सत्यभामा माथेमाका तीन कविता

१) मेरो घरको भाले
मेरो घरको भाले
निक्कै फुर्तिलो
लक्का जवान देखिन्छ
उमेर त खाएकै हो
तर पनि
रातो, पहेँला, सुनौला, हरिया प्वाँख
धपक्क बलेको अनुहार
गर्विलो सिउर
उसको श्रीपेच
अभिमानको प्रतीक !
मेरो भाले
कौसीको डिलमा
तनक्क तन्किँदै
सक्दो छाती फुलाउँदै
छड्के आँखाले चारैतिर हेर्दै
मानो ऊभन्दा अजङ्गको कोही छैन
बेग्लै
सर्वश्रेष्ठ !
सुनेकी थिएँ
उसको इतिहास
खान्दानी लुटेरा थियो रे
उसका अव्यक्त आकाङ्क्षाहरू
निरीहको घाँटी रेट्ने खालकै थिए
त्यसैले छ
ऊ निर्धक्क !
मेरो घरको भाले
गर्दन तन्काएर
पखेटा फट्कारेर
चर्को आवाजले बास्छ
सबैलाई तर्साउँछ
वरपरका भालेहरू
हाँकको जवाफ दिन
हामी पनि छौँ भनी देखाउन
बास्न त बास्छन्
आवाज दबाएर,
कठैबरा बिचराहरू
मेरो भाले सामु
डराएर लुक्छन ।
ऊ सबैलाई
ठुङ्ने
पछार्ने
चिथोर्ने
बल प्रयोगमा विश्वास गर्ने,
हरामको दानामा हुर्केको
फोहोरभित्र सुरक्षित रहेको
मेरो पोटिलो भाले
कसको के लाग्छ
उसको नङ्ग्रा तिखारिएको छ
ऊ हेपाहा प्रवृत्तिको छ
तन्किएर अर्काेको गर्दनमा
वर्गनाशक तत्त्व पलाएको छ
उसको विवेक
गर्दनमै जकडेको छ
मेरो घरको भाले ।
(२०६५ साल)
००
२) मभित्रको यज्ञशाला
म यज्ञशाला हुँ
अनि चिहान पनि
महलका खण्डहरहरूबाट निस्केका
अपरिचित कङ्कालहरू
निरपराध टुकुचामा फ्याँकिएकाहरू
स्त्री–पुरुषका अवाञ्छित बच्चाहरू
सबैलाई समेटेकी छु
मेरो हृदयको यज्ञशालाबाट
मलाई घचघच्याउँदै छन्
स्वतन्त्रताको बिगुल बजाउन
हकको आवाज उठाउन ।
म गुरुमापा होइन
एक मुरी चामलको भात
र राँगाको मासुमा चित्त बुझाउने
आफ्नो हकलाई दबाउने
मेरो कर्मक्षेत्र सङ्घर्ष
मेरो जित स्वतन्त्रता
अनि सबैलाई समानता ।
(२०२७)
३) ए भानुभक्त, तिमीमा कविको हृदय छ ?
ए भानुभक्त
तिमी आदिकवि रे, हैन ?
कति इज्जत दियो राज्यले
कति बयान गयो समाजले
कति माया दिए तिम्रा शाखा सन्तानले
वर्षको एकपल्ट झकिझकाउ पारी
फूलको मालाले सुशोभित गरी
जय जयकार गर्दै !
ए भानुभक्त
तिम्रो कविताका शब्द–शब्द
कति भट्याइयो कति !
तिम्रो नै कविता दोहोर्याई
तिम्रो कवित्वको भावलाई
भाषाले सिँगारिन्छ
सधैँ बयान गरिन्छ
तिमीलाई सम्मान गरिन्छ
यति त तिमीले कल्पना पनि गरेका थिएनौ होला ।
ए भानुभक्त
तिमीले सपनामा पनि देखेका थिएनौ होला
अब त तिमीलाई पनि लाग्दो हो—
भ्यागुताले पेट फुलाएझैँ
म मात्र त्यो आदिकवि हुँ
जो पूजनीय छ यहाँ ।
पर्ख
एकैछिन पर्ख
स्वास्नीमान्छेले जन्माएको तिमी
नाक नफुलाऊ
मेरो तिमीलाई आदिम प्रश्न छ—
स्वास्नीमान्छेको खोइरो खन्दा
तिमीलाई अलिकति पनि लाज लागेन ?
तिमीलाई जन्माउने,
नौ महिना गर्भमा हुर्काउने
के स्वास्नीमान्छे नै थिइनन् ?
आमा स्त्री हुन् भन्ने नबुझ्ने
कसरी कवि भयौ ?
लौ भन त ।
आफू पुरूष भएकोमा गर्व गर्ने
संवेदनहीन तिमी
घाँसे कवि हुनुमा गर्व नगर
‘रामायण’ खस भाषामा अनुवाद गर्ने
के तिमीमा कविको हृदय छ ?
तिमीलाई हेक्का छ,
तिम्रो पक्षपातपूर्ण विचारधारा
स्त्री जातिप्रति तिम्रो निम्न कोटिको विचार
तिमीलाई छोरा भन्न पनि
तिमीलाई आफ्नो भन्न पनि
लाज मानेर तिम्री आमा रुन्थिन् होली !
ए भानुभक्त
तिम्रो गुणगान गर्नेहरूले
साँच्चै उचित स्थान दिएका छन्
रानीपोखरी अगाडि
दरबार स्कुलको पर्खालमा टाँसेर
ठाउँ भन्न नमिल्ने ठाउँ दिएर
सडकको धुलो
मोटरको धुँवामा
तिमी धुलाम्य हुन बाध्य छौ ।
स्वास्नीमान्छेले जन्माएकी तिमी
पापबोध गर्न
सानो चकला ठाउँ नै
उपयुक्त छ
ए आदिकवि
तिमीलाई दिएको सत्कार
स्वागतयोग्य छ ।
(२०२५ साल)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री मधुबालाको दुखद कथा
-
राष्ट्रसङ्घीय प्रमुख र इरानी विदेशमन्त्रीबिच छलफल
-
अतृप्ति
-
बुद्ध एयरका कार्यकारी अध्यक्ष बस्नेतको ‘बाई द बुक’ विमोचन
-
यस्तो छ आइतबार बस्ने राष्ट्रियसभा बैठकको कार्यसूची
-
पाकिस्तानी प्रधानमन्त्रीद्वारा कश्मीर घटनाको विश्वसनीय र तटस्थ अन्तर्राष्ट्रिय अनुसन्धानको लागि आह्वान