१० बजे १० समाचार : सिंहदरबारबाट पक्राउ परेका राप्रपा नेता रिहा, देउवा किन जाँदैछन् थाइल्याण्ड ?
आज २०८२ वैशाख ७ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा सिंहदरबारबाट पक्राउ परेका राप्रपा नेता साँझ रिहा, देउवा किन जाँदैछन् थाइल्याण्ड ?, ट्याक्सीमा लागु भयो नयाँ मापदण्ड, माओवादीमा महेन्द्रलाई हैसियतभन्दा बढी ‘स्पेस’, पुलिसलाई गुलाफको फूल दिन राप्रपाका नेतालाई ज्ञानेन्द्रको सुझाव, रविकी पत्नी निकिताले दायर गरिन् रिट निवेदन लगायत छन् ।
१. सिंहदरबारबाट पक्राउ परेका राप्रपा नेता साँझ रिहा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेता आइतबार सिंहदरबार परिसरबाटै पक्राउ परेका छन् । पूर्वघोषित आन्दोलन कार्यक्रममा सहभागी हुने क्रममा उनीहरूलाई सिंहदरबारबाट मध्याह्न नियन्त्रणमा लिएको प्रहरीले साँझ रिहा गरेको छ ।
२. देउवा किन जाँदैछन् थाइल्याण्ड ?
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आइतबार राति थाइल्याण्ड जाँदैछन् । आँखाको उपचारका लागि भनेर थाइल्याण्ड जान लागेका उनले राजनीतिक भेटवार्तासमेत गर्न सक्ने स्रोतले जनाएको छ ।
३. ट्याक्सीमा लागु भयो नयाँ मापदण्ड
अबदेखि सरकारले एक हजार सीसीभन्दा कम क्षमताका ट्याक्सी दर्ता नहुने मापदण्ड बनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ट्याक्सीको रूपमा सवारीसम्बन्धी राष्ट्रिय मापदण्ड लागु गर्दै अबदेखि कम्तीमा १ हजार सीसी क्षमताका ट्याक्सी मात्रै दर्ता हुने व्यवस्था गरेको छ ।
४. माओवादीमा महेन्द्रलाई हैसियतभन्दा बढी ‘स्पेस’
माओवादी केन्द्रमा नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवबारे प्रश्न उठेको छ । महोत्तरीको बर्दिबासमा वैशाख ३ गते बसेको माओवादी केन्द्रीय नेताहरूको बैठकमा मधेसका अधिकांश नेताले प्रश्न उठाएका थिए ।
५. पुलिसलाई गुलाफको फूल दिन राप्रपाका नेतालाई ज्ञानेन्द्रको सुझाव
पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपाका नेताहरूसँगको भेटमा ‘राजनीतिक कुराकानी’ गरेको खुलेको छ । वर्तमान व्यवस्था विरुद्ध राजावादीको गतिविधि बढिरहेका बेला पूर्वराजाले शुक्रबार बिहान करिब डेढ घण्टा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित ७ नेतासँग ‘लन्च वार्ता’ गरेका थिए । पूर्वराजाले प्रहरीलाई ढुंगा नहान्न र गुलाफको फूल दिन समेत सुझाएको बताएको छ ।
६. रविकी पत्नी निकिताले दायर गरिन् रिट निवेदन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ । आइतबार रविकी पत्नी निकिता पौडेलले सर्वोच्चमा रिट दायर गरेकी हुन् ।
७. न्यायाधीश नियुक्तिमा जुटेन सहमति
न्यायाधीश नियुक्तिमा सहमति नजुटेपछि न्याय परिषद् बैठक विना निष्कर्ष टुङ्गिएको छ । आइतबार साँझ ५ बजेदेखि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा सुरु भएको बैठक करिब दुई घण्टा बसेर निर्णय नगरी टुङ्गिएको हो ।
८. संविधान र गणतन्त्रमाथि कति खतरा ?
राजावादीहरूको गतिविधि बढ्दै गएपछि गणतन्त्र पक्षधर मानिएका दलहरूले एक ठाउँ उभिने सङ्कल्प गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था पुनर्स्थापनाको माग राखेर केही दिनयता काठमाडौँ र देशका केही भागमा समेत नियमितजसो आन्दोलन र प्रदर्शन गरिरहेको छ । पछिल्ला दिनमा राप्रपा, नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापना आन्दोलन समितिले आफ्ना गतिविधि बढाउँदै लगेको छ । गणतन्त्र पक्षधरहरूले पनि राजावादीका गतिविधिलाई चुनौती दिँदै शक्ति प्रदर्शन गर्दै आएका छन् ।
९. राष्ट्रपति बन्ने पासाङको चाहना
पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ सक्रिय राजनीतिमा फर्किएकामात्र होइन, अब सांसद वा मन्त्री बन्न नभई राष्ट्रपतिको जिम्मेवारी पाए निर्वाह गर्न तयार रहेको प्रतिक्रिया जनाएका छन् । पार्टी अध्यक्ष प्रचण्डले राष्ट्रपति वा उपराष्ट्रपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा फर्किने विषयमा संवैधानिक, कानुनी तथा अन्तर्राष्ट्रिय परम्पराले नरोक्ने जिकिर गरे ।
१०. ठेक्काकै बिच ८० प्रतिशत निर्माण कम्पनी कालो सूचीमा
निर्माण कम्पनीहरू कालोसूचीमा पर्ने क्रम जारी छ । सरकारले हरेक वर्ष कुल ठेक्काको ८० प्रतिशत कम्पनीलाई कालो सूचीमा राख्दै आएको छ । यसबारे रातोपाटीले विशेष सामग्री प्रकाशन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण