आजदेखि कञ्चनजङ्घा हीरक महोत्सव सुरु

ताप्लेजुङ । विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा हिमालको पहिलो सफल आरोहणको ७० औँ वार्षिकोत्सवका अवसरमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित लेलेपमा ‘कञ्चनजङ्घा हीरक महोत्सव–२०८२’ आजदेखि सुरु भएको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा सुरु भएको महोत्सव यही वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सव अवधिभर कञ्चनजङ्घा हिमालको प्रचारप्रसार, स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री, मौलिक खानाका परिकारको प्रवर्द्धन, विविध सांस्कृतिक कार्यक्रम, खेलकुद, पदयात्रा, फोटो तथा भिडियो प्रदर्शनीलगायत गतिविधि हुनेछन् ।
परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूका अनुसार महोत्सवमा जिल्लाका छ जना कञ्चनजङ्घा आरोहीलाई सम्मान गरिनेछ । सम्मानित हुनेमा पासाङ शेर्पा, ङाडा शेर्पा, लाक्पा शेर्पा, दावाछेतेन शेर्पा, मिङ्माग्याबु शेर्पा र लाक्पा शेर्पा रहनुभएको उनले जानकारी दिए ।
‘कञ्चनजङ्घा संरक्षण क्षेत्रः प्रकृतिको उपहार, दिगो पर्या–पर्यटन समृद्धिको आधार’ भन्ने नारासहित आयोजना भएको यस महोत्सवले संरक्षण र दिगो पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । सन् १९५५ मे २५ मा बेलायती आरोही जो ब्राउन र जर्ज ब्यान्डले कञ्चनजङ्घाको दक्षिणी मोहोडाबाट पहिलो पटक सफल आरोहण गरेका थिए । सन् १९०५ देखि नै आरोहण प्रयास हुँदै आए पनि पहिलो सफल आरोहण १९५५ मै भएको हो ।
यसैबिच, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे ‘कञ्चनजङ्घा हीरक महोत्सव’ को उद्घाटनका लागि आज हेलिकप्टरमार्फत ताप्लेजुङको लेलेप पुगेका छन् । उनीसँगै पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई पनि महोत्सवमा सहभागी हुन लेलेप पुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरिता गिरीको सांसद पदसम्बन्धी मुद्दा अझै सुनुवाइमै
-
जनताको पक्षमा काम गर्ने पार्टी माओवादी केन्द्र नै हो: प्रचण्ड
-
सगरमाथा संवादमा इलामे चियाको स्वाद
-
लमजुङमा तरुण दलका कार्यकर्तामाथि खुकुरी प्रहार गर्नेहरू पक्राउ परेनन्
-
मस्को मेट्रोले आफ्नो ९० औं वार्षिकोत्सव मनायो
-
वीरेन्द्रनगर सुविधा सम्पन्न बनिसक्दा लगाम, बेतान अझै दुर्गम