शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

८० प्रतिशत अंक पाएको पर्यटन मन्त्रालयको पुँजीगत खर्च जम्मा १५ प्रतिशत

हवाई टिकटमा लगाएको भ्याट हटाउन सांसदको माग
सोमबार, ११ चैत २०८१, २० : ४३
सोमबार, ११ चैत २०८१

काठमाडौँ।  चालू आर्थिक वर्षको पहिलो ६ महिना (साउनदेखि पुससम्म)मा सम्पन्न हुनुपर्ने माइलस्टोन तथा क्रियाकलापमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शत प्रतिशत अंक ल्याएको थियो । 

सो अवधिमा सम्पन्न हुनुपर्ने कामको ३५ प्रतिशत पनि काम नगरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १२ मन्त्रालय फेल हुँदा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले भने ८०.५५ प्रतिशत अंक ल्याएका थिए । 

तर मन्त्रीको रिपोर्ट कार्डमा अब्बल मानिएका उही पर्यटन मन्त्री पाण्डेले सम्हालको मन्त्रालयले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म पुँजीगत खर्च भने १५ प्रतिशत मात्रै गरेको छ । 

प्रतिनिधिसभाअन्र्तगत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको सोमबार बसेको बैठकमा मन्त्रालयको फागुनसम्मको कार्यप्रगतिबारे मन्त्रालयले यस्तो जानकारी दिएको हो ।
चालु आर्थिक वर्ष २०८१/०८२ को विनियोजित ११ अर्ब ९१ करोड २३ लाख थियो । जसमा चालुतर्फ २ अर्ब ४९ करोड १८ लाख बजेटमा फागुन मसान्तसम्म १ अर्ब ३१ करोड ५९ लाख रुपैयाँ अर्थात ५२.२७ प्रतिशत बजेट खर्च भएको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै चालु आर्थिक वर्षको फागुन मसान्तसम्म पुँजीगत खर्च भने न्यून देखिएको छ । विनियोजित पुँजीगत २ अर्ब ७४ करोड ६९ लाख बजेटमा ४४ करोड ९३ लाख रुपैयाँ अर्थात् १५.७३ प्रतिशत मात्रै खर्च भएको समितिलाई जानकारी दिएको छ । मन्त्रालयले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म कुल बजेटमा एक अर्ब ७६ करोड ५२ लाख रुपैयाँ अर्थात् ३२.९७ प्रतिशत मात्रै वार्षिक बजेटमा खर्च गर्न सफल भएको छ ।

सांसदहरूले मन्त्रीहरूको रिर्पोटमा अब्बल मानिने तर मन्त्रालयको बजेट खर्च गर्न नसकेकोमा भने आलोचना गरे । सांसदहरूले मन्त्रीमा अब्बल सावित भएजस्तै मन्त्रालयको पुँजीगत खर्चमा पनि प्राथमिकता दिएर काम गर्न सुझाव दिए । 

नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले मन्त्रालयले पुँजीगत खर्च वृद्धिमा ध्यान दिन आवश्यक रहेको बताए । पर्यटन मन्त्रीले मन्त्रालयको पुँजीगत खर्च वृद्धिमा विशेष प्राथमिकता राखेर काम गर्दा मात्रै पर्यटन क्षेत्रको पूर्वाधार विकास हुन सक्ने तर्क गरे । 

त्यस्तै,नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले मन्त्रालयको पुँजीगत खर्च अन्य मन्त्रालयको भन्दा कम देखिएको बताए । उनले आठ महिनासम्म पनि १५ प्रतिशत मात्रै पुँजीगत खर्च भएको भन्दै कम हुनुको कारण के हो ? भन्दै प्रश्न गरे । सांसद राणाले पर्यटन बोर्डको खर्च कम भएकाले त्यसलाई खर्च गर्ने मन्त्रालयले सहजिकरण गर्नुपर्ने अवस्था देखिएको बताए । उनले १५ प्रतिशत मात्रै पुँजीगत खर्च हुनु राम्रो नभएको भन्दै सुधार गर्न सुझाव दिए । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले मन्त्रालयले अन्तर्राष्ट्रिय अवार्ड र शतप्रतिशत अंक पाउँदा पनि पुँजीगत खर्च चिन्ताजनक देखिएको बताए । उनले आर्थिक वर्ष सकिन लाग्दा पनि १५ प्रतिशत मात्रै पुँजीगत खर्च गर्न नसक्नुको कारण समितिलाई जानकारी दिन आग्रह गरे ।

उनले भने, ‘मन्त्रीज्यूले राम्रो अवार्ड पाउँदै गर्दा पनि र उच्च मूल्यांकन हुँदै गर्दा पनि योचाहिँ अलि चिन्ताजनकजस्तै देखियो कि यसको कारणचाहिँ के हो ?’ 

मन्त्रालयका निमित्त सचिव इन्दु घिमिरेले पूर्वाधारका कार्यक्रम पर्यटन विभागअन्तर्गत भएको र त्यहाँ कर्मचारी अभावले काम गर्न नसकेको बताइन् । त्यसैले पुँजीगत खर्च कम भएको उनको भनाइ थियो । उनले पर्यटन विभागको केन्द्रमा मात्रै कार्यालय रहेका र प्रदेश स्थानीय तहमा नभएकाले स्थानीय तहमा कार्यक्रम गर्न अख्तियारी दिएर गर्नुपर्ने अवस्था रहेको पनि बताइन् ।

निमित्त सचिव घिमिरेले टाकुरा पर्यटन भनेर ठुला पूर्वाधारमा बजेट भएको तर त्यो कार्यक्रममा डीपीआरसमेत तयार नभएकाले काम गर्न समस्या भएको बताइन् । उनले डीपीआरसमेत नहुँदा बजेट खर्च नभएकाले पुँजीगत खर्च हुन नसकेको उल्लेख गरिन् ।

हवाई टिकटमा भ्याट हटाउन सांसदहरूको माग

गत वर्ष बजेटमार्फत सरकारले एयरलायन्सको टिकटमा भ्याट लगाएकाले त्यो हटाउनुपर्ने माग राखेका छन् । हवाई टिकटमा भ्याट लागेपछि देशको समग्र पर्यटन क्षेत्रमा असर पारेको उनीहरूको भनाइ थियो । आगामी बजेटमार्फत यो हटाउन अधिकांश सांसदले सुझाव दिए ।

पूर्वपर्यटन मन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले टिकटको भ्याट हटाए नेपालको पर्यटन क्षेत्र चलायमान बन्ने बताए । ‘विमानको टिकटमा रहेको भ्याट हटाउँदा पर्यटक बढ्छन् । टिकट महँगो हुँदा यात्रुसमेत कम भएका छन् ।’ भ्याट लागु गर्दा पर्यटन आगमनमा समेत असर परेको उनले उल्लेख गरे । 

नेपाली कांग्रेका सांसद उदयशमशेर राणाले पनि यस्तो भ्याटले पर्यटन क्षेत्रमा असर गरेकाले प्लेन टिकट बाहिरबाट किन्ने धेरै भएका बताए । यो भ्याटका कारण अहिले नेपालबाट थाइल्यान्ड जान सस्तो भएको तर नेपाल आउन महँगो भएको उनको जिकिर थियो । 

एमालेकै अर्का सांसद भीमप्रसाद आचार्यले अन्तर्राष्ट्रिय विमानको टिकटमा भने भ्यान हटाउन आवश्यक भएको बताए । यस्तो भ्याटकै कारण पयर्टकको कुल खर्चको ६० प्रतिशत हवाई भाडामा सकिएको उनको बुझाइ थियो । यसले नेपाल आउने पर्यटकमा कमी ल्याएको उनले बताए ।

निरन्तर छलफलमा छौँ – मन्त्री पाण्डे

मन्त्री पाण्डेले भने भ्याट फिर्ताका सम्बन्धमा अर्थ मन्त्रालयसँग निरन्तर छलफल गरिरहेको बताए । भ्याट छुटको विषय अर्थमन्त्रालयको विषय भएकाले आफूले केही गर्न नसकेको बताए । ‘भ्याटबाट ८ अर्ब राजस्व उठ्ने भएका कारण यसरी छुट दिँदा राजस्व कहाँबाट आउँछ भन्ने अर्थमन्त्रालयको कन्र्सन छ । हामीले बारम्बार छलफल गरिरहेका छौँ,’ उनले भने । मन्त्री पाण्डेले स्वदेशी र विदेशीलाई हवाई टिकट मूल्यमा ठूलो असमानता रहेको उल्लेख गरे ।

मन्त्रालयकी निमित्त सचिव घिमिरेले हवाई टिकटको भ्याटबाट पनि सरकारले बजेटको अनुमान गरेकाले तत्काल हटाउन सक्ने अवस्था नभएको र करसम्बन्धी नीति चालु आर्थिक वर्षमा परिवर्तन गर्न नमिल्ने अर्थमन्त्रालयले भनेको बताइन् । 

मन्त्रालयले पर्यटन बोर्डमार्फत समिति बनाएर हवाई टिकटमा भ्याट ल्याउँदा पर्ने असर, फाइदा र आम्दानीका विषयमा अध्ययन भइरहेको उनले भनिन् ।

वायु सेवा निगमलाई पुनर्संरचना र निजगढ अघि बढाउन माग

सांसदहरूले नेपाल वायु सेवा निगमको पुनर्संरचना गर्न जरुरी रहेको बताएका छन् । उनीहरूले अहिलेकै अवस्थामा निगम चल्न नसक्ने भन्दै बजेटमार्फत वा मन्त्रालयले योजना बनाएर तत्काल गर्न सुझाव दिए । एमाले सांसद आचार्यले निगमलाई पुनर्संरचना गरी विमान थप्नुपर्नेमा जोड दिए ।

उनले वायुसेवा निगममा विमान लिज पर्चेज गरेर भए पनि संख्या थप गर्न आग्रह गरे । निजगढ विमानस्थल निर्माण सुरु गर्न ढिलाइ भइसकेको उनले बताए । कांग्रेसका सांसद विमलेन्द्र निधिले निजगढ विमानस्थल नबने फास्ट ट्रयाक (द्रुत मार्ग) को औचित्य नभएको बताए ।

मन्त्री पाण्डेले निगमको विषयमा नेपाल एयरलाइन्सलाई बलियो बनाउनुको विकल्प नभएको बताए । एयरलाइन्सलाई सुचारु गर्न लिजमा जहाज थप्ने तयारी भइरहेको उनले जानकारी दिए । नागरिक उडड्यनको क्षेत्रमा कुनै पनि वेला नतिजा आउने गरी तदारुकताका साथ काम गरिरहेको उनले दाबी गरे । 

मन्त्री पाण्डेले सबैतिरबाट सीधा उडानका लागि प्रस्ताव आएकाले इन्डोनेसिया र फ्रान्ससँग हवाई सम्झौता अघि बढाइएको बताए । 

गौतमबुद्ध अन्तराष्ट्र्रिय विमानस्थल तथा पोखरा अन्तराष्ट्र्रिय विमानस्थलमा नियमित उडान सञ्चालनका सम्बन्धनमा मन्त्रिपरिषद्बाट कार्ययोजना कार्ययोजना स्वीकृत गराई लागू गरिएको समेत जानकारी गराए । 

आगामी वर्ष बजेट सिलिङ घट्यो 

आगामी आर्थिक वर्षको लागि पनि बजेट सिलिङ घटेर आएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले चालु आर्थिक वर्षको भन्दा पनि ९ अर्ब ५१ करोड २३ लाखको सिलिङ आएको बताएको छ ।

आगामी आर्थिक वर्षको लागि चालु खर्चका लागि २ अर्ब ४९ करोड ८३ लाख र पुँजीगत खर्चका लागि ३ अर्ब ५० करोड १३ लाख रुपैयाँको गरी कुल ५ अर्ब ९९ करोड ९६ लाखको सीमा आएको मन्त्रालयले जानकारी दिएको छ । 

पूर्वमन्त्री तामाङले बजेटको सीमा निर्धारण अर्थमन्त्रीको हातमा रहेकाले गत वर्षभन्दा पनि यो वर्ष बजेट घटेर आएको बताए । उनले हरेक वर्ष बजेट कम हुँदै जाँदा पर्यटन क्षेत्रको काम गर्न समस्या हुने बताए । 

मन्त्री पाण्डेले मन्त्रालयको क्षमता र सीमा हेरेर सांसदहरूलाई आयोजना राख्न आग्रह गरे । उनले हरेक जिल्लामा विमानस्थल राख्न माग हुँदै आएकाले सम्भावना नभएको बताए । बजेटको सीमितताका आधारमा मात्र आयोजनाहरू अघि बढाइने उनले बताए । 

उनले प्राधिकरणलाई नियामक र सेवा प्रदायक गरी दुई निकायमा विभाजन गर्ने सम्बन्धी विधेयकहरू मन्त्रिपरिषद्बाट स्वीकृत भई १४ गते प्रतिनिधिसभामा प्रस्तुत हुने समेत बताए  । पर्यटन मन्त्रालयले विभिन्न समिति बनाएर त्यसको विषयमा अध्ययन समेत भएको जानकारी समितिलाई दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिष मिजार
अनिष मिजार
लेखकबाट थप