बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय
पासाङको कम्ब्याक

राष्ट्रपति बन्ने पासाङको चाहना, प्रश्नको घेरामा प्रचण्ड

आइतबार, ०७ वैशाख २०८२, १८ : ००
आइतबार, ०७ वैशाख २०८२

काठमाडौँ । आइतबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सामु पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’लाई पार्टीको उपाध्यक्ष बनाएको विषयमा सञ्चारकर्मीले प्रश्न उठाए ।

पार्टी कामको सिलसिलामा विराटनगर पुगेका प्रचण्डमाथि उनीहरूले नैतिकताको प्रश्न उठाएका हुन् । प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले राष्ट्रपति वा उपराष्ट्रपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा फर्किने विषयमा संवैधानिक, कानुनी तथा अन्तर्राष्ट्रिय परम्पराले नरोक्ने जिकिर गरे ।

पासाङले नै पार्टीको सिपाही बनेर काम गर्ने इच्छा देखाएपछि आफूले जिम्मेवारी दिएको प्रचण्डले स्पष्ट पारे । ‘पूर्वउपराष्ट्रपतिले पार्टीकै सिपाहीको रूपमा काम गर्न चाहन्छु भनिसकेपछि केही कुराले रोक्ने देखिँदैन । मुख्य कुरा गणतन्त्र सुदृढीकरण हुँदै जानुपर्‍यो । राम्रोसँग काम गर्नुपर्‍यो । राष्ट्रपति र उपराष्ट्रपतिले मात्रै बचाएर गणतन्त्र बच्दैन । नामले बच्ने होइन, कामले बच्ने हो’, पार्टी निर्णयको बचाउ गर्दै प्रचण्डले भने ।

जिम्मेवारी पाएसँगै पूर्वउपराष्ट्रपति पासाङ अहिले पार्टी राजनीतिमा सक्रिय देखिएका छन् । चैत १८–१९ मा सम्पन्न माओवादीको पदाधिकारी बैठकले उनलाई केन्द्रीय सदस्य, स्थायी समिति सदस्य तथा उपाध्यक्षको जिम्मेवारी दिएको थियो । जिम्मेवारी पाए लगत्तै उनी वैशाख १ र २ गते नवलपुरमा पार्टीले सञ्चालन गरेको पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियानमा जोडिएका थिए ।

राज्यको उच्च तहमा पुगेका सम्मानित व्यक्ति फेरि सक्रिय राजनीतिमा सहभागी हुन नहुने पार्टीभित्र र बाहिरका सुझावलाई उपेक्षा गर्दै पासाङ पार्टी जिम्मेवारीमा फर्किए । तर आफू र पार्टीमाथि उठेका प्रश्नलाई पन्छाउँदै उनले यसलाई कार्यविभाजनको रूपमा बुझ्न आग्रह गरेका छन् । शनिबार प्यूठानमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले कम्युनिस्ट वा वामपन्थीहरूले सत्ता, पद तथा प्रतिष्ठालाई  कसरी बुझ्छन् भन्ने कुरा मुख्य भएको तर्क गरे । 

nanda bahadu rpun

‘कम्युनिस्ट तथा वामपन्थीहरूले सत्ता, पद, प्रतिष्ठालाई कसरी बुझ्छ भन्ने कुरा मुख्य हो । यसलाई माओवादीले कार्यविभाजनको रूपमा बुझ्छन् । कुनै स्थायी पोष्ट वा पदको रूपमा बुझ्दैनन्’, उनले भने, ‘पार्टीले मलाई उपराष्ट्रपति पदमा दुई कार्यकालका लागि पठायो । त्यो कार्यविभाजन थियो । अहिले मलाई पार्टीले दिएको जिम्मेवारी पनि कार्यविभाजन मात्र हो, कुनै ठुलो कुरा होइन ।’

कुनै सांसद पदमा उठ्न वा मन्त्री बन्न सक्रिय राजनीतिमा नआएको दाबी गर्दै पासाङले पार्टी, क्रान्ति र जनताको मुक्तिका लागि जिम्मेवारी पूरा गर्नु आफ्नो कर्तव्य भएको जिकिर गरे ।

‘म त्यो पदमा पुगिसकेपछि फेरि सांसद बन्न, मन्त्रीका लागि मरिहत्ते गर्ने मेरो कुनै लक्ष्य छैन । पार्टी, क्रान्ति र जनताको मुक्तिका लागि सुदृढ गर्ने, वैचारिक राजनीतिमा सहभागी हुने, त्यहाँ भएका अनेक खालका प्रवृत्तिसँग बहस, छलफल गर्ने यी सबै कम्युनिस्ट क्याडरले गर्ने कर्तव्य हो । यही कर्तव्य बुझेर म राजनीतिमा आएको हुँ । फेरि मन्त्री बन्न, सांसदमा उठ्न फेरि सत्तामा पुग्नका लागि यो आएको छ भन्ने कुरा होइन’, उनले भने ।

यदि भोलि पार्टीको कोटामा राष्ट्रपति बन्ने अवसर आयो वा त्यतिबेला आवश्यक ठानेर पार्टीले निर्णय गरेको खण्डमा खुला रहेको पासाङको भनाइ थियो । ‘राष्ट्रपति मभन्दा माथिको पोष्ट हो । भोलि माओवादीको कोटामा राष्ट्रपति पर्‍यो र पार्टीले मलाई राष्ट्रपति बन्न निर्णय गरेर पठाएको खण्डमा खुला छ । त्यो नैतिक पनि हुन्छ तर सांसद र मन्त्री हुने कुरा नैतिक हुँदैन’, उनले भने ।

माओवादीको पुस २१–२३ सम्म सम्पन्न केन्द्रीय समिति बैठकमा अधिकांश नेताले राज्यको उच्च तथा सम्मानित पदमा पुगेको व्यक्ति फेरि पार्टी राजनीतिमा फर्किन नहुने तर्क गरेका थिए । राष्ट्रपति तथा उपराष्ट्रपति गणतन्त्रको प्रतीक भएकाले यस्ता व्यक्तिहरू अवकाशपछि पनि समाज रूपान्तरणका लागि आदर्श व्यक्ति बन्नुपर्ने पार्टीभित्र र बाहिर चर्को बहस भएको थियो । माओवादीका अधिकांश नेताहरूले यस्ता निर्णयले पार्टी बाहिर राम्रो सन्देश प्रवाह नहुने नेतृत्वसमक्ष सुझाव दिएका थिए ।

चौतर्फी आलोचनालाई बेवास्ता गर्दै माओवादीले चैत २४ गते पासाङलाई पार्टीको उपाध्यक्ष पदमा सुनिश्चित गरेको परिपत्र मातहतका समितिलाई पठाएको थियो । 

सचिव चक्रपाणि खनाल ‘बलदेव’ले लामो समय सक्रिय राजनीति गरेको व्यक्ति बन्द कोठामा निष्क्रिय भएर बन्न नचाहेको भन्दै पूर्वउपराष्ट्रपतिकै इच्छा अनुसार पार्टीले जिम्मेवारी दिएको स्पष्ट पारे ।

‘पासाङजीलाई पार्टी राजनीतिमा फर्किन कुनै संवैधानिक, कानुनी समस्या छैन । उहाँले नै म सक्रिय राजनीतिमा लागेको मान्छे कोठामा निष्क्रिय भएर बस्न सकिएन । पार्टीमा भूमिका दिनुपर्‍यो भनेपछि उपाध्यक्षको जिम्मेवारी दिएको हो’, उनले भने, ‘कुनै आग्रह वा पूर्वाग्रहको आधारमा जिम्मेवारी दिएको होइन । उहाँलाई राज्यले केही सेवा सुविधा पनि दिएको छैन । राज्यको उच्च तहमा पुगिसकेको व्यक्ति फेरि किन पार्टीको जिम्मेवारीमा फर्किनुपर्‍यो भन्ने केहीलाई लागेको हुन सक्छ । देशको राष्ट्रपति वा उपराष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्किनै हुँदैन भन्ने कुनै बाध्यकारी नियम छैन ।’

माओवादीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सुदन किरातीले पासाङलाई जिम्मेवारी दिने वा नदिने विषयभन्दा पनि गणतन्त्र धरापमा पर्न लागेकोमा चिन्ता व्यक्त गरे । देशको सम्मानित पदमा पुगेका व्यक्ति फेरि सक्रिय राजनीतिमा फर्किने वा नफर्किने विषय कुनै संवैधानिक वा कानुनी विषयभन्दा पनि नैतिकताको विषय भएको किरातीले बताए । यद्यपि यस विषयमा आफूले असहमति राखेको भए पनि पार्टीले नै निर्णय गरेपछि बोल्न आवश्यक नभएको उनको भनाइ छ ।

‘पासाङलाई जिम्मेवारी दिने/नदिने विषयभन्दा पनि गणतन्त्र र धर्म निरपेक्ष धरापमा परिसकेको छ । मैले त राज्यको माथिल्लो तहमा पुगिसकेको व्यक्तिलाई फेरि पार्टीको जिम्मेवारी दिन हुँदैन भनेर भनेको थिएँ । यो कुनै संवैधानिक, कानुनी विषयभन्दा पनि नैतिक विषय हो । पार्टीले नै निर्णय गरेर जिम्मेवारी दिइसकेपछि यसमा बोल्नु आवश्यक छैन । बहस आवश्यक भएको खण्डमा भोलि फेरि यस विषयमा कुरा उठाउन सकिन्छ’, उनले भने ।

पासाङ कात्तिक २६ गते प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा पहिलोपटक सहभागी भएका थिए । पछिल्लो केन्द्रीय समिति बैठकले उनलाई आर्थिक उत्पादन संयन्त्रको इन्चार्ज बनाउने निर्णय गरेको थियो । पार्टीको आन्तरिक बैठकमा लगातार उपस्थित रहेका पासाङ उपाध्यक्षको जिम्मेवारी नपाएपछि पार्टीले सञ्चालन गरेको अभियानमा जोडिएका थिएनन् । नवलपुरको अभियानमा पासाङले कमान्डिङ गरिरहँदा पार्टी उपमहासचिवहरू वर्षमान पुन र जनार्दन शर्मा देखिएका थिएनन् । पुन र शर्मा झापादेखि मधेसको रौतहटसम्म सक्रिय सहभागी भएका थिए । उनलाई महत्त्वपूर्ण जिम्मेवारी दिएको विषयमा प्रचण्डमाथि चौतर्फी प्रश्न उठिरहँदा आगामी दिनमा पार्टी जीवनमा असर पर्नसक्ने माओवादीका अधिकांश नेताहरूले बताएका छन् । माओवादी जनमुक्ति सेनाको पूर्वडेपुटी कमाण्डरसमेत रहेका पासाङ २०७२ सालदेखि २०७९ सालसम्म उपराष्ट्रपति थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप