जलविद्युतमा लगानी गर्न भारतीय लगानीकर्तालाई ‘इप्पान’को आग्रह
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । नयाँ दिल्लीमा आज भएको ‘नेपाल–भारत इनर्जी समिटमा’ इप्पान अध्यक्ष कार्कीले भारतीय लगानीकर्तालाई लगानीको सुरक्षा र प्रतिफलको ग्यारेन्टी रहेकाले ढुक्कसँग लगानी गर्न आग्रह गरेका हुन् ।
‘नेपाल सरकारले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन पुर्याउने महत्वाकांक्षी लक्ष्य लिएको छ । त्यसका लागि ४६ दशमलब ५ अर्ब डलर लगानी आवश्यक रहेकाले नेपालमा लगानीको सुनौलो अवसर छ’, कार्कीले भने । नेपाल लगानी बोर्डले गरेको प्रारम्भिक अध्ययनअनुसार, नेपालको सौर्य ऊर्जा उत्पादन क्षमता ४ दशमलब ३२ गिगावाटभन्दा बढी रहेकाले सौर्य ऊर्जामा पनि भारतीय लगानीकर्ताले लगानी गर्नसक्ने उनको भनाइ छ ।
नेपाल आदानी समूह, टाटा पावर, जिन्दल पावर, जिएमआर समूह, एसजेभीएन लिमिटेड, एनएचपिसीजस्ता प्रमुख भारतीय व्यापारिक घरानाहरूसँग साझेदारी गर्न इच्छुक रहेको उनले जानकारी गराए ।
इप्पान उपाध्यक्ष आनन्द चौधरीले नेपालमा तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन भइरहेकामा चार हजार मेगावाट बराबरका आयोजना निर्माणाधीन रहेको, चार हजार १०० मेगावाट क्षमताका आयोजना विद्युत् खरिद बिक्री सम्झौता (पिपीए) गरेर वित्तीय व्यवस्थापनको पर्खाइमा रहेको र करिब २० हजार मेगावाट क्षमताका आयोजना अध्ययनको चरणमा रहेको बताए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले सरकारले अघि सारेको २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन लक्ष्य प्राप्तिका लागि मन्त्रालयले सहजीकरण गर्ने हुँदा ढुक्कसँग लगानी गर्न आग्रह गरे ।
‘जलविद्युत् र नवीकरणीय ऊर्जा क्षेत्रमा लगानीका अवसरको खोजी’ भन्ने नारासहित नेपाली राजदूतावास भारत र भारतीय हरित ऊर्जा महासङ्घको आयोजना तथा इप्पानको संस्थागत सहभागितामा उक्त सम्मेलन भएको इप्पानले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण