सरकारले जफत गर्यो वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीको जग्गा, सेयर र नगद (सूचीसहित)
काठमाडौँ । सरकारले वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीको जग्गा, सेयर र नगद जफत गरेको छ । सर्वोच्च अदालतको २०६८ भदौ २१ गतेको फैसला बमोजिम चतुर्वेदीको जग्गा, सेयर र नगद जफत गरिएको हो ।
तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश सुशीला कार्कीको संयुक्त इजलासले चतुर्वेदीलाई भ्रष्टाचारी ठहर गर्दै १ करोड ३९ लाख जरिबाना, विभिन्न चल/अचल सम्पत्तिको जफत र डेढ वर्ष कैद हुने फैसला गरेको थियो ।
फैसला बमोजिम गृह मन्त्रालय अन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले चतुर्वेदी उनको परिवारका सदस्यको बैंक खातामा रहेको नगद, विभिन्न कम्पनीका सेयर र जग्गा जफत गरेको हो ।
फैसलामा चतुर्वेदीको नगद सम्पत्तिमध्येबाट ७७ लाख ५९ हजार ८ सय ३८ रुपैयाँको स्रोत नखुलेको उल्लेख थियो ।
स्रोत नखुलेको नगदमध्य रातोपाटीलाई प्राप्त कागजातअनुसार चतुर्वेदीको एसबीआई बैंकमा रहेको ५७ हजार ६६२ रूपैयाँ ६५ पैसा, नेपाल बैंक लिमिटेडमा रहेको ३२ हजार १२७ रूपैयाँ ३४ पैसा जफत गरिएको छ । उनकी श्रीमती आशाको नाममा नेपाल बैंक लिमिटेड काठमाडौँमा रहेको ३९ हजार २४१ रूपैयाँ २६ पैसा र हिमालयन बैंक लिमिटेड वीरगञ्जमा रहेको खातामा रहेको ७४ हजार ९६१ रूपैयाँ ३६ पैसा जफत गरिएको छ ।
त्यस्तै छोरी अदितीको एभरेष्ट बैंक लिमिटेड, न्युरोडको खातामा रहेको १० लाख रूपैयाँ र छोरा अभिषेकको कृषि विकास बैंक लिमिटेड रहेको खाताको ५० हजार १०८ रूपैयाँ २४ पैसा सम्पत्ति व्यवस्थापन विभागले जफत गरेर सरकारी खातामा ल्याएको हो । अख्तियारले चतुर्वेदीविरुद्ध मुद्दा दायर गरेपछि रोक्का गरेका यी बैंक खातामा भएका रकममा जम्मा भएको ब्याज पनि जफत गरिएको विभागले जनाएको छ ।

त्यस्तै विभागले चतुर्वेदीको नेपाल मेडिकल कलेज काठमाडौँमा रहेको ३० हजार कित्ता सेयर, शिखर पेन्ट्स काठमाडौँमा रहेको पाँच हजार कित्ता सेयर र छोरा अभिषेकको ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा रहेको ३० हजार कित्ता सेयर पनि जफत गरेर सरकारको नाममा ल्याइएको जानकारी दिएको छ ।
विभागले ती सेयरबाट बढे/बढाएको सम्पत्तिसमेत जफत गरिएको जनाएको छ ।

काठमाडौँ कोटेश्वरमा रितेज चतुर्वेदी र दिपेन्द्र टण्डनको संयुक्त नाममा रहेको कित्ता नं. ६५ को २ रोपनी ९ आना १ पैसा ३ दाम र कोटेश्वरकै कित्ता नं. ७९१ को २ आना १ पैसा जमिनमध्ये उनको भागमा पर्ने आधा जमिन जफत गरी कसुरजन्य सम्पत्ति विभाग/सरकारको नाममा नामसारी गरेर लालपुर्जा ल्याइसकिएको विभागले जनाएको छ ।

अदालतको फैसला बमोजिम २०६८ भदौ २८ गते आफैँ अदालतमा उपस्थित भएर जेल गएका चतुर्वेदी ११ महिना ६ दिन पछि जेलमुक्त भएका थिए । उनले सर्वाेच्च अदालतले ठहर गरेबमोजिम १ करोड ११ लाख जरिबाना नगदसमेत बुझाएका थिए ।
चतुर्वेदी २०७८ असोज २१ गते काठमाडौँ–७ बुलबुलेमा निर्माणाधीन आफ्नो घर अगाडि मृत भेटिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण