शीर्ष नेता पक्राउपछि राप्रपाले भन्यो - सरकारको रबैया अलोकतान्त्रिक, सर्वसत्तावादी र निरंकुश चरित्र

काठमाडौँ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बसेको छ। आइतबार बसेको बैठकले सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट आजको लागि पार्टीद्वारा पूर्व निर्धारित कार्यक्रमस्थल बिजुली बजारतर्फ जाने क्रममा प्रहरीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई सिंहदरबार परिसर भित्रैबाट गिरफ्तार गरिनु आपत्तिजनक र दुर्भाग्यपूर्ण भएको ठहर गरेको छ।
सरकारको यसप्रकारको रबैया अलोकतान्त्रिक, सर्वसत्तावादी र विपक्षी आवाजलाई निस्तेज पार्ने निरंकुश चरित्र भएको पनि राप्रपाले बताएको छ ।
‘अध्यक्ष र नेताहरु पक्राउको राप्रपा घोर निन्दा र भत्सर्ना गर्दछ। यसको सर्वत्र विरोध गरिनुपर्छ। शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यक्रमस्थलतर्फ जाँदैगर्दा गिरफ्तार हुनुभएका अध्यक्ष र सबै नेताहरुको अविलम्ब रिहाइको राप्रपा माग गर्दछ,’राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
‘सरकारको रबैयाले स्वतन्त्रतापूर्वक हिडडुल गर्न पाउने, राजनीतिक गतिविधि गर्न पाउने र अभिव्यक्ति स्वतन्त्रताको संविधान प्रदत्त अधिकार कुण्ठित भएको छ,विज्ञप्तिमा अगाडि भनिएको छ,‘संविधान प्रदत्त अधिकारको उपभोग गर्ने क्रममा बाधा अवरोध गरिन्छ भने राप्रपाले आगामी दिनमा थप सशक्त ढंगबाट विरोध र प्रतिवाद गर्नेछ। त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार स्वयं हुनुपर्नेछ। राप्रपा राजसंस्था र हिन्दु राष्ट्रको पुनस्स्थापना, संघीयताको खारेजी लगायतका राजनीतिक, सामाजिक र जनजीविकाका विविध मुद्धाका पक्षमा अझ दृढ रुपमा अघि बढ्नेछ।’
सिंहदरबार र बानेश्वर स्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा आइतबार प्रहरीले राप्रपाका अध्यक्ष लिङ्देन सहित ७ जनालाई पक्राउ गरेको थियो । उनीहरूलाई भद्रकालीमा राखिएको छ ।
गत चैत १५ गतेको तीनकुने घटनाको न्यायिक छानविन हुनुपर्ने र बन्दी बनाइएका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा.धवल शमशेर राणा लगायत सबै, नेता कार्यकर्ताहरुलाई रिहा गर्न समेत राप्रपाले माग गरेको छ ।