क्रिप्टो र जुवामा ३० करोड कारोबार, पोखराबाट ५ जना पक्राउ
पोखरा । क्रिप्टो कारोबार र अनलाइन जुवा खेलाएको आरोपमा पोखराबाट ५ जना पक्राउ परेका छन् ।
एकाघरका उनीहरूलाई गोप्य सूचनाका आधारमा पोखरा महानगरपालिका–१४ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पर्वतको जलजला गाउँपालिका स्थायी घर भई पोखरा–१४, अनुपमटोलमा बस्दै आएका ३१ वर्षीय रुपेन्द्र जिसीको घरबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा जिसीसहित म्याग्दी बेनी नगरपालिका–५ का ३३ वर्षीय विक्रम बानियाँ, बेनी–२ का २२ वर्षीय सज्जन घिमिरे, म्याग्दीकै रघुगंगा–२ का १९ वर्षीय रोजन केसी र रघुगंगा–२ कै २८ वर्षीय सन्दीप कटुवाल छन् ।
विक्रम र सज्जन घरधनी रुपेन्द्रका फुपूका छोरा हुन् । रोजन सानीआमाका छोरा हुन् भने सन्दीप बहिनीज्वाइँ हुन् । विक्रमले पोखराको चिप्लेढुंगामा फेन्सी पसल चलाउँछन् भने सन्दीपले फुट स्टेप नामक कन्सल्टेन्सी चलाउँदै आएका प्रहरीले जनाएको छ । अर्का रोजन र सञ्जन स्नातक पढ्दै छन् ।
सामाजिक सञ्जाल ह्वाट्स एप, टेलिग्राम, क्यास एप, क्राइम एप लगायतमार्फत सट्टेबाजीमा १५ करोड र अभौतिक मुद्राको १५ करोड गरी उनीहरूबाट ३० करोड बराबर कारोबार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
१० वर्षदेखि अमेरिकामा काम गर्दै आएका रुपेन्द्र आईटी इन्जिनियर हुन् । पीएचडीसमेत गर्दै गरेका उनी १ महिनाअघि मात्र छुट्टीमा पोखरा आएका कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।
उनीहरूलाई पक्राउ गर्न ओलियाकै नेतृत्वमा प्रहरी टोली खटिएको थियो । उनीहरूलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
उनीहरूले आफ्नो र आफन्तको नाममा विभिन्न बैंकहरूमा खाता खोली अवैध कारोबार गरेको भेटिएको सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
जिसीको घरबाट दैनिक तीन सिफ्टमा अनलाइन खेल खेलाउने काम भएको थियो । जसमा एक सिफ्टको ३ हजार डलरसम्म लिने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको शर्माले बताए ।
उनीहरूको साथबाट प्रहरीले ३१ थान मोबाइल बरामद गरेको छ । यस्तै २ थान कम्प्युटर मनिटर, ३ थान सीपीयू, ४ थान ल्यापटपलगायत विभिन्न उपकरण एवं ७२ हजार ५ सय नगद बरामद गरेको छ ।
उनीहरूलाई अभौतिक मुद्रा प्रयोग र जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण