राप्रपाको प्रदर्शन : निषेधित क्षेत्रमा सुरक्षा कडाइ
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार काठमाडौँको बिजुली बजारमा प्रदर्शन गर्ने भएको छ । बिहान ११ बजेबाट भेला भई बिजुली बजारमा प्रदर्शन गर्ने राप्रपाको योजना छ ।
प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने अभिव्यक्ति दिएसँगै उपत्यका प्रहरी कार्यालयले प्रतिकारात्मक सुरक्षा योजना बनाएर लागु गरेको छ । जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर सुरक्षा योजना लागु गरिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए ।
राप्रपाले प्रदर्शनको लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको छैन । अनुमति नलिएको र निषेधित क्षेत्र तोड्ने सुराक पाएसँगै निषेधित क्षेत्रमा सुरक्षा कडाइ गरिएको छ । एसएसपी खनाल भन्छन्, ‘निषेधित क्षेत्रमा हामीले सुरक्षाकर्मीको सङ्ख्या बढाएका छौँ ।’
प्रदर्शनकारीहरू भद्रकाली, बबरमहल र बालुवाटारमा जम्मा हुन लागेका छन् । बालुवाटार स्थित प्रधानमन्त्रीको निवास आसपासको निषेधित क्षेत्रमा पनि ठुलो सङ्ख्यामा सुरक्षा परिचालन गर्नेगरी सुरक्षा योजना लागु गरिएको छ । एसएसपी खनाल भन्छन्, ‘काठमाडौँ उपत्यकाको निषेधित ठाउँमा हामीले मजबुत सुरक्षा प्रबन्ध गरेका छौँ ।’
जिल्ला सुरक्षा समितिबाट पारित सुरक्षा योजना अनुसार प्रदर्शन स्थल र निषेधित क्षेत्रमा ब्याक सपोर्टको रूपमा सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहरा भन्छन्, ‘सूचना सङ्कलन गर्न राष्ट्रिय अनुसन्धान विभागबाट पनि सुरक्षाकर्मीहरू परिचालन गर्नेगरी योजना बनाएका छौँ ।’
काठमाडौँ जिल्लाको सुरक्षा कमान्ड एसएसपी विश्व अधिकारीले गर्नेछन् । राप्रपाले प्रदर्शन अनुमति नलिएको हुनाले प्रदर्शन स्थलमा भेला भएकाहरूलाई निगरानी गर्ने र निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्नेहरूलाई पक्राउ गर्ने सुरक्षा रणनीति छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण