दिल्लीलाई उछिन्दै गुजरात आईपीएलको शीर्ष स्थानमा

काठमाडौं । लगातार चौथो जित निकाल्दै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा पञ्जाब किङ्ससँग ३६ रनले स्तब्ध हुँदै हारबाट सिजनको सुरुवात गरेको गुजरात त्यसपछिका चार खेलमा शतप्रतिशत जित निकाल्दै आठ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
आफ्नो पाँचौ खेलमा गुजरात ५८ रनले विजयी भयो । नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले व्याटिङ गरेको गुजरातले राजस्थान रोयल्ससामु २१८ रनको चुनौति पेश गरेको थियो । तर, राजस्थान १९ ओभर २ बलमा अलआउट हुँदै १५९ रन मै समेटियो । राजस्थानका लागि शिमरोन हेटमायरले सर्वाधिक ५२ रन बनाए ।
३२ बल खर्चिएर उनले चार चौका र तीन छक्काको मद्दतले अर्धशतक पार गरे । कप्तान सञ्जु सामसनले २८ बलमा चार चौका र दुई छक्का प्रहार गर्दै ४१ रन जोडे । रियान पराग २६ रनमा आउट हुँदा अन्य व्याट्सम्यानले भने दोहोरो अंकको रन बटुल्न सकेनन् ।
बलिङतर्फ गुरातका प्रशिद्ध कृष्णले सर्वाधिक तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले २४ रन खर्चे । रशिद खान र साई किशोरको नाममा समान दुई विकेट रह्यो । यस्तै, मोहम्मद सिराज, आर्शद खान र कुलवन्त खेजरोलियाले समान एक विकेट लिए ।
गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१७ रन बनाएको थियो । गुजरातका ओपनर साई सुदर्शनले सर्वाधिक ८२ रनको पाली खेले । ५३ बल खर्चिएका उनले आठ चौका र तीन छक्का प्रहार गरे । जोश बटलर र शाहरुख खानले समान ३६ रन बनाउँदा राहुल त्रिपाठी २४ र राशिद खान १२ रनमा आउट भए ।
बलिङतर्फ राजस्थानका तुषार देशपाण्डे र महेश थेक्सनाले समान दुई-दुई विकेट लिए । जोफ्रा आर्चर र सन्दीप शर्माको नाममा समान एक विकेट रह्यो । गजुरातले यसअघि मुम्बई इन्डियन्सलाई ३६ रन तथा रोयल्स च्यालेन्जर्स बैंग्लोरललाई आठ र सनराइजर्स हैदरावादलाई सात विकेटले हराएको थियो । पछिल्ला दुई खेलमा लगातार जित हासिल गरेको राजस्थान रोयल्स गुजरातसँग ठोक्किएर हार्न पुग्यो ।
यो नतिजासँगै गुजरातले पाँच खेलबाट आठ अंक पुर्याएको छ । तर, गुजरातले उछिनेको दिल्ली क्यापिटल्सले भने दुई खेल कम खेल्दै ६ अंक बटुलिसकेको छ । र, दिल्ली हालसम्म अपराजित छ । राजस्थानको भने पाँच खेलबाट चार अंक भएको छ, जुन सातौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरू
-
निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन् : अर्थमन्त्री पौडेल
-
पोखरा विमानस्थल छानबिन प्रतिवेदन : तथ्य एकातिर, निष्कर्ष अर्कैतिर
-
मुलुकी अपराध संहिताको मस्यौदामा व्यापक छलफल आवश्यक : उपाध्यक्ष घिमिरे
-
इ–रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला
-
दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु