सुदूरपश्चिमलाई सजिलै हराउँदै एपीएफलाई उपाधि

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) ले जितेको छ । शनिबार भएको फाइनल खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराएको हो ।
सुदूरपश्चिम प्रदेशले प्रस्तुत गरेको ६८ रनको लक्ष्य एपीएफले १२.५ ओभरमा १ विकेटको क्षतिमा पछ्यायो । टोलीका लागि ममता चौधरीले सर्वाधिक ४३ रनको योगदान दिइन् । उनले ४३ बलको सामना गर्दै ५ चौका प्रहार गरिन् ।
कप्तान इन्दु वर्माले २० बलमा २ चौका हिर्काउँदै १८ रन जोडिन् । ओपनर रजमति ऐरी भने ४ रन बनाएर रनआउट भएकी थिइन् । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १८.१ ओभरमा सबै विकेट गुमाएर ६७ रन बनाएको थियो । टोलीका लागि मनीषा बोहोराले सर्वाधिक १८ रनको योगदान दिइन् । उनले २३ बलमा ३ चौका प्रहार गरिन् ।
कप्तान बिन्दु रावलले २४ बलको सामना गर्दै १७ रन बनाइन् । उनले २ चौका हिर्काइन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । ओपनर रेवती धामी र रितु कनौजियाले ७–७ रन बनाए । एपीएफका लागि कविता जोशीले ४ ओभर बलिङ गर्दै १८ रन खर्चेर ३ विकेट लिइन् । शबनम राई र कप्तान इन्दु वर्माले २–२ विकेट तथा करुणा भण्डारीले १ विकेट हात पारिन् ।