शुक्रबार, १९ वैशाख २०८२
ताजा लोकप्रिय

कति पारिश्रमिक पाउँछन् आईपीएलका चियरलिडर्सले ?

मङ्गलबार, ०९ वैशाख २०८२, १५ : १०
मङ्गलबार, ०९ वैशाख २०८२

काठमाडौँ । विश्वकै लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगितामध्येको एक इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करण हाल जारी छ । सहभागी अधिकांश टोलीले आधाभन्दा बढी खेल खेलिसकेका छन् । 

आईपीएललाई रमाइलो बनाउने विभिन्न पक्षमध्ये चियरलिडर पनि एक हो । ब्याट्सम्यानले चौका वा छक्का प्रहार गर्दा होस् वा बलरले विपक्षी टोलीका ब्याट्सम्यानलाई पेभेलियन फर्काउँदा, चियरलिडरले आफ्नै तरिकाले दर्शकलाई रमाइलो गराउँछन् । 

आईपीएलमा आखिर कसले बेहोर्छ त चियरलिडरको खर्च ? अनि, कति पारिश्रमिक पाउँछन् चियरलिडरले ? खासमा आईपीएलमा सहभागी टोलीहरूले चियरलिडरको खर्च व्यहोर्छन् । सहभागी १० वटै टोलीले आफ्ना लागि विदेशबाट चियरलिडरलाई ल्याएका हुन्छन् ।

आईपीएलका लागि अधिकांश चियरलिडर रुस, युक्रेन, ब्राजिल, अमेरिका र अस्ट्रेलियाबाट ल्याउने गरिएको छ । पछिल्लो समय भारतकै चियरलिडर पनि यो व्यवसायमा सक्रिय भएका छन् । तर, क्लबहरूले विदेशी चियरलिडर्सलाई बढी प्राथमिकता दिने गरेका छन् । 

आफ्नो टोलीको खेल जुनसुकै सहरको रंगशालामा भए पनि ती चियरलिडरहरु त्यहाँ पुगेका हुन्छन् । सम्बन्धित क्लबले आफ्ना चियरलिडरलाई पनि खेलाडीसँगै विभिन्न शहरमा लैजाने गर्छन् । यसरी ल्याइएका प्रत्येक चियरलिडरले आईपीएल अवधिभरमा लाखौँ रुपैयाँ पारिश्रमिक पाउँछन् । 

समाचारमा जनाइए अनुसार, आईपीएल अवधिभरमा प्रत्येक चियरलिडरले दुईदेखि चार लाख भारतीय रुपैयाँसम्म पारिश्रमिक पाउने गर्छन् । तर, प्रत्येक आईपीएल क्लबले चियरलिडरलाई दिने पारिश्रमिक छुट्टाछुट्टै हुन्छ । 

औसतमा प्रत्येक खेलका लागि एउटा चियरलिडरले १२ देखि २५ हजार भारतीय रुपैयाँसम्म पारिश्रमिक पाउँछन् । समाचारमा जनाइए अनुसार, मुम्बई इन्डियन्सले प्रत्येक खेलका लागि चियरलिडरलाई जनही २० हजार भारतीय रुपैयाँ पारिश्रमिक दिन्छ । 

आईपीएलको प्रारम्भिक चरणमा प्रत्येक टोलीले १४–१४ खेल खेल्छन् । त्यसैले मुम्बई इन्डियन्सबाट आईपीएल अवधिभर प्रत्येक चियर लिडरले कम्तिमा दुई लाख ८० हजार भारतीय रुपैयाँ पाउँछन् । सम्बन्धित टोली प्ले–अफ चरण वा फाइनलमा पुगेमा यो रकममा पनि बृद्धि हुन्छ । 

बलिउड अभिनेता शाहरुख खानको स्वामित्वमा रहेको कोलकाता नाइट राइडर्सले चियरलिडरलाई सबैभन्दा बढी पारिश्रमिक दिन्छ । कोलकाताले प्रत्येक खेलका लागि चियरलिडरलाई जनही २५ हजार भारतीय रुपैयाँ पारिश्रमिक उपलब्ध गराउँछ । 

यस आधारमा कोलकाता नाइट राइडर्सबाट प्रत्येक चियरलिडरले आईपीएल अवधिभरमा कम्तिमा तीन लाख २० हजार भारतीय रुपैयाँ पारिश्रमिक पाउँछन् । चेन्नई सुपर किङ्सले प्रत्येक खेलका लागि आफ्ना चियरलिडरलाई जनही १७ हजार भारतीय रुपैयाँ पारिश्रमिक दिन्छ । 

अन्य क्लबले पनि आफ्ना चियरलिडरलाई प्रत्येक खेलका लागि जनही १२ देखि १४ हजार भारतीय रुपैयाँसम्म पारिश्रमिक उपलब्ध गराउने गर्छन् । यसका अतिरिक्त क्लबहरूले चियरलिडर्सलाई बोनस र अन्य सुविधा पनि उपलब्ध गराएका हुन्छन् । चियरलिडर्सको आवास, खानपिन, यात्रा र स्वास्थ्य उपचारजस्ता कुराको व्यवस्था पनि सम्बन्धित क्लबले नै मिलाएका हुन्छन् ।

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप