पर्साको बहुदरमाई नगरपालिकाको सामानमा विद्यार्थीहरूले लगाए आगो
वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिकाको सामानमा विद्यार्थीहरूले आगो लगाइदिएका छन् ।
पठनपाठन ठप्प भएपछि सञ्चालनको माग गर्दै हिजोदेखि आन्दोलित विद्यार्थीहरूको एक समूहले आज बिहान कार्यालयको सामानमा आगो लगाइदिएको नगरपालिकाको कार्यालयले जानकारी दिएको छ ।
नगरपालिकाको कार्यालयभित्र रहेका कुर्सी, टेबल, दराज, कम्प्युटरसहित केही कागजातहरु बाहिर निकालेर आगो लगाइदिएका हुन् ।
नगरपालिकाको कार्यालय नजिकै रहेका नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूले आगो लगाएका हुन् ।
आफ्नो स्कुलमा बिहीबारदेखि पठनपाठन ठप्प भएपछि सञ्चालनको लागि कुनै पहल नभएको भन्दै आक्रोशित विद्यार्थीहरूले शुक्रबार बिहान कार्यालयको सामानमा आगो लगाएको जनाइएको छ ।
बहुदरमाईका शिक्षकहरू लामो समयदेखि तलब नपाएपछि बिहीबारदेखि पठनपाठन ठप्प पारेका छन् ।
शिक्षकहरूले स्कुलमा पठनपाठन ठप्प पारेपछि विद्यार्थीहरूले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको सोही वडाका वडाध्यक्ष सुरेन्द्र यादवले बताए ।
‘तर तालाबन्दी गर्दा पनि मेयर सिंगासन साह तेलीबाट कुनै किसिमको पहल नभएपछि विद्यार्थीहरू झन् आक्रोशित बन्दै आगो लगाइदिएका हुन,’ उनले भने ।
उनका अनुसार विद्यार्थीहरूले आगो लगाउँदा कार्यालयको धेरै सामान जलेर नष्ट भएको छ । यो सब मेयरको हठका कारण भइरहेको उनको आरोप छ ।
बहुदरमाई नगरपालिकाको नगर परिषद् भएको झन्डै तीन महिना पुग्न लागेको छ । नयाँ आर्थिक वर्ष सुरु भएको ६ महिना बितिसक्दा पनि बहुदरमाई नगरपालिकाले अहिलेसम्म आफ्नो बजेट परिचालन गर्न सकेको छैन ।
मेयर तेलीले नगर सभाबाट पारित निर्णय हस्ताक्षर नगर्दा बजेट खर्च हुन नसकेको नगरपालिकाको कार्यालयले जनाएको छ । सरकारी प्रावधान अनुसार नगरसभा भइसकेपछि सरकारको सफ्टवेयरमा बजेट ‘इन्ट्री’ हुन्छ । त्यसपछि ‘रेडबुक’ को शीर्षक अनुसार बजेट खर्चका लागि पालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर गर्नुपर्ने प्रावधान छ ।
यसरी दुवै जनाको हस्ताक्षर भइसकेपछि कोष तथा लेखा नियन्त्रणको कार्यालयले खाता सञ्चालनका लागि प्रक्रिया अगाडि बढाउँछ । त्यसपछि मात्र पालिकाले आर्थिक कारोबार गर्न पाउने नीति छ ।
तर मेयर तेलीले यही नगर सभाबाट पारित निर्णयमा हस्ताक्षर नगर्दा बजेट खर्च हुन नसकेको वडाध्यक्षहरुको भनाइ छ ।
मेयर तेलीको हठका कारण नगरपालिकाको विकास निर्माणदेखि लिएर कार्यालय सञ्चालन गर्नसमेत कठिनाइ आएको वडा नम्बर– ९ का वडाध्यक्ष रवीन्द्र गुप्ताले बताए ।
उनका अनुसार बजेट खर्च नहुँदा शिक्षकहरूको तलब, स्वास्थ्यकर्मीहरूको तलब, दिवा खाजा, सामाजिक सुरक्षा भत्तासहितका सेवाहरू पूर्णरुपमा ठप्प भएका छन् ।
एक वडाध्यक्षका अनुसार खासमा विवाद हो– ६ नम्बर वडाको । यो वडामा वडाध्यक्ष र वडा सदस्यहरूमा आन्तरिक विवाद छ, जुन कारणले वडा परिषद् हुन सकेको थिएन ।
मूलतः विवादको जड यही रहेको उनी बताउँछन् । ‘त्यसपछि दुबैजनामा मनमुटाब बढ्दै गयो , अनि अहिले वारपारको स्थितिमा पुगेको छ,’ उनले भने ।
तर मेयर तेलीले भने यो सब राजनीतिक भइरहेको बताए । उनले भने, ‘विद्यार्थीहरूलाई अगाडि सारेर राजनीतिक भइरहेको छ, यो सब कर्मचारीको सरुवाको विवाद हो । तर अहिले विद्यार्थीहरूलाई अगाडि सारेर रोटी सेक्ने काम भइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खरिपाटी होल्डिङ सेन्टरका सुकुमबासीको आक्रोश– हामी गोली थाप्छौँ, तर होल्डिङ सेन्टर छोड्दैनौँ
-
आँधीले जापानमा उडान प्रभावित
-
जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन
-
रास्वपाले लिएको सामाजिक लोकतन्त्रबारे एक दृष्टि
-
सहायक प्रमुख जिल्ला अधिकारीको खानामा किरा भेटिएपछि होटललाई ५० हजार जरिवाना
-
नाचेर भोट माग्दै रास्वपाका उम्मेदवार, तस्बिरमा हेर्नुहाेस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण