सोमबार, १९ जेठ २०८२
ताजा लोकप्रिय
विधेयक मस्यौदा

बदनियत साथ दुर्घटना गराउने चालकको कैद तथा सजाय घटाउने गरी विधेयक ल्याउने तयारी

शुक्रबार, ०१ चैत २०८१, १४ : ००
शुक्रबार, ०१ चैत २०८१

काठमाडौँ । बदनियत साथ सवारी दुर्घटना गराइ कुनै पनि व्यक्ति अङ्गभङ्ग भएमा चालकलाई हुने कैद तथा सजाय घटाउने गरी विधेयक ल्याउने तयारी भइरहेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायातको व्यवस्था गर्न बनेको विधेयक २०८१ को मस्यौदामा यस्तो सजाय परिमार्जन गरेको हो । विधेयकको मस्यौदालाई वेबसाइटमा प्रकाशित गरी मन्त्रालयले सरोकारवालासँग सुझाव माग गरेको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा बदनियतसाथ सवारी दुर्घटना गराई अङ्गभङ्ग भएमा १० वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ । साथै खत निको भइ काम लाग्ने भएमा सवारी चालकलाई पाँच हजार रुपैयाँ जरिबाना गर्ने व्यवस्था छ ।  

सवारी तथा यातायातको व्यवस्था गर्न बनेको विधेयक २०८१ को मस्यौदामा बदनियतसाथ सवारी दुर्घटना गरी शरीरका कुनै अङ्ग बेकम्मा भएमा बदनियतसाथ सवारी दुर्घटना गराउने चालकलाई तीन वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना गरिने उल्लेख छ । तर एउटै किसिमको काम लिने एउटाभन्दा बढी अङ्ग हुनेमा सोमध्ये एउटा अङ्गमात्र बेकम्मा भएमा १ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिबाना हुनेछ । सो खत निको भइ काम लाग्ने भएमा त्यस्तो सवारी चलाउने व्यक्तिलाई दश हजार रुपैयाँ जरिबाना हुनेछ ।

यसैगरी बदनियतसाथ सवारी दुर्घटना गरी कुनै व्यक्तिको दृष्टि गुमेमा वा नपुङ्सक भएमा सवारी चालकलाई तीन वर्षदेखि पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना हुने व्यवस्था गरेको छ ।

चालक अनुमति पत्र नभएको व्यक्तिले सवारी चलाइ बदनियतसाथ सवारी दुर्घटना गरी व्यक्ति दृष्टि गुमेमा वा नपुङ्सक भएमा निजलाई सो उपदफा बमोजिम हुने सजायमा दश हजार रुपैयाँ थप जरिबाना हुनेछ ।

  • लाइसेन्स नभएका व्यक्तिले चलाएको सवारी दुर्घटनामा पनि सजाय घटाउने तयारी

सवारी लाइसेन्स नभएको व्यक्तिले सवारी चलाइ दुर्घटना गरी अङ्गभङ्ग भएमा हुने सजाय पनि घटाउन विधेयकको मस्यौदामा प्रस्ताव गरिएको छ । मस्यौदा विधेयकमा सवारी धनीले चालक अनुमतिपत्र नभएको व्यक्तिलाई सवारी चलाउन दिएको बेला मानिसलाई किची, ठक्कर लागि अङ्गभङ्ग  भएमा त्यस्तो सवारी चलाउन दिने व्यक्तिलाई पचास हजार रुपैयाँ जरिबाना हुने व्यवस्था छ । यसअघिको ऐनमा पाँच वर्षसम्म कैद र १५ हजार रुपैयाँ जरिबाना हुने व्यवस्था थियो ।

  • ज्यान मार्ने मनसायले सवारीले मानिसलाई किचेर मृत्यु भएमा जन्मकैद

मस्यौदा विधेयकमा सवारी साधन चलाउँदा ज्यान मार्ने मनसाय लिइ मानिसलाई किची मृत्यु भएमा जन्मकैद सजाय हुने व्यवस्था गरेको छ । यस्तो कार्यबाट ज्यान मर्न पाएको रहेनछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई कसुरको मात्रा अनुसार पाँच वर्षदेखि १२ वर्षसम्म कैद हुनेछ ।

यसैगरी ज्यान मार्ने मनसाय नभइ लापरवाहीपूर्वक सवारी चलाएको कारणबाट सवारी दुर्घटना हुँदा कुनै मानिसको मृत्यु भएमा कसुरको मात्रा अनुसार तीन वर्षदेखि दश वर्षसम्म कैद र बीस हजारदेखि एक लाख रुपैयाँसम्म र थप २० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था विधेयकको मस्यौदामा छ ।

यस्तो कसुरमा सवारी तथा यातायात व्यवस्थापन ऐन २०४९ मा ३० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबानाको व्यवस्था थियो ।

कसैको ज्यान मर्न सक्छ भन्नेजस्तो नदेखिएको अवस्थामा कसैले कुनै सवारी चलाउँदा सवारी दुर्घटना हुन गइ मानिसको मृत्यु भएमा चालकलाई एक वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था मस्यौदामा राखिएको छ । यसअघि यस्तो कसुरमा एक वर्षसम्म कैद वा दुई हजार रुपैयाँ जरिबाना हुने व्यवस्था थियो ।

  • सवारी दुर्घटनामा मृत्यु, अङ्गभङ्ग भएमा यस्तो छ व्यवस्था

सवारी दुर्घटनाबाट कुनै पक्षलाई कुनै किसिमको हानि नोक्सानी पुग्न गएमा पीडित पक्षलाई उपचार गर्दा भएको खर्च, किरिया खर्च र क्षतिपूर्तिको रकम चालक वा सवारी धनीबाट भराइदिनु पर्ने व्यवस्था प्रस्तावित विधेयकको मस्यौदामा छ । ज्यान मरेकोमा सो मृतकको हकवालालाई किरिया खर्च बापत पचास हजार रुपैयाँ र क्षतिपूर्ति बापत तेस्रो पक्षको बीमा नगराएको भए तेस्रो पक्षले पाउने दुर्घटना बीमाको रकम दिनुपर्ने प्रावधान मस्यौदामा छ ।

अङ्गभङ्ग भएकोमा निको हुँदासमेत त्यस्तो अङ्ग काम नलाग्ने भए सोको क्षतिपूर्ति बापत तेस्रो पक्ष बीमा नगराएको भए तेस्रो पक्षले पाउने अङ्गभङ्ग बापतको दुर्घटना बीमाको रकम र त्यस्तो अङ्ग काम लाग्ने भए उपचार गर्दा भएको खर्च खर्चबापत पचास हजार रुपैयाँ दिनुपर्ने व्यवस्था गर्न लागिएको छ । अहिले प्रचलित कानुनमा अङ्ग काम लाग्ने भए २५ हजार देखि ५० हजार रुपैयाँसम्म दिनुपर्ने व्यवस्था थियो ।

सवारी दुर्घटनाबाट कुनै व्यक्तिको मृत्यु भएमा मृतकको हकवालालाई किरिया खर्च र क्षतिपूर्ति रकम र अङ्गभङ्ग भएको भए सो हुने व्यक्तिलाई उपचार गर्दा भएको खर्चको रकम बमोजिम प्रमुख जिल्ला अधिकारीले तत्कालै सवारी चालक वा सवारीधनीबाट भराइदिनु पर्ने व्यवस्था गर्न लागिएको छ ।

सवारी दुर्घटना भइ कुनै व्यक्तिलाई चोटपटक लागेमा त्यस्तो व्यक्तिलाई तत्कालै औषधि खर्च बापत प्रमुख जिल्ला अधिकारीले चोटपटकको स्थिति विचार गरी चालक वा सवारी धनीबाट पचास हजार रुपैयाँसम्म दिलाउनुपर्ने व्यवस्था मस्यौदामा राखिएको छ । त्यस्तो चोट पटक लाग्ने व्यक्तिले पछि बढी रकम क्षतिपूर्ति पाउने भएमा त्यसरी औषधि खर्च बापत दिएको रकम कट्टी गरी बाँकी पाउने रकम दिइने व्यवस्था गर्न लागिएको छ ।

उपचार खर्च, किरिया खर्च र क्षतिपूर्तिको कुल रकमको पाँच प्रतिशतभन्दा बढी चालकबाट नभराइने व्यवस्था प्रस्तावित विधेयकमा छ ।

मुख्य लोकमार्ग र सहरी सडकहरूमा घरपालुवा पशुपंछी छोडेको र अन्य कारणले सडक दुर्घटना भएमा सम्बन्धित पशुपंछी धनी वा कारकबाट त्यस्तो दुर्घटनाबाट भएको क्षतिको मनासिव माफिकको अतिपूर्ति भराउन सकिने व्यवस्था प्रस्तावित विधेयकमा छ ।

मादकपदार्थ सेवन गरी सवारी साधन चलाएर दुर्घटना वा अन्य भौतिक क्षति हुन गएमा त्यस्तो सवारी चालकलाई यस ऐनमा उल्लेखित जरिबानाका अतिरिक्त मनासिव माफिकको क्षतिपूर्तिसमेत भराउन सकिने व्यवस्था विधेयकको मस्यौदामा छ ।

कुनै चालकले लापरवाही  वा बदनियतपूर्वक यस ऐनको नियम वा आदेशको उल्लङ्घन गरेकोमा बाहेक अन्य अवस्थामा चालकले तिर्नुपर्ने जरिबाना, घा खर्च, किरिया खर्च वा क्षतिपूर्तिको रकम सम्बन्धित फर्म वा कम्पनी वा अन्य संगठित संस्थाले तिरिदिनु पर्ने छ तर चालकको काबु बाहिरको परिस्थितिबाट दुर्घटना भइ कुनै हानि नोक्सानी पुग्न गएमा सवारी चलाउने चालकलाई कुनै सजाय हुने छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप