सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय
कलकारखाना

बागमतीमा उद्योग र कम्पनी दर्ताको दर घट्दो

बिहीबार, ०४ वैशाख २०८२, ०६ : ३२
बिहीबार, ०४ वैशाख २०८२

मकवानपुर । बागमती प्रदेशमा ४ वर्ष यता उद्योग दर्ता हुने दर निरन्तर ओरालो लागेको छ । प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयकी प्रवक्ता सुनिता गजुरेलका अनुसार विश्वव्यापी रूपमा देखिएको कोभिड–१९ को सङ्क्रमण, आर्थिक मन्दी, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभाव जस्ता कारण नयाँ उद्योग दर्ता हुने क्रम बर्सेनि घट्दो क्रममा रहेको हो ।

लामो समयदेखिको आर्थिक मन्दी, युवाहरू वैदेशिक रोजगारीका लागि बिदेसिने क्रम बढ्नु, लगानीमैत्री वातावरण निर्माण हुन नसक्नुजस्ता कारणले पनि नयाँ उद्योग दर्तामा कमी आएको हुन सक्ने उनले बताइन् ।

मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ पछि उद्योग दर्ता निरन्तर घट्दो अवस्थामा  छ ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशमा कुल ११ हजार ८६४ उद्योग दर्ता भएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा उद्योग दर्ताको दर बढेर १६ हजार ४९८ पुगेको थियो ।

मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/०७९ मा उद्योग दर्ताको दर घटेर ११ हजार ६६७ मा झरेको थियो । आर्थिक वर्ष २०७९/०८० मा ८ हजार ६४० उद्योग दर्ता भएको थियो । आर्थिक वर्ष २०८०/०८१ मा ६ हजार ५४३ उद्योग दर्ता भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म प्रदेशमा ४ हजार २५५ उद्योग दर्ता भएका छन् ।

बागमतीमा उद्योग दर्ताको अवस्था

11

८ महिनामा ४ हजारभन्दा बढी उद्योग दर्ता

प्रदेशमा चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनाको अवधिमा ४ हजारभन्दा बढी नयाँ साना तथा मझौला उद्योग दर्ता भएका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा प्रदेशको क्षेत्राधिकारभित्र पर्ने उत्पादनमूलक, कृषि तथा वन पैदावार, ऊर्जामूलक, निर्माण, पर्यटन, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, सेवामूलक र खनिज सम्बन्धी कुल ४ हजार २५५ वटा साना तथा मझौला उद्योग दर्ता भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार यस अवधिमा प्रदेशको १३ जिल्लास्थित उद्योग तथा वाणिज्य कार्यालयमा ४ हजार २५३ र उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौंडामा ३ गरी कुल ४ हजार २५५ वटा नयाँ उद्योग दर्ता भएका छन् ।

यस अवधिमा सबैभन्दा धेरै उद्योग तथा वाणिज्य कार्यालय काठमाडौँमा १ हजार २५३ र सबैभन्दा कम उद्योग रसुवा जिल्लामा ३१ वटा दर्ता भएका छन् । यस्तै सिन्धुली जिल्लामा १३२ वटा, रामेछापमा ६१ वटा, दोलखामा १८१ वटा, सिन्धुपाल्चोकमा ४० वटा, काभ्रेमा ३७० वटा, भक्तपुरमा १ हजार १२४ वटा, ललितपुरमा ३५७ वटा, नुवाकोटमा एक सय वटा, धादिङमा ९४ वटा र चितवनमा २१३ वटा र मकवानपुरमा २९६ वटा उद्योग दर्ता भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेशभित्र आर्थिक वर्ष २०७६/०७७ यता कुल ६० हजार २५१ साना र ३ वटा मझौला उद्योग दर्ता भएको छ । जसमध्ये कृषि तथा वन पैदावरमा आधारित उद्योग १९ हजार १९४ वटा, उत्पादनमूलक उद्योग १० हजार ९६३ वटा, पूर्वाधार (निर्माण) उद्योग १ हजार १३९ वटा, सूचना, प्रसारण तथा सञ्चार प्रविधि उद्योग ११० वटा, ऊर्जामूलक उद्योग ११ वटा दर्ता भएका छन् ।

यस्तै खानी क्षेत्रका २, सेवामूलक उद्योग १८ हजार ६७४ र पर्यटन क्षेत्रका ४ हजार ४०३ वटा उद्योग दर्ता भएको मन्त्रालयले जनाएको छ । ती उद्योगहरूले एक लाख ५५ हजार ३९३ जनालाई प्रत्यक्ष रूपमा रोजगारी दिइरहेको तथ्याङ्कमा उल्लेख छ ।

कम्पनी दर्ताको दरमा पनि गिरावट

बागमती प्रदेशमा ६ आर्थिक वर्षको अवधिमा ७ हजारभन्दा बढी निजी तथा साझेदारी कम्पनी दर्ता भएका छन् । आर्थिक वर्ष २०७६/०७७ देखि आर्थिक वर्ष २०८१/०८२ को फागुन समसान्तसम्ममा ७ हजार ५७ निजी तथा साझेदारी कम्पनी दर्ता भएका हुन् ।

मन्त्रालयका अनुसार पछिल्ला आर्थिक वर्षमा कम्पनी दर्तामा पनि गिरावट आएको छ । ६ आर्थिक वर्षको दर्ता तथ्याङ्क मूल्याङ्कन गर्दा विगत ३ वर्षदेखि निरन्तर सो दर घट्दो क्रममा देखिन्छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/०७७ मा १ हजार २४१ कम्पनी दर्ता भएको थियो । यस्तै आर्थिक वर्ष २०८०/०८१ मा सो दर घटेर १ हजार ४१ मा सीमित भएको थियो । चालु आर्थिक वर्ष २०८१/०८२ को फागुन मसान्तसम्ममा १ हजार १८९ वटा कम्पनी दर्ता भएको छ ।

कम्पनी दर्ता सङ्ख्या

22

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप