सोमबार, २९ वैशाख २०८२
ताजा लोकप्रिय
अपराध

विद्युत् प्राधिकरणमा ‘चोर आतंक’

ट्रान्सफर्मरदेखि अर्थिङको तारसम्म चोरी
शुक्रबार, ०५ वैशाख २०८२, १९ : ४८
शुक्रबार, ०५ वैशाख २०८२

विराटनगर । सामाजिक सञ्जालमा यतिबेला मोरङको सुन्दरहरैंचा जोगियारेमा चोरी भएको विजुलीको पोलको ट्रान्सफर्मरको समाचार ट्रोल बनिरहेको छ । 

गत बुधबार बिहानको राती चोरको समूहले ट्रान्सफर्मर नै चोरेर लगेको थियो । चोरले त्यसमा रहेको झण्डै २० किलो तामाको तार विक्री गर्न ट्रान्सफर्मर नै चोरी गरेको प्रहरीको दाबी छ । 

मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले ट्रान्सफर्मर चोरको खोजी भइरहेको बताए । ‘हामीले चोरको हुलिया पत्ता लगाइसकेका छौं । पक्राउ गर्न बाँकी छ,’ उनले भने ।

उनका अनुसार यसअघि पनि ट्रान्सफर्मर चोरी भएका घटना छन् । गत फागुनको २७ गते ग्रामथान ४ बाट पनि ट्रान्सफर्मर चोरी भएको थियो । यस्तै फागुन २९ गते सुन्दरहरैंचाकै वस्तिपुरबाट पनि ट्रान्सफर्मर चोरी भएको जोशी बताउँछन् । तर, चोर भने अहिलेसम्म पक्राउ परेको छैन ।

‘चोरले पहिले ट्रान्सफर्मरको फ्यूज तानिदिएर विद्युत् लाइन काट्ने र त्यसपछि ट्रान्सफर्मर खोलेर निकाल्ने र त्यहाँभित्रको तामाको तार लाने गरेको देखियो,’ जोशीले भने, ‘एउटा ट्रान्सफर्मरमा २० किलोजति तामाको तार हुँदो रहेछ ।’ उनले गत फागुन यता भएका तीनवटै ट्रान्सफर्मर चोरीको घटना एउटै प्रकृतिको देखिएको बताए । 

‘ट्रान्सफर्मर चोर्ने विद्युत् सम्बन्धी ज्ञान भएको मानिस नै भएको हुनुपर्छ । त्यही आधारमा मानिसकोे खोजी भइरहेको छ । तीनवटै घटनामा एउटै समूहको संलग्नता पनि हुनुपर्छ,’ जोशीले भने । प्राधिकरणका कर्मचारी भने ट्रान्सफर्मरको क्षमता अनुसार तामाको तारको तौल तलमाथि हुने बताउँछन् । त्यो तारको मूल्य प्रतिकिलो ३ हजारदेखि ३५ सयसम्म पर्ने कर्मचारीको भनाइ छ । 

ट्रान्सफर्मर मात्रै होइन प्राधिकरणमा तामाको तार चोरको आतङ्क बढेको प्राधिकरणकै कर्मचारीहरु बताउँछन् । ‘विराटनगरमा ट्रान्सफर्मरको सुरक्षाको लागि अर्थिङको लागि राखेको १ मिटर, २ मिटरको तामाको तार पनि लगेर हैरान भएको छ । एक वर्षभित्रमा झण्डै ५० वटा बढी चोरीका घटना भएका छन्,’ विराटनगर विद्युत् वितरण केन्द्रका एक कर्मचारीले बताए । 

विराटनगर विद्युत् वितरण केन्द्रका प्रमुख सरोजकुमार साहका अनुसार ट्रान्सफर्मर चोरी पहिले पनि हुन्थ्यो । त्यो समूह कारबाहीमा परेपछि भने त्यस्ता घटना रोकिएको थियो । तर, अहिले पुनः ट्रान्सफर्मर र तार चोरीको घटना बढ्दा सुरक्षा चिन्ता बढेको उनले बताए । 

‘ट्रान्सफर्मर चोरले लठ्ठीले हानेर फ्यूज झार्ने र विद्युत् बन्द गरेर चोरी गर्ने गरेको देखिन्छ,’ उनले भने, ‘हामीले प्रहरीलाई चिठी काटेर अनुसन्धान गर्न माग गरेका छौं । तर, अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।’ उनले पनि अर्थिङको तार चोरीले हैरान पारेको बताए ।

‘अर्थिङको तार पनि चोर्छ । १०, २० रुपैयाँमा विक्री गर्छन् । १–२ मिटर हुन्छ,’ उनले भने । उनका अनुसार अर्थिङको त्यस्तो तारको मूल्य प्राधिकरणको रेटमा ५ सय ६ सय पर्छ । तर, चोरले न्यून मूल्यमा विक्री गर्ने उनको दाबी छ । त्यस्ता चोर भने दुले चोर भएको प्रहरीको आशङ्का छ ।

सुन्दरहरैंचामा भएका घटनामा भने ठूलै चोरको समूह रहेको हुनसक्ने प्राधिकरण स्रोत बताउँछ । चोरले चोरेको तार जस्ताको तस्तै बेच्दा पक्राउ पर्ने डरले पगालेर पनि विक्री गरेको हुनसक्ने प्राधिकरणकै कर्मचारी बताउँछन् ।

‘ट्रान्सफर्मर चोर्नका लागि १ घण्टाजति लाइन डिस्टर्ब हुन्छ । त्यसबेला सर्वसाधरण र प्राधिकरणको कर्मचारी पनि सजक हुनुपर्ने देखियो । एउटा ट्रान्सफर्मरको तार निकालिसक्न लामै समय लाग्छ,’ प्राधिकरण प्रमुख साहले भने, ‘ट्रान्सफर्मर नै चोरी गर्ने चाहिँ ठूलै गिरोह हुनसक्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप