चर्चित विद्यालयका प्रमुखसँग शिक्षामन्त्रीको छलफल, भर्ना प्रक्रिया पारदर्शी बनाउन निर्देशन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले केही चर्चित विद्यालयका प्रिन्सिपलहरूसँग छलफल गरेकी छन् । सेन्ट मेरिज, सेन्ट जेभिएर्स, रातो बंगला, बुढानीलकण्ठ स्कुल, एस.ओ.एस बालग्राम, नेपाल सैनिक विद्यालय, नेपाल प्रहरी स्कुल र गण्डकी बोर्डिङ स्कुलका प्रमुखहरूसँग छलफल गरेकी हुन् ।
छलफलका क्रममा मन्त्री भट्टराईले आगामी शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना प्रक्रिया, शुल्क व्यवस्थापन, छात्रवृत्ति वितरण, विद्यालयको सामाजिक उत्तरदायित्व र कार्यरत शिक्षक कर्मचारीको सामाजिक सुरक्षा लगायतका विषयमा जानकारी माग गरेकी थिइन ।
छलफलका क्रममा मन्त्री भट्टराईले सबै विद्यालयले निष्पक्ष र समान अवसर प्रदान गर्ने भर्ना प्रणाली लागू गर्नुपर्ने बताएकी थिइन् ।
भर्ना प्रक्रिया पूर्ण रूपमा पारदर्शी हुनुपर्ने तथा शिक्षा क्षेत्रमा सबैको पहुँच सुनिश्चित गर्दै वर्ग विभाजन हुन नदिने बताइन् । सरकारको नीति र योजना अनुसार सबै शैक्षिक संस्थाहरू सञ्चालन हुनुपर्ने, शैक्षिक क्यालेन्डरको कडाइका साथ पालना गर्नुपर्ने र विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्धता हुनुपर्नेमा जोड दिइन् ।
साथै, छात्रवृत्ति वितरणलाई पारदर्शी र सरकारी नियम अनुसार कार्यान्वयन गर्न निर्देशन दिइन् ।
विद्यालयका प्रतिनिधिहरूले पनि छलफलमा आफ्ना धारणा राखेका थिए । सेन्ट मेरिज स्कुलका प्रतिनिधिले नगरपालिकाको निर्देशन अनुसार गोला प्रथाबाट भर्ना लिने गरेको र स्थानीय पालिकाको सिफारिसमा छात्रवृत्ति प्रदान गर्ने गरेको जानकारी गराएका थिए ।
यसैगरी सेन्ट जेभिएर्स स्कुलका प्रतिनिधिले पनि गोला प्रथाबाट भर्ना लिँदै आएको र सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्य गरिरहेको जानकारी गराए ।
बुढानीलकण्ठ स्कुलका प्रतिनिधिले ३० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिइरहेको तर सामाजिक सुरक्षा कोषमा आबद्ध नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’
-
इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी
-
सरकार ! एउटा प्रेम अदालत गठन गर् !
-
दानव नदीमा डुबेर बेपत्ता तीनमध्ये एक जनाको शव फेला
-
रास्वपा नेताहरूले भैरहवा आएर भने – लुम्बिनीमा लगानीको सम्भावना छ
-
तीनकुने घटना : ‘सुरक्षा कमजोरी’बारे छानबिन गर्न समिति गठन