गोर्खाली रग्बी सेभेन्स पुरूष राष्ट्रिय रग्बी आजदेखि

काठमाडौँ । ‘स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ भरतपुरमा शुक्रबारदेखि दुई दिने राष्ट्रिय रग्बी प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता गोर्खाली रग्बी क्लबको आयोजना र नेपाल रग्बी संघको प्राविधिक सहयोगमा सञ्चालन हुन लागेको हो ।
२०७४ सालदेखि संघले आयोजना गरेका विभिन्न राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै आए पनि यसपटक आफैले प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी आयोजक क्लवका अध्यक्ष हरेराम कार्कीले दिए ।
प्रतियोगितामा प्रथम हुने टोलीलाई दुई लाख, दोस्रो हुने टोलीलाई एक लाख रूपैयाँ र सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी र इटालियन सुट प्रदान गरिने जानकारी रग्बी संघ चितवनका अध्यक्ष सुमन पौडेलले जानकारी दिए ।
प्रतियोगितामा कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, मधेस प्रदेश, आयोजक क्लब, नेपाल आर्मी र सशस्त्र प्रहरीको एक–एक सातवटा टोलीको सहभागिता रहने बताइएको छ । प्रतियोगिताको उद्घाटन भरतपुर महानगरपालिकाकी नगर प्रमुख रेनु दाहालले गर्ने आयोजकले जनाएको छ ।
खेल तालिकाअनुसार पोल ‘ए’ मा सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल आर्मी, मधेश प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् भने पोल ‘बी’ मा गण्डकी प्रदेश, आयोजक गोर्खाली रग्बी क्लब र कर्णाली प्रदेश रहेका छन् ।