भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित
चितवन । भारतीय सीमा क्षेत्रबाट अवैध रूपमा सेतो अण्डा भित्रिएपछि चितवनको अण्डा बजार प्रभावित भएको छ । यही कारण लामो समयपछि लागत मूल्य पाउन सफल कुखुरापालक किसान निराश भएका छन् ।
नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार भारतीय सीमा क्षेत्र र नजिकका बजारहरूमा सेतो अण्डा भित्रिएपछि बजार प्रभावित भएको हो । उनले भने, “सीमा क्षेत्रमा ३० प्रतिशत हाराहारी सेतो अण्डा देखिएको छ ।” रोगको सङ्क्रमणका कारण कानुनी रूपमा प्रतिबन्धित अण्डा निर्बाध रूपमा सीमा क्षेत्र पार गरेर आएको किसानहरूको गुनासो छ ।
पोखरेलले किसानले लागत मूल्य पाएर केही हदसम्म राहत पाउन थालेको बेला एकाएक भारतीय अण्डा भित्रिएपछि बजारमा समस्या देखिएको बताए । यसअघि पनि बेलाबेलामा समस्या आउँदा गृह प्रशासनको ध्यानाकर्षण गराएपछि समस्या केही हदसम्म समाधान हुने गरेको उनको भनाइ छ ।
सङ्घका महासचिव भेषराज अर्यालका अनुसार एक महिना अघिसम्म प्रतिक्रेट (३० वटा) अण्डाको फार्म मूल्य रू ५१५ मा बिक्री भएकामा यो रेट घटेर रू ३७० मा झरेको थियो । माघ २१ गतेदेखि ठुला अण्डा प्रतिक्रेट रू ४०० पुगेको छभने मझौला रू ३८५ रहेको छ । मुख्य रूपमा भारतीय अण्डाको प्रवेशसँगै पर्यटकको आगमनमा कमी, स्कुल, कलेजमा जाडो बिदा, बढी जाडो, स्वस्थानी व्रतलगायत कारण अण्डाको मूल्यमा गिरावट आएको अर्यालले बताए । क्रमशः बजार सुधार भएर मूल्य बढ्न थालेको भन्दै उनले सीमा क्षेत्रमा कडाइ गरिएमा अण्डाले लागत मूल्य पाउने बताए ।
अण्डा उत्पादन र बजारीकरण गर्दै आएका युवा व्यवसायी अमोद खनालका अनुसार नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा रू १६ दशमलव ५६ पर्न आउँछ । लामो समय अण्डाले मूल्य नपाउँदा धेरै किसान विस्थापित भइसकेको उनले बताए । उनले भने, “सरकारले भारतीय अवैध अण्डा रोक्नुपर्छ । जसले नेपालको आत्मनिर्भर बनेको अण्डा उत्पादन क्षेत्रलाई जीवित राख्छ ।”
सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेका अनुसार सीमा क्षेत्रबाट कुनै पनि अवैध वस्तु भित्र्याउन पाइन्छ । गुनासो आएको भन्दै कडाइका साथ रोक्न निर्देशन दिई सकिएको उनले बताए । उनले भने, “अण्डाका विषयमा गुनासो आएको छ । यससम्बन्धी ध्यानाकर्षण भएर आवश्यक निर्देशन भइसकेको छ ।” खुल्ला सिमाना भएकाले काममा कठिनाइ भएको भन्दै उनले यद्यपि मिलेमतोमा अवैध रूपमा अण्डा भित्रन नदिइने बताए । नेपालमा अहिले दैनिक ३२ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण