बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय
यातायात

ट्याक्सीमा नयाँ मापदण्ड: एक हजार सीसीभन्दा बढी क्षमताका मात्रै दर्ता हुने

एसी र वाईफाई अनिवार्य, अरू केके सुविधा राख्नुपर्ने ?
आइतबार, ०७ वैशाख २०८२, ०६ : २८
आइतबार, ०७ वैशाख २०८२

काठमाडौँ । अबदेखि सरकारले एक हजार सीसीभन्दा कम क्षमताका ट्याक्सी दर्ता नहुने मापदण्ड बनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ट्याक्सीको रूपमा सवारीसम्बन्धी राष्ट्रिय मापदण्ड लागु गर्दै अबदेखि कम्तीमा १ हजार सीसी क्षमताका ट्याक्सी मात्रै दर्ता हुने व्यवस्था गरेको छ ।

यातायात व्यवस्था विभागले तयार पारेको ट्याक्सीको नयाँ मापदण्ड मन्त्रालयले गत चैत १४ गते स्वीकृत गरिसकेको छ । सोही दिनबाटै कार्यान्वयनमा आउने मापदण्डमा उल्लेख भएको भए पनि राजपत्रमा प्रकाशित गरेपछि मात्रै कार्यान्वयनमा आउने मन्त्रालयले जनाएको छ । 

‘राजपत्रमा प्रकाशित हुन बाँकी छ । लगभग कार्यान्वयनमा आइसक्यो भन्दा पनि हुन्छ,’ मन्त्रालयका एक अधिकारीले नाम नबताउने सर्तमा भने, ‘राजपत्रमा प्रकाशित हुनेबत्तिकै कार्यान्वयनमा आउँछ ।’

उनका अनुसार मापदण्डमा थुप्रै नयाँ व्यवस्था गरिएकको छ । ट्याक्सी वर्गीकरण गरी विशिष्ट ट्याक्सीमा सबै सिटमा अनिवार्य सिटबेल्ट, एसी, वाईफाई इन्टरनेट, हेडरेस्ट, आमरेस्ट, कप होल्डर, अनिवार्य गरेको छ । जसको कारण ट्याक्सी प्रयोग कर्तालाई  सेवासुविधाअनुसार थप महँगी पर्ने उनको तर्क छ । 

नयाँ मापदण्डअनुसार अबदेखि इन्धनमा एक हजार सीसी र ईभीमा ४० किलोवाट क्षमताभन्दा कम पावरट्रेन भएका गाडी ट्याक्सी दर्ता हुन पाउने छैनन् । अहिले ८ सय सीसीभन्दा कम क्षमताका सञ्चालनमा छन् । पछिल्लो समय ईभीको आयातले लग्जरी सेगमेन्टका ट्याक्सीसमेत सञ्चालनमा छन्  ।

साथै प्रत्येक ट्याक्सीमा इम्बोस्ड नम्बर प्लेट जडान गरिएको हुनुपर्ने उल्लेख छ । साथै ट्याक्सीको छतमा पहेँलो रङ लगाइएको हुनुपर्ने उल्लेख छ ।

आन्तरिक इन्जिन जडित सवारी १२०० सीसीभन्दा माथि क्षमता हुनुपर्ने छ । इन्जिन डिस्प्लेसमेन्ट भोल्युम १.५ प्रतिशतसम्म कमसमेत समावेश भएको हुनेछ । यस्तै विद्युतीय सवारीको हकमा ब्याट्रीबाट सञ्चित हुने ऊर्जा (किलोवाट आवर) र सवारीको कुल भार (जीभीडब्लु, केजी) बीचको न्यूनतम अनुपात ०.१९ हुनुपर्ने उल्लेख छ । 

आकार यान्त्रिक क्षमता तथा उपलब्ध सुविधास्तरलगायत आधारमा ट्याक्सीलाई साधारण(अर्डिनरी) विशेष(डिलक्स) र विशिष्ट(लक्जरी) गरी तीन किसिमले छुट्याएको छ । 

सोहीअनुसार एक हजार सीसी सञ्चालित ट्याक्सी साधारण, १२ सय सीसी क्षमताभन्दा माथिका डिलक्स र २ हजार सीसी क्षमता माथिका ट्याक्सीलाई लक्जरी ट्याक्सीका रूपमा वर्गीकरण गरेको छ । 

सरकारले साधारण बाहेकका डिलक्स र लक्जरी ट्याक्सीमा एन्टी लक ब्रेकिङ सिस्टम (एबीएस) सँगै इलेक्ट्रनिक ब्रेक फोर्स डिस्ट्रब्युसन (ईबीडी), ड्राइभर र को ड्राइभर एयर ब्याक (कम्तीमा दुई), हाई स्पिड आलर्ट सिस्टम, सबै सिटमा सिटबेल्ट अनिवार्य, सहचालकलाई सिटबेल्ट, पार्किङ सेन्सर र रियर भिउ क्यामेरा, सीसी टीभी क्यामेरा अनिवार्य गरेको छ । 

साधारण ट्याक्सीमा हुनुपर्ने विशेषता 

आन्तरिक दहन इन्जिनजडित (पेट्रोलियम पदार्थ) सवारीको हकमा इन्जिन डिस्प्लेसमेन्ट भोल्युम १.५ प्रतिशतसम्म कमसमेत समावेश हुने, एक हजार सीसी वा सोभन्दा माथि क्षमता भएको हुनुपर्ने उल्लेख छ । साथै विद्युतीय सवारी हाइड्रोजन फ्युल सेल आधारित सवारीसमेत) को ब्याट्रीमा सञ्चित हुने ऊर्जा (किलोवाट आवर) र सवारीको कुल भार (जीभीडब्लु, केजी) बिचको अनुपात न्यूनतम ०.०१५ प्रतिशत हुनुपर्ने उल्लेख छ । 

आन्तरिक दहन इन्जिन जडित वा विद्युतीय दुवै सवारीको इन्जिन वा मोटर अधिकतम ४० किलोवाट वा सोभन्दा माथि हुनुपर्ने उल्लेख छ । यसैगरी इन्जिन वा मोटर टर्क अधिकतम ६५ न्युटन वा सोभन्दा माथि हुनुपर्ने छ । ह्विल बेस २ हजार ३ सय मिलिमिटर वा सोभन्दा माथि, बुट स्पेस मालसामान राख्ने क्षमता सबै सिट सीधा अवस्थामा राख्दा १६० लिटर वा सोभन्दा माथि हुनुपर्ने उल्लेख छ । 

तर हाल सञ्चालनमा रहेका ट्याक्सीलाई भने कुनै बाधा नपर्नेसमेत जनाइएको छ  ।

डिलक्स ट्याक्सीमा १ हजार २ सय सीसीभन्दा बढी क्षमतको हुनुपर्ने 

आन्तरिक इन्जिन जडित सवारी १२०० सीसीभन्दा माथि क्षमता हुनुपर्ने छ । इन्जिन डिस्प्लेसमेन्ट भोल्युम १.५ प्रतिशतसम्म कमसमेत समावेश भएको हुनेछ । यस्तै विद्युतीय सवारी (हाइड्रजन फ्युल सेल आधारित सवारी) को हकमा ब्याट्रीबाट सञ्चित हुने ऊर्जा (किलोवाट आवर) र सवारीको कुल भार (जीभीडब्लु, केजी) बीचको न्यूनतम अनुपात ०.१९ हुनुपर्ने उल्लेख छ । 

साथै आन्तरिक दहन इन्जिन जडित वा विद्युतीय दुवै सवारीको इन्जिन वा मोटर अधिकतम ५० किलोवाट वा सोभन्दा माथि हुनुपर्ने उल्लेख छ । यसैगरी इन्जिन वा मा इन्जिन वा मोटर टर्क अधिकतम ८० न्यूटन वा सोभन्दा माथि हुनुपर्ने छ । ह्विल बेस २५०० मिलिमिटर वा सोभन्दा माथि, बुट स्पेस मालसामान राख्ने क्षमता सबै सिट सीधा अवस्थामा राख्दा २ सय लिटर वा सोभन्दा माथि हुनुपर्ने उल्लेख छ । 

साथै अन्य सुविधामा टचसहित डिस्प्ले स्क्रिन कम्तीमा एक, विद्युतीय स्वीचबाट खुल्ने र बन्द हुने झ्याल (अगाडि, पछाडि) जाडो गर्मी सबै मौसमका लागि उपयुक्त हुने वातानुकुलित प्रणाली जडान गर्नुपर्ने उल्लेख छ । 

यो सवारी निर्माताकम्पनी बाहेक अन्य पक्षले जडान गरेको डिस्प्लेसमेत मान्य हुने उल्लेख गरिएको छ । 

लग्जरी ट्याक्सीमा २ हजार सीसीभन्दा बढी क्षमताको हुनुपर्ने 

आन्तरिक दहन इन्जिन जडित (पेट्रोलियम पदार्थबाट चल्ने) सवारीको हकमा इन्जिन डिस्प्लेसमेन्ट भोल्युम १.५ प्रतिशतसम्म कम समेत समावेश हुने साथै २ हजार वा सोभन्दा बढी क्षमता भएको हुनुपर्ने व्यवस्था गरेको छ । साथै विद्युतीय सवारी (हाइड्रोजन फ्युल सेल आधारित सवारीसमेत) ब्याट्रीमा सञ्चित हुने ऊर्जा (किलोवाट आवर) र सवारीको कुल भार (जीभीडब्लु केजी) बीचको न्यूनतम अनुपात ०.०२५ हुनुपर्ने व्यवस्था गरेको छ । पेट्रोलियम पर्दाथबाट चल्ने तथा विद्युतीय सवारीको इन्जिन वा मोटर शक्ति १०० किलोवाट क्षमता वा सोभन्दा माथि हुनुपर्ने उल्लेख छ । साथै दुवै प्रकृतिका सवारीको इन्जिन वा माटरटर्क १७० न्यूटन मिटर वा सोभन्दा माथि हुनुपर्ने व्यवस्था गरेको छ । 

विद्युतीय स्विचबाट खुल्ने र बन्द हुने झ्याल हुनुपर्ने, जाडो गर्मी सबै मौसमको लागि उपयुक्त हुने हावाको गुणस्तर नियन्त्रणसहित स्वचालित वातावरण नियन्त्रण क्षमताको वातानुकूलन प्रणालीको व्यवस्था हुनुपर्ने सुविधामा उल्लेख छ ।

यसैगरी ह्विल बेस पनि २ हजार ७०० मिलिमिटर वा सोभन्दा माथि र बुट स्पेस (मालसामान राख्ने क्षमता) सबै सिट सीधा अवस्थामा राख्दा ४०० लिटर वा सोभन्दा माथि हुनुपर्ने व्यवस्था गरेको छ ।

यसैगरी अन्य सुविधामा, विद्युतीय स्विचबाट खुल्ने र बन्द हुने झ्याल हुनुपर्ने, जाडो गर्मी सबै मौसमको लागि उपयुक्त हुने हावाको गुणस्तर नियन्त्रणसहित स्वचालित वातावरण नियन्त्रण क्षमताको वातानुकूलन प्रणालीको व्यवस्था हुनुपर्ने उल्लेख छ । पछाडिको सिटमा शिर अड्याउने हेडरेस्ट, पछाडिको यात्रुका लागि हात अड्याउने आर्म रेस्ट हुनुपर्ने, अगाडि पछाडि कप होल्डर हुनुपर्ने व्यवस्था गरेको छ ।

यतैगरी पछाडिको सिटका यात्रुका लागि समेत मोबाइल तथा अन्य विद्युतीय उपकरणहरू चार्ज गर्न डीसी वा एसी पावर आउटलेट हुनुपर्ने, वाईफाई इन्टरनेट सुविधा हुनुपर्ने उल्लेख छ  । यस्तैगरी अगाडिको शिर कक्ष र पछाडिको शिर कक्ष कम्तीमा क्रमश १ हजार मिलिमिटर र ९५० मिलिमिटर हुनुपर्ने (१ प्रतिशतसम्म कम समेत समावेश हुने गरी) र अगाडिको पाउ कक्ष र पछाडिको पाउ कक्ष कम्तीमा क्रमश १ हजार मिलिमिटर र ९०० मिलिमिटर हुनुपर्ने (१ प्रतिशतसम्म कम समेत समावेश हुनेगरी ) व्यवस्था गरेको छ । 

सवारी निर्माता कम्पनीबाहेक अन्य पक्षले जडान गरेको डिस्प्ले तथा वाईफाई इन्टरनेट सुविधासमेत मान्य हुने जनाइएको छ । 

हाल सञ्चालनमा रहेका ट्याक्सीको पनि वर्गीकरण हुने 

हाल सञ्चालनमा रहेका ट्याक्सीको वर्ग कायम गर्न सकिनेछ । डिलक्स वा लक्जरी वर्गमा पर्ने भए उक्त वर्गमा राख्न चाहने सवारीधनीले सवारी दर्ता गर्ने कार्यालयमा निवेदन दिनुपर्नेछ । उक्त कार्यालयले आवश्यक जाँचबुझ गरी मापदण्डमा तोकिएको विशेषता तथा सुविधा भएको सवारीलाई डिलक्स वा वर्गको ट्याक्सीको रूपमा दर्ता प्रमाणपत्रमा वर्ग उल्लेख गरिदिन सक्ने मापदण्डमा व्यवस्था गरेको छ । 

उक्त मापदण्ड लागु भएको ६ महिनाभित्र सम्बन्धित सवारीधनीले पालाना गरिसक्नु पर्ने जनाइएको छ । मापदण्ड पालना नगरेमा सवारी दर्ता कार्यालय र अन्य अधिकार प्राप्त कार्यालयले जाँचपास प्रमाणपत्र तथा बाटो इजाजतपत्र नवीकरण रद्द गर्न सक्ने व्यवस्था गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप