियो। परीक्षणका क्रममा २८५.९७८ ग्राम सुन र ३ केजी ९१४.६५० ग्राम चाँदी फेला परेको हो। 

बजार मूल्य अनुसार उक्त सुनको मूल्य ६७ लाख ३४ हजार ३५० रुपैयाँ र चाँदीको मूल्य १४ लाख ३८ हजार ४३ रुपैयाँ गरी जम्मा ८१ लाख ७२ हजार ३९३ रुपैयाँ बराबरको गहना रहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

तस्करहरूले वैध रूपमा खरिद गरी 'डिक्लियर' (घोषणा) गरेर लैजानुपर्नेमा कर छल्ने नियतले गार्मेन्टका सामानभित्र लुकाएर लैजान खोजेका थिए। 

बरामद गरिएको उक्त सुन र चाँदीका बारेमा थप अनुसन्धान र कानुनी कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय, गौचरनमा पठाइएको प्रवक्ता एवं प्रहरी उपरीक्षक राज कुमार सिलवालले जानकारी दिए । 

उक्त प्रकरणमा यसअघि नै प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप