राजाको शासन कस्तो हुन्छ भनेर राजावादीहरूले तीनकुनेमा चरित्र देखाए : गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले लोकतन्त्र र गणतन्त्रको विकल्प निरङ्कुशतन्त्र हुन नसक्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालको २७औं वार्षिकोत्सव समारोहमा वर्तमान व्यवस्थालाई नै सुधार गरेर जानुपर्नेमा बताएका हुन् ।
‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । गल्ती र कमजमोरी भएको छ भने सुधारेर जाने हो । नागरिकले प्रश्न गर्ने हो । सुधार गर्ने हो । कुनै लोकतन्त्रको विरुद्ध निरंकुशता हुन सक्दैन,’ उनले भने, ‘राष्ट्रप्रति र नागरिकप्रति हामीलाई जिम्मेवारीबोध भएको छ । सुधारेर जानेमा प्रतिबद्ध छौं । हुकुम नै कानुन हुने राजतन्त्रको पद्धति उचित होला भनेर कर्णधार युवा पुस्ताले भ्रममा पर्नुहुँदैन । यही व्यवस्थालाई सुधारेर जानुपर्छ ।’
गृहमन्त्री लेखकले राजाको निरङ्कुश शासनको बारेमा थाहा नभएकाहरू भ्रममा बस्न नहुने भन्दै राजाहरूलाई प्रश्न गर्न नपाइने इतिहास स्मरण गराए । ‘राजतन्त्रको शासन नदेखेको मान्छे पनि यहाँ हुनुहुन्छ, १८ वर्षअघि राजाको शासन थियो । अहिले युवाहरूलाई राजसंस्थाबारे केही थाहा नहुन सक्छ, राजाको शासनमा आलोचना गर्न पाइन्छ कि पाइँदैन भनेर सोध्नुहोस् ? मैले बुझेको राजतन्त्रमा राजालाई प्रश्न गर्न पाइँदैन । प्रश्न गर्ने कोसिस गर्यो भने जेल जानुपर्छ । जति यो देशमा राजाको शासन रह्यो, कुनै पनि नागरिकले राजालाई प्रश्न गर्न सकेनन् । आज प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मलाई प्रश्न गर्दैछौं,’ उनले भने ।
राजाले गल्ती गर्दा पनि कानुनी कारबाही नहुने भन्दै लोकतन्त्रमा गल्ती गर्दा सबैमाथि कारबाही हुने गृहमन्त्री लेखकको भनाइ छ ।
आलोचनाभन्दा बाहिर र संविधानभन्दा माथि हुकुमै कानुन हुने राजतन्त्रको पद्धति उचित हुन्छ भनेर युवाहरु भ्रममा परे देश अँध्यारोमा जाने गृहमन्त्री लेखकले बताए ।
‘राजाको शासन चरित्र कस्तो हुन्छ भनेर शुक्रबार तीनकुनेमा देखियो । हामी राजाका समर्थक हौं । फेरि यो देशमा राजा ल्याउँछौ भनेर ज्युँदै मान्छेलाई घरमा आगो लगाएर पोल्ने काम भएको छ । यो हो तरिका ? राजाको शासन ल्याउँछु भन्नेहरुबाट घरमा आगो लगाएर पत्रकारलाई ज्युँदै पोल्ने काम भएको छ । यसमा म दुःख व्यक्त गर्न चाहन्छु । पसलमा ढुंगा मुढा गरियो । लुटपाट मच्याउने काम भयो ,’ उनले भने । मुलुकमा लोकतन्त्र नहुँदा सञ्चारजगत त्रसित, प्रतिबन्धित र निर्देशित हुने भन्दै वर्तमान सरकारले सञ्चारको सुरक्षा गर्ने गृहमन्त्री लेखकले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण