बलियो जनकपुरलाई लय गुमाएको चितवनको चुनौती
![बलियो जनकपुरलाई लय गुमाएको चितवनको चुनौती](https://npcdn.ratopati.com/media/news/janakpur-vs-chitwan_twf155el57.jpg)
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय मैदानमा खेल १ बजे सुरु हुनेछ ।
जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ । यो जनकपुरको सातौँ तथा अन्तिम खेल हो । टोलीले यसअघिका ६ खेलमध्ये ५ खेल जित्दै १० अङ्क बटुलेको छ । आजको खेल जितेर टोली अङ्क तालिकामा शीर्ष स्थान पक्का गर्न चाहन्छ ।
यता, चितवनले ६ खेलबाट ३ खेलमा जित र तीन खेलमा हार बेहोर्दै ६ अङ्क बटुलेको छ । आजको खेल जित्दै टोली प्लेअफको सम्भावना कायम राख्न चाहन्छ । तर, टोलीले लय गुमाएको छ । पछिल्ला दुई खेलमा टोली पराजित भएको छ ।
चितवनका लागि रवि बोपाराले सर्वाधिक १८९ रन बनाएका छन् । उनको उच्च स्कोर ५९ रन रहेको छ । त्यस्तै, कप्तान कुशल मल्लले १३० रन जोडेका छन् । बलिङतर्फ रिजन ढकालले ११ विकेट लिएका छन् भने सोहेल तनवीरले १० विकेट हात पारेका छन् ।
जनकपुर बोल्ट्सका लागि लिहारु मिलान्थाले सर्वाधिक १९१ रनको योगदान दिएका छन् । उनको उच्च स्कोर ७५ रन नटआउट रहेको छ । अनिल साहले १२४ रन बनाएका छन् । उनको उच्च स्कोर ६२ रहेको छ । बलिङतर्फ ललित राजवंशीले ११ विकेट लिएका छन् भने किशोर महतोले १० विकेट हात पारेका छन् ।
जनकपुर बोल्ट्स ड्रिम स्पोर्टस प्रालिको स्वामित्वमा रहेको क्लब हो । ड्रिम स्पोर्टस प्रालिले जनकपुर बोल्ट्सलाई दुई करोड पाँच लाख रुपैयाँमा खरिद गरेको हो । आसिफ शेख जनकपुर बोल्ट्सका मार्की खेलाडी हुन् । जनकपुर बोल्ट्सका प्रमुख प्रशिक्षक पुबुदु दासानायके हुन् ।
चितवन राइनोज चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको क्लब हो । चितवन राइनोजलाई चितवन मेडिकल कलेजले एक करोड ७६ लाख एक हजार रुपैयाँमा खरिद गरेको हो । चितवन राइनोजका मार्की खेलाडी कुशल मल्ल हुन् । चितवन राइनोजका प्रमुख प्रशिक्षक उमेश पटवाल हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल र हमासले छोडे १५ महिना लामो युद्ध, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने
-
चिसो कालीगण्डकीमा र्याफ्टिङ सञ्चालन
-
१२ बजे १२ समाचार : काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रवि रिहादेखि वकिलमाथि कार्यकर्ताको आक्रमण प्रयाससम्म
-
आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड
-
क्यान्सरविरुद्धको सबै एचपीभी खोप ल्याइयो
-
खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार