आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय
ग्यास आयात

उद्योगीको ‘लबिङ’मा ४५० केजीको ग्यास सिलिन्डर आयातको तयारी

सोमबार, ०८ वैशाख २०८२, १२ : १६
सोमबार, ०८ वैशाख २०८२

काठमाडौँ । सरकारले ४५० केजी परिमाणको ग्यास सिलिन्डर आयातको प्रक्रिया बढाएको छ । यसका लागि मापदण्ड बनाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल गुणस्तर तथा नाप तौल विभागको संयोजकत्वमा एउटा समिति तयार गरिसकेको छ ।

यस समितिले अहिले छलफल गरिरहेको विभागका प्रवक्ता प्रभातकुमार सिंहले रातोपाटीलाई बताए । उनले भने, ‘तर मापदण्ड बनाउने प्रक्रिया भने अघि बढाइएको छैन ।’ 

नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले पनि गुणस्तर तथा नापतौल विभागको संयोजकत्वमा गठन भएको समितिले मापदण्ड बनाएर मन्त्रालयले आयात अनुमति दिएपछि ४५० केजी परिमाणको ग्यास आयात थालिने बताए । 

‘एउटा समिति बनाएर त्यसको गुणस्तर अध्ययनसहित मापदण्ड तयार गर्दैछ,’ उनले भने, ‘हुन त आधिकारिक रूपमा जानकारी पाइएको छैन, यसको प्रक्रिया पूरा गरेर मन्त्रालय तथा अरू निकायले गर्नुपर्ने काम गरिसकेपछि निगमले आयातका लागि प्रोसेस गर्छ ।’

४५० केजी परिमाणको ग्यास सिलिन्डर ठिक छ भनेर मन्त्रालयले निर्देशन दिएपछि आयात गर्ने उनले बताए । 

सरकारले उक्त परिमाणको ग्यास आयात गर्ने भएपछि अहिले यो विषयमा आलोचना हुन थालेको छ । हाल बजारमा १४.२ केजी परिमाण तौल भएको एलपी ग्यास सिलिन्डर प्रयोगमा छ । जसको प्रयोगले दुर्घटना निम्त्याइरहेको छ । ठुलो परिमाण (४५० केजी) को ग्यास सिलिन्डर प्रयोगका क्रममा दुर्घटना भए झनै ठुलो क्षति हुने भएकाले आयात गर्न नहुने उपभोक्ता अधिकारकर्मीहरूले बताउँदै आएका छन् । 

  • उद्योगीको लबिङमा मापदण्ड 

पछिल्लो समय केही एलपी ग्यास उद्योगीले उद्योग मन्त्रालयमा ठुलो साइजको ग्यास सिलिन्डर ल्याउन पाइयोस् भनेर लबिङ गरिरहेका एक उद्योगीले बताए । कुनै ठोस अध्ययन नै नगरी उद्योगीहरूको लबिङमै निजी स्वार्थमा उद्योग मन्त्री दामोदर भण्डारीले ठुलो सिलिन्डर ल्याउने मापदण्ड बनाउन थालेका ती उद्योगीको आरोप छ ।

‘व्यवसायीले प्रशस्तै निवेदन दिएका छन्,’ मापदण्ड नभएकाले सजिलै आयात गर्न मिल्दैन । त्यसैले मापदण्ड बनेर सम्बन्धित निकायको निर्देशनपछि आयात अनुमति दिन्छौँ ।’ 

‘त्यसरी बनाउनु हुँदैन । यो साइजको ग्यास सिलिन्डर आयात गर्न पाऊँ भन्दै पछिल्लो समय उद्योगीले लबिङ गरिरहेका छन् । साहीअनुसार मापदण्ड बनाइँदैछ,’ उनले भने ।   

निगमका कार्यकारी निर्देशक भट्टले पनि ग्यास उद्योगीहरूले करिब १० वर्षअघि नै ४५० केजी परिमाणको ग्यास आयातका लागि निवेदन दिँदै आएका बताए । तर मापदण्ड नभएका कारण निगमले आयात अनुमति दिन सकेको थिएन । अब भने मापदण्ड बनेर स्वीकृत भएपछि आयात अनुमति दिने भट्ट बताउँछन् ।

‘व्यवसायीले प्रशस्तै निवेदन दिएका छन्,’ मापदण्ड नभएकाले सजिलै आयात गर्न मिल्दैन । त्यसैले मापदण्ड बनेर सम्बन्धित निकायको निर्देशनपछि आयात अनुमति दिन्छौँ ।’ 

  • के भन्छन् ग्यास उद्योगी ?

एलपी ग्यास उद्योग संघका महासचिव जीत बहादुर कार्की पनि ४५० केजी परिमाणको ग्यास सिलिन्डर आवश्यक छ/छैन भन्ने विषयमा अध्ययन नै नभएको बताउँछन् । 

‘आफ्ना तर्क त हन्छन् । कसैले आवश्यक महसुस गरेको भए उसले आफ्नो तर्क र महशुस नगर्नेले आफ्नो तर्क व्यक्त गर्न सक्छ,’ कार्कीले भने, ‘केही उद्योगीलाई फर्निस आयल, डिजेल प्रयोग गरेका उद्योगलाई ठुलो साइजको ग्यास सिलिन्डरबाट प्रतिस्थापन गर्न सकिन्छ भन्ने छ । त्यसले पर्यावरणमा पनि सुधार हुन्छ, लागत पनि कम लाग्छ, हरेक हिसाबले सहुलियत हुन्छ भन्ने बुझाइ छ ।’

ग्यास प्रज्वलनशील वस्तु भएकाले जोखिमयुक्त हुन्छ । हाल सबै प्रयोजनमा १४.२ केजी परिमाणको ग्यास सिलिन्डर प्रयोग हुँदै आएको छ ।

उनका अनुसार कति उद्योग छन्, कति पर्यावरणमा प्रभाव पारेको छ, कार्वन कति उत्सर्जन गरेको छ र यसले कति सहज हुन्छ भन्ने डेटा एनालाइसिस भएको छैन । जसका कारण यस विषयमा अध्ययन नभएकाले मापदण्ड बन्न सकेको थिएन । तर ४/५ वर्ष पहिला हेटौँडाका केही उद्योगले प्रयोग गरेको पाइएपछि निगममा उजुरी परेको थियो । साथै मापदण्ड नभएको भन्दै ती सिलिन्डर प्रयोगमा रोक लगाइएको उनले जानकारी दिए । साथै आजकोे आवश्यकता हेरी मापदण्ड तयार गर्नुपर्नेमा उनले जोड दिए । 

‘हाल मार्केटमा भएका सिलिन्डर प्रतिस्थापन गर्न जरुरी छैन । अहिले भएकै सिलिन्डरलाई थप व्यवस्थित गर्न सकिएको छैन । व्यवस्थित गर्न थप कामहरू गर्नुपर्ने छ,’ उनले भने, ‘तर होइन, मार्केटको आवश्यकता अहिलेको चिजले धान्दैन र नयाँले समस्या समाधान हुन्छ भन्ने हो भने प्रयोग गर्न सकिन्छ ।’ 

तर यसमा ठोस अध्ययन भने हुनेपर्ने उनले बताए । ‘के  कति आवश्यक छ ? आवश्यक हो/होइन ? निष्पक्ष भएर अध्ययन गरी मापदण्ड बनाइनुपर्छ ।’ उनले सुझाव दिए । 

  • घरायसी तथा होटलमा उपयुक्त हुँदैन

ग्यास प्रज्वलनशील वस्तु भएकाले जोखिमयुक्त हुन्छ । हाल सबै प्रयोजनमा १४.२ केजी परिमाणको ग्यास सिलिन्डर प्रयोग हुँदै आएको छ । ४५० केजी परिमाणको सिलिन्डर औद्योगिक प्रयोजनका लागि मात्र उपयुक्त हुने कार्की बताउँछन् ।

साथै घरायसी तथा होटल रेस्टुरेन्टका लागि यो परिमाणको (४५० केजी) ग्यास सिलिन्डर उपयुक्त नभएको उनको तर्क छ । 

‘१४.२ केजी भन्दा ४५० केजी परिमाणमा कति गुणाले फरक छ । ग्यास एउटा रिस्की वस्तु हो,’ उनले भने, ‘अहिले प्रयोग भएको सिलिन्डरले करिब ३/४ महिनासम्म धान्न सक्छ । ठुलो परिमाणको सिलिन्डर सकिन लामो समय लाग्ने हुँदा म्याद गुज्रिन पनि सक्छ ।’

हाल प्रयोग भइरहेका सिलिन्डर विष्फोटमा ठुलो क्षति हुने गरेको छ । यसले भन्दा ४५० केजीको सिलिन्डर विष्फोटले कैयौँ गुणा क्षति हुन सक्ने भएकाले औद्योगिक प्रयोजनमा मात्रै यसलाई प्रयोग गर्न सकिने उनले सुझाव दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप