जसलाई महिला दिवसले छोएन...
पाल्पा । बगनासकाली गाउँपालिका–२ घोरबन्दकी सुन्तली कुमालको दिन ज्याला मजदुरीमै बित्ने गर्छ । अकाशिएको महँगीसँगै छोराछोरीको पढाइ खर्च र बिहानबेलुकाको हातमुख जोड्ने जोहो गर्न दैनिक रूपमा काममा निस्कनु उनको बाध्यता हो ।
झिसमिसेमा उठेर घरको काम र त्यसपछि ज्यालादारीमा निस्कनु कुमालको दैनिकी नै हो । बिहान र दिउँसोको चर्को घाममा इँटा, ढुङ्गा, बालुवा र माटोको काममा नै उनको समय बित्ने गर्छ । दैनिक ज्यालादारीमा काम गर्ने र त्यही ज्यालाले बिहानबेलुकाको गर्जो टार्दै आएको उनले बताइन्। तानसेनको भगवती टोलमा घर निर्माणका लागि बालुवा उठाउँदै गरेको अवस्थामा भेटिएकी कुमालले भनिन्, “महिला दिवस हामीजस्ता दुःखीका लागि कागलाई बेल पाक्यो, हर्ष न विस्मात । यो त राम्रो कमाउने र रमाउनेका लागि हो ।”
यस्तै डुम्रेकी रमिता विकको पनि उस्तै समस्या छ । तानसेनमा तरकारी र फलफूल बेचेरै उनले दैनिकी गुजारिरहेकी छिन् । “बिहानै गाउँमा गई तरकारी ल्याएर छोरालाई खाना पकाएर खुवाएपछि म डोको बोकेर निस्कन्छु”, शनिबार नारायणस्थानमा तरकारी बेच्दै गरेको अवस्थामा भेटिएकी उनले भनिन्, “दिनभरि बजार डुलाएर तरकारी, फलफूल बेच्छु । त्यही कमाइले छोराको पढाइ खर्च र बिहानबेलुका हातमुख जोड्छु, यो मेरो दैनिकी नै हो ।”
तानसेनको बजारमा भारी बोकेर दैनिकी चलाउँदै आएकी घोरबण्डाकी ४९ वर्षीया मीना कुमाल सधैँजस्तै शनिबार पनि हातमा नाम्लो लिएर काम गर्न निस्किइन् । कुमाल तानसेनका किराना पसलमा भारी बोक्ने काम गर्छिन् । “भारी नबोकी खान पुग्दैन । छाक टार्न काम गर्नैपर्छ”, कुमालले भनिन् ।
यस्तै, तानसेन अर्चेलेकी सुमित्रा पुन पनि तानसेनमै ज्याला मजदुरी गर्दै आएकी छिन् । कैलाशनगरमा बारी खन्दै गरेको अवस्थामा भेटिएकी उनले अन्तरराष्ट्रिय महिला दिवसबारे सुनेकी छैनन् । “हामीलाई त कामबारे मात्रै थाहा छ”, उनले भनिन् । महिलाको हक, अधिकारका बारेमा विभिन्न दलहरूको वकालत सुन्दै आएकी पुन जीविकोपार्जनका लागि सानै उमेरदेखि मजदुरी गर्दै आएको बताउछिन्। दिवसका बारेमा आफूलाई पूर्ण रूपमा जानकारी नभएको भन्दै उन भनिन्, “महिला दिवसमा सबैले मीठो मसिना खाने र रमाइलो गरेर मनाउँछन् होला, खै हाम्रो त कमाइ केही छैन, के खानु के रमाउनु ? एक दिन काम नगरे साँझ चुलो बल्दैन ।”
जिल्लामा सयौँ महिला मजदुर दैनिक मजदुरी गर्दै आएका छन् । शनिबार देशैभर विभिन्न कार्यक्रम गरी एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइरहँदा जिल्लाका अधिकांश मजदूरी गर्ने महिलालाई भने यसले छोएन । श्रमिक महिला सधैँजस्तै भारी बोकिरहेका छन् । एक दिन काम नगर्दा उनीहरूलाई हातमुख जोर्न मुस्किल पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्सीको लतमा फस्नुअघि पेलेको चमकसमेत फिका पार्ने फुटबलका सुपरस्टार
-
इजरायलद्वारा इरानको पेट्रोकेमिकल केन्द्रमा आक्रमण
-
चीनको सुँगुर प्रजनन फार्ममा आगलागी, ५ जनाको मृत्यु
-
पश्चिम एसियामा तनाव बल्झिएसँगै एसियाली सेयर बजारमा पहिरो
-
स्थानीय तहको अधिकार र स्वायत्तता माग्दै माइतीघरमा जनमत पार्टीको प्रदर्शन
-
इजलासमा फर्किइन् सपना प्रधान मल्ल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण