काठमाडौँमा वायु प्रदूषणको अवस्था गम्भीर बन्दै, नियन्त्रणका लागि भएन पहल
_QrlQ4AsmqC.jpg)
काठमाडौँ । मंगलबार काठमाडौँको वायु प्रदूषण उच्च रहेको छ । आईक्यू एयरले जारी गर्ने सूचीमा बिहान ७ बजेको मापनमा काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीको शीर्ष स्थानमा पुगेको हो ।
काठमाडौँको एक्यूआई २६२ रहेको छ । यसलाई निकै अस्वस्थ मानिन्छ । ५० सम्मको एक्यूआईलाई मात्र स्वस्थ मान्ने गरिएको छ । काठमाडौँको हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ३७.५ गुणा बढी रहेको छ ।
वायु प्रदूषण उच्च भएसँगै काठमाडौँमा बिरामीको संख्या पनि बढेको छ । विज्ञहरूले बाहिर व्यायाम नगर्न, मास्क लगाउन तथा झ्यालहरू बन्द गरेर बस्न सुझाव दिएका छन् । हाल पाटन, रत्नपार्क, रविभवनलगायत क्षेत्रमा प्रदूषण उच्च रहेको छ ।
केहीदिन यता काठमाडौँमा वायु प्रदूषणको अवस्था गम्भीर बन्दै गएको छ । त्यसको नियन्त्रणका लागि तत्काल कदम चाल्न विज्ञहरुले सुझाव दिएपनि सरकारबाट कुनै पहल भएको छैन ।
हालको वायु प्रदूषणको अवस्था सम्बन्धमा बिहिबार कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा सरोकारवाला तथा विज्ञहरुसँग छलफल भएको थियो । उक्त छलफलमा हालको वायु प्रदूषणको अवस्थाको जानकारीसँगै वायु प्रदूषण न्यूनिकरणका उपायहरुका सम्बन्धमा विज्ञहरुले सुझाव दिएका थिए ।
छलफलपछि वायु गुणस्तरको सूचकाङ्क खतरनाक अवस्था पार गरेमा आपतकालिन उपायहरु जस्तै छोटो समयका लागि उद्योग बन्द गर्ने, विद्यालय बन्द गर्ने, सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागु गर्ने लगायतका सुझाव दिएका थिए ।
सो छलफलपछि मन्त्री सिंहले वायु प्रदूषणको उच्चतम जोखिमबाट सावधानी र सजग हुन जनचेतना अभिवृद्धि गर्न मोवाइल फोनको रिङ्टोनमा सचेतनामूलक सन्देश वन तथा वातावरण मन्त्रालयले तयार गरी प्रशारणको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको थियो ।
साथै, छलफलपछि वन डढेलो नियन्त्रणका लागि सरोकार राख्ने सबै जिम्मेवार निकायका संयन्त्रहरुलाई प्रभावकारी रुपमा परिचालन गर्ने निर्णय पनि भएको थियो । फोहोर तथा कृषि अवशेष जन्य पदार्थहरु जलाउने कार्य नगर्न सर्वसाधारण एवं सरोकारवालाहरुलाई आव्हान र अनुरोध गर्ने र सो कार्यको अनुगमन संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले गर्ने ।
सवारी साधनमा प्रयोगहुने इन्धनको गुणस्तरको अनुगमन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत नेपाल गुणस्तर तथा नापतौल विभाग र नेपाल आयल निगमलाई निर्देशन दिने निर्णय भएको थियो । यस्तै सवारी साधन छड्के अनुगमन तथा उद्योग/आयोजनाको अनुगमनलाई वातावरण विभागले थप तिव्रता दिने जनाइएको थियो ।
साथै प्रदूषणको मात्रा बढेको समयमा/अवस्थामा घर बाहिर सकभर ननिस्किने, जिवाश्म इन्धनबाट संचालित सवारी साधनको प्रयोग कम गर्न, घर वाहिर निस्कनु परेमा माक्सको प्रयोग गर्न सर्वसाधारणमा आव्हान गर्ने निर्णय भएको थियो ।
हरियो स्टिकर नभएको सवारी साधनलाई बाटोमा संचालन गर्नमा रोक लगाउने कार्य उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्ने साथै राष्ट्रिय स्तरमा वायु प्रदूषण नियन्त्रणका लागि तर्जुमा हुन लागेको राष्ट्रिय कार्ययोजनामा दिर्घकालिन, मध्यकालिन र अल्पकालिन योजनाहरुसमेत समावेश गर्ने निर्णय भएको थियो । तर अझैसम्म उक्त निर्णय कार्यान्वयनमा ल्याउन सकेको छैन ।
सरकारले निर्णय गरेपनि यी कुनै पनि निर्णय कार्यन्वयन भएको देखिँदैन । मन्त्री सिंहका सचिवालयका प्रेस सल्लाहकार जगन्नाथ दुलालले उक्त निर्णयहरु सम्बन्धित निकायले कार्यन्वयन गर्नुपर्ने बताए । तर अहिलेसम्म कार्यन्वयन नभएको उनको भनाइ छ ।
‘अस्ती भएका निर्णयहरु सम्बन्धित निकायले कार्यान्वयन गर्नुपर्ने हो । तर लाग्छ कार्यन्वयन भएको जानकारीमा आएको छैन,’ यदि भएको छ छैन भने सम्बन्धित निकायमा बुझ्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलालघाटदेखि पचुवारघाटसम्म पहिलोपटक रिभर ट्यूबिङ्ग
-
तस्बिरमा यस्तो देखियो 'ऊनको स्विटर' को प्रिमियर
-
अब फिल्मी संगीतमा पनि खेम सेन्चुरी
-
कोशी प्रदेशः तीन महिनामा कारागार र ब्यारेकमा ६ जनाको मृत्यु
-
दलीय भागबण्डामा गरिएको पुरस्कार वितरणमा प्रेस सेन्टरको आपत्ति
-
भारतको पञ्जाबमा अज्ञात विमान दुर्घटनाग्रस्त, एकको मृत्यु, ९ घाइते