बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगिताको तयारी : कप्तान पौडेलसहित ऐरीको टोलीबिच आन्तरिक प्रतियोगिता

मङ्गलबार, ०९ वैशाख २०८२, १६ : ५१
मङ्गलबार, ०९ वैशाख २०८२

काठमाडौँ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगिताको आफ्नो आगामी खेलका लागि टोली चयन गर्नुअघि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आन्तरिक प्रतियोगिता आयोजना गर्ने भएको छ । 

क्यानले लिग–२ प्रतियोगिताका लागि प्रशिक्षण सञ्चालन गर्न गत चैत तेस्रो साता ४८ सदस्यीय टोली घोषणा गरेको थियो । 

प्रशिक्षणमा रहेका खेलाडीहरूलाई नै सहभागी गराएर क्यानले आन्तरिक प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रशिक्षणमा रहेका खेलाडी बाहेक आन्तरिक प्रतियोगिताका लागि टोलीमा केही युवा खेलाडीलाई पनि स्थान दिइएको छ । 

आन्तरिक प्रतियोगिताका लागि खेलाडीहरूलाई चार वटा टोलीमा विभाजन गरिएको छ । टोलीको नाम नेपाल ब्लू (निलो), नेपाल ग्रिन (हरियो), नेपाल रेड (रातो) र नेपाल यलो (पहेँलो) राखिएको छ । चार वटै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् । 

निलो टोलीमा रोहित कुमार पौडेल (कप्तान), प्रज्ज्वल थापा (विकेटकिपर), देव खनाल, अनिल कुमार साह (विकेटकिपर), सकिब हक, सूर्य तामाङ, सन्दीप जोरा, कुशल मल्ल, गुलसन कुमार झा, हेमन्त धामी, करण केसी, दिपेश प्रसाद कँडेल र युवराज खत्री रहेका छन् । 

हरियो टोलीमा आसिफ शेख (कप्तान एवं विकेटकिपर), सोमपाल कामी, इशान पाण्डे, अर्जुन कुमाल, आकाश त्रिपाठी, सागर ढकाल, दिलिप नाथ (विकेटकिपर), विवेक कुमार यादव, पवन सर्राफ, रिजन ढकाल, शेर मल्ल, रासिद खान र सन्तोष यादव रहेका छन् । 

यसैगरी, रातो टोलीमा सन्दीप लामिछाने (कप्तान), अर्जुन साउद (विकेटकिपर), तृतराज दास, भीम सार्की, शुभ कंसाकार, साहब आलम, बसिर अहमद, आरिफ शेख, लोकेश बम, नन्दन यादव, आकाश चन्द, प्रतिस जीसी र नरेन भट्ट रहेका छन् । 

पहेँलो टोलीमा भने दीपेन्द्रसिंह ऐरी (कप्तान), विनोद भण्डारी (विकेटकिपर), मयान यादव, कुशल भुर्तेल, सुजन थपलिया, ललित नारायण राजवंशी, अर्जुन घर्ती (विकेटकिपर), किरण ठगुन्ना, अविनाश बोहरा, रुपेश कुमार सिंह, कमलसिंह ऐरी, विशाल पटेल र दीपेन्द्र रावत रहेका छन् । 

प्रतियोगिताका खेलहरू काठमाडौँको तल्लो र माथिल्लो मुलपानी क्रिकेट रङ्गशालामा खेलाइने छ । प्रतियोगिताको पहिलो दिन अप्रिल २६ तारिखमा नेपाल रातो र नेपाल निलो तथा नेपाल हरियो र नेपाल पहेँलोबिच खेलिने छ । 

क्यानका अनुसार, अप्रिल २७ तारिखमा नेपाल निलो र नेपाल पहेँलो तथा नेपाल रातो र नेपाल हरियोबिच भिडन्त हुनेछ । अप्रिल २९ तारिखमा नेपाल रातो र नेपाल पहेँलो तथा नेपाल निलो र नेपाल हरियोबिच खेल हुनेछ । 

यसैगरी, अप्रिल ३० तारिखमा नेपाल पहेँलो र नेपाल हरियो तथा नेपाल निलो र नेपाल रातोबिच खेल हुनेछ । मे २ तारिखमा नेपाल हरियो र नेपाल रातो तथा नेपाल पहेँलो र नेपाल निलोबिच भिडन्त हुनेछ । मे ३ तारिखमा नेपाल हरियो र नेपाल निलो तथा नेपाल पहेँलो र नेपाल रातोबिच खेल हुनेछ ।

आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगिताको आगामी खेलहरू नेपालका लागि निकै महत्त्वपूर्ण छ । अबको हारले नेपाल अप्ठ्यारोमा पर्न सक्छ । आठ राष्ट्र सम्मिलित लिग–२ प्रतियोगितामा हालसम्म १२ खेल खेलेको नेपाल ६ अङ्कसहित सातौँ स्थानमा छ । 

नेपालले हालसम्म खेलिएको १२ मध्ये केवल दुई खेलमा जित र आठ खेलमा हारको नतिजा निकालेको छ । नेपालको दुई खेल भने अनिर्णीत रूपमा सकिएको छ । त्यसैले पनि बाँकी खेलहरूमा नेपाली टोली जित्नै पर्ने दबाबमा रहने छ । 

लिग–२ तालिकामा हालसम्म १६ खेल खेलेको अमेरिका २२ अङ्कसहित पहिलो, समान खेल खेलेको नेदरल्यान्ड्स २० अङ्कसहित दोस्रो, १६ खेलबाटै २० अङ्क जोडेको क्यानडा तेस्रो र समान खेलबाट १८ अङ्क हात पारेको ओमान चौथो स्थानमा छन् । 

यसैगरी, ११ खेलबाट १४ अङ्क बटुलेको स्कटल्यान्ड पाँचौँ, २० खेलबाट १४ अङ्क जोडेको नामिबिया छैटौँ र ११ खेलबाट चार अङ्क हात पारेको संयुक्त अरब इमिरेट्स (यूएई) आठौँ स्थानमा आसिन छन् । 

लिग–२ प्रतियोगिताको समाप्तिपछि तालिकाको माथिल्लो चार स्थानमा रहने टोलीले सिधै सन् २०२७ को आईसीसी एक दिवसीय विश्वकपका लागि हुने छनोट प्रतियोगितामा स्थान बनाउने छन् । बाँकी टोलीले पनि विश्वकपको छनोट प्रतियोगितामा स्थान बनाउन प्ले–अफ खेल्नु पर्नेछ । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट प्राप्त एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन पनि लिग–२ प्रतियोगिता निकै महत्त्वपूर्ण छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप