बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

फ्रिजमा राखेको काँचो दूधमा पाँच दिनसम्म जिउँदो रहन्छ फ्लु भाइरस

आइतबार, ३० मङ्सिर २०८१, १४ : ०६
आइतबार, ३० मङ्सिर २०८१

काठमाडौँ । फ्रिजमा राखिएको काँचो दूधमा पाँच दिनसम्म इन्फ्लुएन्जा वा फ्लूको भाइरस जीवित रहने चेतावनी वैज्ञानिकहरूले दिएका छन् । स्ट्यानफोर्ड विश्वविद्यालयले गरेको नयाँ अध्ययनले यस्तो देखाएको हो ।

दूध दिने गाईवस्तुहरूमा बर्ड फ्लू भएको घटनाहरू यदाकदा सार्वजनिक भइरहेको समयमा अध्ययनको नतिजाले यो नयाँ महामारी बन्ने पो हो कि भन्ने चिन्ता बढाएको छ ।

अध्ययनले काँचो दूध खाँदा एभियन इन्फ्लुएन्जा सर्न सक्ने सम्भावित जोखिम र दूध पाश्चराइजेशनको महत्त्वलाई प्रकाश पारेको स्ट्यानफोर्ड डोअर स्कूल अफ सस्टेनेबिलिटी र स्ट्यानफोर्ड स्कूल अफ इन्जिनियरिङका वरिष्ठ लेखक अलेक्जान्ड्रिया बोहमले बताएका छन्  ।

काँचो दूधमा पाश्चराइज्ड दूध भन्दा बढी लाभदायक पोषक तत्व, इन्जाइम र प्रोबायोटिक्स हुन्छ भन्ने दाबी काँचो दूध सेवनको पक्षपोषण गर्नेहरूको छ । उमालेको दूूधले प्रतिरक्षा र ग्यास्ट्रोइंटेस्टाइनल रोगहरू बढाउन सक्छ भनेर यिनीहरू भन्छन् ।

अमेरिकाको खाद्य तथा औषधि विभाग (एफडीए) ले काँचो दूधलाई दुई सयभन्दा बढी रोगहरूसँग जोडेको छ । कच्चा दूधमा हुने ई.कोलाई र साल्मोनेला जस्ता कीटाणुहरूले विशेषगरी बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका मानिसहरूका लागि गम्भीर स्वास्थ्य जोखिम निम्त्याउने एफडीएको चेतावनी छ ।

जनरल इन्भाइरोन्मेन्टल साइन्स एन्ड टेक्नोलोजी लेटर्स जर्नलमा प्रकाशित अध्ययनमा रेफ्रिजरेटरमा सामान्य तापमानमा राखिएको गाईको काँचो दूधमा मानव इन्फ्लुएन्जा भाइरसको स्ट्रेन पाइयो । अध्ययनका अनुसार काँचो दूधमा एच १ एन १ पीआर ८ नाम गरेको फ्लू भाइरस जीवित रहेको र भाइरस पाँच दिनसम्म संक्रामक रहेको थियो ।

काँचो दूधमा फ्लु भाइरसको आरएनए अणु ५७ दिनसम्म रहने पनि पाइयो । यो अणु स्वास्थ्यका लागि खतरनाक भने नहुने बताइएको छ । दूध उमाल्दा यसमा भएको संक्रामक इन्फ्लुएजा भाइरस पुरै नष्ट भएपनि भाइरल आरएनएको मात्रा ९० प्रतिशत मात्रै हट्ने पाइयो । यसको अर्थ दूध मज्जाले उमाल्दा पनि आरएनए पूर्ण रुपमा भने नहट्ने रहेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप